December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

म र मेरो प्रणय दिवश

आज प्रणय दिवश,
म एक्लो प्रेमी
प्रेमीकाको पर्खाइमा तड्पिएको प्रेमी
मेरी प्रेमीका पृथ्वीकी सुन्दरी
स्वर्गकी अप्सरा,
ऊ मलाई अति प्रेम गर्छे ,
पढ्छे अनि बुझ्छे ।
उत्तिकै प्रेम गर्छु म उसलाई
जति म लेख्न सक्दिनँ ।
 
आज प्रणय दिवश,
म दिल फुकाएर प्रेम गर्दै छु
मेरी प्रेमिकालाई
म भन्दै छु, ‘आई लभ यु’  प्रिया !
म लेख्दै छु प्रेम पत्र उसलाई
खोल्दै छु म दबिएका इच्छाहरू, चाहनाहरू
मेरो प्रेम पत्रमा ।
 
मेरो उसलाई भेट्ने चाहनालाई
वसन्त ऋतुमा कोसीको गड्तिरमा आउने
हावाको झोक्काको वाहान चडाउँदै छु
अनि पुर्याउँदै छु उसको डेरासम्म ।
 
म सजाउँदै छु मेरी प्रेमिकालाई
उदाउँदै गरेको सूर्यको रातो किरणसँग ,
पिपलको रुखबाट चलेको मन्द हावाले
उडाएको उसको रेसमी केससँग,
सजाउँदै छु म उसलाई नजिकै
हामफाल्दै गरेको झरनासँग ।
आधा अँजुली पानी पिलाउँछु म उसलाई,
बाँकी म पिउछु ।
सजाउँछु म उसलाई पानीको छ्यापाइले
निथ्रुक्क भिज्ने गरी
ओठको लाली पखालिने गरी
आखाँको  गाजल बग्ने गरी
हिमालझैँ सेतो कुर्थाभित्र
उसको छाती टक्लने गरी ।
आज प्रणय दिवश ।
 
चिसोवाट जोगाउन
कुखुरीले आफ्ना चल्ला छोपे जस्तै
म छोप्छु मेरी प्रेमिकालाई
हतारिएको बादलले जुनलाई छोपे जस्तै,
पुसका जाडामा कठ्याङ्ग्रिएका  सर्पको जोडी जस्तै
साँच्चै वास्तविक नवप्रेमी जस्तै
गुटुमुटु हुन्छु मेरी प्रेमिकासँग
म कल्पनाको प्रेमी
यही कवितामा सीमित प्रेमी ।