एउटा आँधी आउनुपर्छ !

एउटा आँधी आउनुपर्छ !
पाषाणहरूलाई
गाल्न र पगाल्न सक्ने
एउटा सुनामी
यथाशीघ्र आउनुपर्छ ।
किसानका टाउकामा टेकेर
म तिमीलाई अथाह प्रेम गर्छु ,
म तिम्रै निम्ति हुँ
भन्नेहरूलाई !
गरिबलाई मारेर
तिनका कात्रोमाथि
आफ्नो व्यापार थाप्ने
एक हुल ब्वाँसाहरूलाई !
आफ्नो तुफानी चालले
सलक्क निल्न सक्ने
तीव्र वेगसहितको
एउटा हुरी आउनुपर्छ!
‘छाउपडी गोठमा
मसाल सल्काएर
अबोध बालिका
र
विवश आमाहरूको
ओठमा
मुस्कान ल्याउन सक्ने !
झुपडीका आँसुलाई
हाँसोमा बदल्न सक्ने
एउटा आँधी
अवश्य आउनुपर्छ !
यहाँ,
सूर्यको उषालाई साक्षी राखेर !
तराईको तातो बाफले
हिमालमा न्यानो दिन सक्ने,
हिमालको चिसो सिरेटोले
तराईलाई शीतल बनाउन सक्ने
पहाडको हरियो छाता
हिमाल र तराईलाई ओडाउन सक्ने
विशाल हृदय भएको
एउटा आँधी
अवश्य आउनुपर्छ !
प्रमिथसको आगो बनेर
चन्द्रसूर्यको ध्वजा फर्फराउँदै
यस धर्तीमा !
अवश्य आउनुपर्छ !
प्रमिथसको आगो बोकेर
चन्द्रसूर्यको ध्वजा फर्फराउँदै
यस धर्तीमा !
अवश्य आउनुपर्छ !
अवश्य आउनुपर्छ !!
लेखकको सम्वन्धमा