February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

नीरवताको सङ्गीत

नीरवताको सङ्गीत यति प्रबल,
उत्तेजित तथा उद्वेलित गराउने,
केवल जान्नु पर्ने त्यसको रसपान गर्न,
शून्यबाट शून्यमा सिर्जित ब्रह्माण्डीय धुन ।
 
कहिले आँखाबाट सुटुक्क छिर्छ,
क्षितिजमा उदाउँदो सूर्यको दृष्यमा,
वनको लहलहाउँदो हरियालीमा,
नीलो नदीको गहराइमा,
वा प…र बेलुका घर फर्कन,
उडिरहेका बकुल्लाका बथानमा,
पंहेलपुर पाकेको धानबालीलाई,
हावाको झोंकाले झुलाएर बनाएका छालहरूमा,
किंवा बाघको मदमाती राजर्षी चालहरूमा ।
 
कहिले यो सङ्गीत नाकबाट फुत्त छिर्छ,
मदमस्त गराउँदै मनमन्दिर,
वनका फूलहरू र विभिन्न फलका,
मिठो बास्नाको रूप लिएर,
वा चिसो शुद्ध प्राणवायुको स्वरूपमा,
दूर पहाडका कन्दराहरूमा,
अभिभूत गराउँछ सारा शरीर,
सम्पूर्ण अङ्गप्रत्यङ्ग यो सङ्गीतमा,
‘ता थै ता थै’ गर्न लालयित ।
 
या त सम्पूर्ण मूर्त इन्द्रियहरूको मोहबाट दूर,
एकान्तको नीरवतामा मात्र प्रस्फुटित हुने,
रिक्ततामा मात्र सजिने,
सारा सङ्गीतकी जननी,
न कुनै बाद्ययन्त्र कै आवश्यकता,
न बजाउने झन्झट,
स्वस्फूर्त तरङ्गित मनको झङ्कारको रूप ।
२०७८-०७-०५ ।