शीतको प्राण
पग्लँदै हिउँले दिन्छन् पानी कल्कल मूलमा
पग्लिई मैनबत्तीले उज्यालो दिन्छ रातमा
आफ्नै अस्तित्व सिध्याई अरूको उपकारमा
होमिने छन् कयौँ यस्ता सन्तान प्रिय काखमा ।
भर्दछन् फूल सौर्न्दर्य भरी सुवासले धरा
फूलको भावना जित्ने छैन अन्तर्यमा कुरा
बीजले फल जन्माई अरूका पेट भर्दछन्
बिरुवा प्राण त्यागेर अन्य प्राण बचाउँछन् ।
धरती दिव्य आमा हुन् जन्म दिन्छिन् निरन्तर
चुसाई देह आफैँले हुर्काउँछिन् बराेबर
सन्तान बिचमा मान्छे परजीवी बनी अझै
गिहिरी खेल्छ थाप्लोमा आमा मास्न सधैँसधैँ ।
आश्चर्य लाग्छ यो मान्छे धुन्धुकारी भयो किन ?
खिच्छ राहतको फोटो डङ्क पिट्न सुनाउन
स्वार्थको जाल ओढेमा परोपकार मर्दछ
नझर्दै सूर्यको तेज शीतको प्राण ढल्दछ ।
लेखकको सम्वन्धमा