चल्न नसकेको कलम

 कविता लेख्ने कुरा छरपष्ट छरिएको देख्छु
 जीवनको सङ्घर्षको कथा
 कवितामा लेखूँ भन्छु
 अहँ ! कुनै शब्द आउँदैन
 मेरो कलम नै चल्दैन ।
  
 लेख्न खोज्छु त्यो आई ए,  बि ए र एम ए पढेर
 दिनभरि घरमै बसी टिकटक र फेसबुकमा रमाउने
 दुई वर्षको बच्चालाई मुखमा माक्स झुन्ड्याएर
 रुवाउँदै, घिसार्दै ए बि सि डि र कखरा सिकाउन
 विद्यालय पठाउने आमालाई हेर्छु
 लाग्छ दुई चार वर्षमै बच्चालाई विद्वान् बनाउँछिन्
 त्यही विषयमा कविता लेखिहालूँ जस्तो लाग्छ
 अहँ ! केही आउँदैन शब्दै फुट्दैन
 मेरो कलम नै चल्दैन ।
  
 अहोरात्र छोराछोरीको सुखमा
 आफ्नो जिउज्यान समर्पण गरेर हुर्काइएका
 सुखसयलमा जीवन बिताइरहेका सन्तानले
 ती जीर्ण शरीर भएका
 आँखाभरि अश्रुधारा बोकेर त्यागिएका
 तिरस्कार,  घृणा र नीच व्यवहारका बिचमा
 मृत्युलाई पर्खेर दिन गन्दै बसिरहेका
 आमाबाबुको व्यथाको कविता लेख्न खोज्छु
 अहँ ! मेरो अन्तस्करणमा कुनै कविता आउँदैन
 मेरो कलम नै चल्दैन ।
  
 त्यो सडकको कुनामा बाँचिरहेको जीवनको
 त्यो गरिबीको आगोमा पिल्सिएको बेरोजगारको
 ऐलेको महँगीसँग पौँठेजोरी खेल्न नसकेर
 हातमुख जोर्नै नसकेको
 विधाता र विवशताले समय र जीवनसँग हारेको 
 खोक्रो आडम्बरमा ढोँगी जीवन बाँचेको
 काम र दामको अभावमा छटपटाइरहेको शैक्षिक बेरोजगारको
 बलात्कारको शिकार भएर ज्यान गुमाउने बालिकाको
 आदि आदि थुप्रै कुराको कविता लेख्न खोज्छु
 मेरो मानसपटलमा कुनै कविता आउँदैन
 मेरो दिमाख शून्य आकाशजस्तो शून्य भइदिन्छ
 अहँ ! केही शब्द आउँदैन
 मेरो कलम नै चल्दैन ।।