नारी वेदना र आशा

अस्मिताको खोजी गर्दै हराउँछे नारी
सपना र कल्पनामा सजाउँछे सारी ।
 
सबका खुसी पूरा गर्छे  आफ्ना खुसी मारी
मनका पीडा लुकाएर मुस्कुराउँछे नारी ।
 
सधैँ बित्छ रात यसै आँसुले पिर धुँदै 
सपनाको संसारमा खुसी खोज्न डुल्दै ।
 
 
पाइलैपिच्छे प्रश्नैप्रश्न तिखा तिरसरि
अघि बढ्न नसकेका पाइला कठैबरी ।
 
 
चुलोचौको, कार्यालय, घर बहु रूप 
बयान गरी सकुँला के नारीका ती दुःख ।
 
कामैकामको बोझ भारी जस पाउने हैन
‘नारी’ जस्तो दुःखी शब्द सायद अर्को छैन ।
 
तर पनि हार्न हुन्न पाइला अघि सारौँ
‘जितपछि जितै आउँछ’ जुनी सार्थक पारौँ ।
 
 
कल्पना र यथार्थमा अन्तर भारी हुन्छ
गर्जने त्यो कालो बादल पनि धर्ती छुन्छ ।
 
जलेको यो भित्री मन जब दियो बन्छ 
निराशाको कालो रात अनि दूर जान्छ ।