February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

म बुद्धिजीवी

म बुद्धिजीवी
मनलागी गर्न हुँदैन मैले
हतकडी बोकेर
ठिङ्ग उभिइरहन्छ
मेरो नैतिकता
मेरै अगाडि,
पल–पल ।

छिमेकी औँठाछाप छ,
जे गर्न पनि छुट छ उसलाई
मनपरि बोलोस् कि मनलाग्दी गरोस्
सबैमा सय प्रतिशत छुट दिएर
समाज उसैको पक्षमा बोल्छ
नैतिकता, जिम्मेवारी, दायित्व
कसैले पनि छुँदैनन् उसलाई ।

मैले एक मुठो साग बेच्न हुँदैन
‘सकिएछ अब फलानो’ भन्छ समाज ।
आफ्नै करेसाबारीमा काम गर्नु हुँदैन
‘गति छाडेछ अब फलानाले’ भन्छ समाज ।
पैदल हिँडेको देख्नु हुँदैन
‘कस्तो मख्खीचुस रहेछ’ भन्छ समाज ।

छिमेकी जे पनि खान्छ,
मैले खान हुँदैन ।
छिमेकी जहाँ पनि जान्छ
मैले जान हुँदैन ।
मलाई थप्पड हान्छ
मैले फर्काउन मिल्दैन ।
समाज भन्छ…
‘ऊ त मूर्ख थियो, हान्यो रे
तर तँ त बुद्धिजिवी होस् नि ! ’

उसले आफ्नै कमाइको प्राडोबाट उत्रिएर
आफ्नै कमाइको बङ्गलाको लिफ्टमा
७ नं. दबाउँदासम्म
मैले ऋणैऋणले पुरिएर पढेको हुँ
तोकिएको ‘जागिर’ बाहेक
केही गर्नु हुँदैन मैले
चाहे मेरा छोराछोरीहरू
सडकमा रुँदै किन नहिडुन्
चाहे पेटमा पोटुका कसेर
श्रीमतीले रात किन नगुजारोस्

उसले कमाउने हजारौँ बाटा खुला छन् सधैँ
मेरालागि बन्द गरेको छ नैतिकताले
ऊ संसारभरका सुख भोगेर
जीवन बाँचेको छ
म मेरै बुद्धि भोगेर जीवन बाँचेको छु
छिमेकी कर्मजीवी भएछ
म भएँछु ‘बुद्धिजीवी’ ।

धनकुटा
हालः दमक, झापा