प्रेमपत्र

(कृषि तथा वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनको शुभारम्भ साहित्य समाज र गण्डकी विद्यार्थी समाजको संयुक्त आयोजना रहेको मिति २०७८/११/०२ को प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल प्रेमपत्र ।)

प्रिय राधा,

तिम्रो कोमल तन र निश्चल मनमा आरामताको कामना गर्दै जसोतसो बाँचिरहेको छु ।

शिशिरको सिरेटो र त्यसमाथि तिम्रा यादहरू रसाएर मेरा आँखाबाट बगेका भेलहरूले मनलाई र तनलाई थप सेलाउन मद्दत गरिरहेका छन् । तिम्रा यादहरू बनेर आएका यी उपहारहरू बिना कुनै गुनासो स्किारिरहेछु ।

अस्तिसम्म समाजले लगाएको पर्खाल नाघेर, परिवारले लगाएको जन्जिर तोडेर तिमी र म सँगसँगै घुमेका तस्बिरहरू आज यी आँखामा सल्बलाइरहेछन् । आँखा खोल्दा नदेखिने तिमी आँखा बन्द गर्दा देखिइरहेकी छ्यौ । त्यसैले होला आज मलाई पूर्णिमाको उज्यालो भन्दा औंसीको कालो बढी मन परिरहेछ । मेरो मस्तिष्कमा अहिले पनि यादहरूले पिछा छोडेका छैनन् । स्कुल जाने बेला सँगै हात समाएर बर्खाको खहरे तर्दा संयोगले बाँचेका हामीले अनायासै भनेका थियौँ, हामी दुवैको अबको जिन्दगी नाफाको हो, हामी सधैँ सँगै बाँच्ने र एकै दिन एकै चिहान हुने छौँ  । मैले तिमीलाई सानोमा साथी मानेँ, यौवनमा प्रेमिका । तर राधा, मैले तिमीलाई त्यो भन्दा धेरै पनि केही मानेको छु । तिमी मेरो बाँच्ने साहारा, हिँड्ने सारथी र सम्झाउने अभिभावक पनि हौ । कहिलेकाहीँ तिमीले बच्चाले झैँ मसँग झगडा गर्यौ हेला, त्यो त बिर्सिइसकेँ तर बालककालमै मातृवात्सल्यबाट बञ्चित हुनुपर्दा गुमाएको अँगालोको प्यास तिमीले गरेको अङ्कमालबाट अनुभूत गरेको थिएँ, जुन मैले कहिल्यै भुल्ने छैन । 

मलाई अहिले पनि सम्झना छ, हामीले सँगै SLC पास गरेपछि तिमीले सहजै क्याम्पसमा भर्ना गर्यौ । मलाई पनि पढ्ने रहर थियो तर मेरो सर्टिफिकेटको अगाडि बाधा बनेर उभिएका थिए मेरो घरको आर्थिक र पारिवारिक अवस्था । खोलेमा हाल्ने पिठो नहुने घरबाट कलेजमा बुझाउने शुल्क निकाल्नु आफैमा चुनौती थियो । बुबाले सँगै घन ठोक्न सल्लाह दिनुभयो, काकाले पासपोर्ट बनाउन । अचानक तिमीले “कृष्ण, अशिक्षित मान्छेहरू आँखा भएर पनि संसार नदेख्नेहरू हुन्” भनेको सम्झिएँ र मनमनै कसम खाएँ, बरु आधा पेट भरेर बाँच्छु तर मस्तिष्क आधा लिएर बाँच्दिनँ ।

तिमीले मेरो जन्मदिनमा किनिदिएको घडीको सियोले समय र मलाई निरन्तर धकेलिरहेको छ । थाहा छैन, म समयसँगै हिँड्न सक्छु कि सक्दिनँ । तर राधा, मैले तिम्रो जन्मदिनमा दिएको गाजल झैँ सधैँ तिम्रो आँखामा सजिरहने इच्छा घटाएको छैन । 

हाम्रो सम्बन्ध एक कान दुई कान मैदान भइहाल्यो । तिम्रो परिवारले हाम्रो जातलाई हाम्रो प्रेमभन्दा  अगाडि राखिदियो । तिम्री फुपूले पँधेरामा “किस्ने जत्तिकै बाहुन पाए मै कुरा लग्थेँ” भनेको सुनेपछि मलाई झन अठोट पलाएको थियो जात बदल्न नसके पनि मैले मेरो पुर्ख्यौली पेसा बदलेको छु, मेरी राधाले जात होइन योग्यता हेर्छे, प्रेम हेर्छे, समर्पण बुझ्छे ।

आजको साँझ म त्यै चौतारीमा थिएँ, जहाँ हामीले हाम्रो संसारको नक्सा कोरेका थियौँ । अहिले त्यै कोठामा छु, जहाँ हामीले एक अर्कालाई भुलेर एक भएका थियौँ । तर आज सबै परिवेश एउटै हुँदा पनि कोही पात्र छुटिरहेछ । फागुन ८ गतेको लागि तिम्रो नाम सँगै अरु कसैको नाम भएको निमन्त्रणा पत्र दिउसो मात्र पढेको हुँ समिरको घरमा । मैले तिम्रो घुम्टोमा मेरो कात्रो देख्नेछु, तिम्रो जग्गीयालाई चिता । थाहा छ, तिमी मबाहेक अरूसँग रमाउन सक्दिनौ । तर तिमीले धर्मको कालो कलङ्कलाई जोगाउन तिम्रो बिहेको यज्ञकुण्डमा हाम्रो पवित्र प्रेमलाई हवन गर्न सक्दिनौ । म अझै पनि ढुक्क छु राधा, तिमी यो बन्धन तोड्न इच्छुक छौ, सक्षम छौ, तयार छौ ।

एक धर्को सिन्दुरले तिमीलाई सिँगार्न सक्दैन, एक झुत्तो पोतेले तिमीलाई बाँध्न सक्दैन । तर राधा, आऊ हामी हाम्रो संसारमा निर्धक्क रमाउन सक्छौँ । मैले बहुत हिम्मत गरेर यो पत्र लेखेको छु । तिमीसम्म पत्र आइपुग्दा म सबै तयारी मिलाइसकेको हुने छु । म केवल कृष्ण बन्छु तिमी मात्र राधा बन्नु अनि हामी छुट्टै हाम्रो वृन्दावन बनाउँला । कुनै बिरानो ठाउँमा हाम्रो सपनाको झुप्रो सजाउँला । बरु एकछाक खाउँला, सँगै खाउँला, खुसी साथ बाँचौला ।

पीडा भरिएको मुटु बोकेर अघाउनुभन्दा खुसी भरिएको मनमा भोको पेट बढी आरामदायी हुन्छ प्रिय । मेरो खुसी तिम्रो खुसीमा अडिएको छ , तिमीलाई खुसी राख्न म हरदम तयार छु । समय कम छ । अठोट गर राधा, यो द्वापर होइन, कली हो । हामीले प्रेम मात्र होइन, अन्धविश्चास विरुद्ध आवाज पनि उठाउन सक्नुपर्छ । प्रिय यो कलिमा फेरि द्वापरयुग जस्तै राधा कृष्ण  छुट्टएिर बाँच्नु नपरोस् ।

तिम्रै प्रतीक्षामा बसेको

 कृष्ण