प्रिय बादल !
तिमी फेरि बर्सिदेऊ
बेस्सरी
यो धर्तीमा
अब बाँझो हुन दिनुहुन्न
यो धर्तीलाई
बुद्ध र सीताहरू
जन्मिएको यो धर्ती
बलभद्र र भृकुटीले
नासो छाडेको
यो धर्ती
फेरि सिञ्चित हुनुपर्छ।
प्रिय बादल !
तिमी फेरि बर्सिदेऊ
बेस्सरी
यो धर्तीमा
बुद्ध र बलभद्रले
फेरि यो घर्तीलाई
अँगालो हाल्न पाउनुपर्छ
यही धर्तीमा शिरानी हालेर
फेरि शान्ति र क्रान्तिको
गीत गाउनुछ
भृकुटी र सीताले
यही धर्तीमा
सिउँदोको साइनो गाँस्न पाउनुपर्छ
धेरै भयो यहाँ पृथ्वीनारायणहरू
जन्मिएका छैनन्
अमर सिंह, भक्ति र भीमसेनहरू
देखिएका छैनन्
उजाड छ यो वर्तमान
त्यसैले
प्रिय बादल !
तिमी फेरि बर्सिनुछ
यस धर्तीमा
नेपाल आमाको एक सच्चा सपूत
जन्माउन छ
त्यसैले त,
आऊ प्रिय बादल
समागम गर यस धर्तीसँग
र
छरि देऊ तिम्रो बीज वीर्य
जन्मिन्नु छ यहाँ
नयाँ नेपालको साँचो युग नायक
जसले बाँड्ने छैन
कागजका खोस्टामा
सपनाका बिस्कुनहरू
प्रिय बादल !
तिमी फेरि बर्सिदेऊ
बेस्सरी यो धर्तीमा
अब बाँझो हुनदिनु हुन्न
यो धर्तीलाई
यो सभ्यताको
उषाभूमिलाई ।
लेखकको सम्वन्धमा