January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

स्वर्णिम सपना

लय सब जन भन्छन् आखिरी आज को हुँ ?
तन र हृदय भन्छन् कर्म कर्तव्य जो हुँ ।
मुलुक र जग जम्मै राख्न पाए त कृति
अटल पहल मेरो हुन्छ हाँसेर प्रीती ।।

रहर नमन गर्ने वृद्घ आमा बुबाको
कमल चरणभित्रै देख्छु जीवन् सुहाको ।
नयन र गुरु आभा प्राणभन्दा अमूल्य
प्रथम प्रहरका हुन् जो प्रभाती यि सूर्य ।।

हर पल बहुतै ती कष्टले घेरिएका
निशिदिनहिन बन्दै दुःखले जेलिएका ।
मन यस जनसँगै मुस्कुराएर हाँसोस्
मृदु मद हितकारी भक्तझैँ प्रीत गाँसोस् ।।

पद र कर सदा निर्माण कर्ता न होऊन्
शिर मन तन मात्रा जित्नलाई नरोऊन् ।
फुल जग नभ हेरी रम्न सक्दा मभित्र
वर पर सब देख्ने चाहना खालि मित्र ।।

जब जग जन मोती बाल्न पाए त हुन्थ्यो
तब जगत विकारी फाल्न पाए त हुन्थ्यो ।
रहर कुशल काला स्वार्थमा छैन खेलौँ
जगत गगन बीचै पूर्ण संसार झेलौँ ।।