आमाको उपदेश
आयो रोग विचित्रको भय लिई संसार नै निल्छ कि ?
काम्यो थर्थर यो समस्त धरती सारा जगत् ढाल्छ कि ?
ढोका बन्दभए समग्र घरका गोडा नचल्ने भए
मान्छेका मुख, नाक बन्द गरिए एकान्तमा थन्किए ।
शिक्षा, ज्ञान, विवेक, बुद्धि अवला विज्ञान अल्मल्लिए
पैसा जाति र धर्म, रङ्ग विचरा दम्भी थिए नाङ्गिए
ए आमा किन आज भाइरसले मार्दैछ सारा जन
तिम्रा सन्ततिको विनास गरियो के खोट भो लौ भन ।
मान्छे दुर्वल हैन राक्षस बन्यो संस्कार छोड्दै गयो
मास्यो जैविक बृत्त नै विष छरी ओजोन फाट्तै गयो
आफ्नै नश्ल गि¥यो विषादि भरिँदा कम्जोर आफैँ बन्यो
यौटा सूक्ष्म विषाणुबाट सकिने लाछी हुँदै हैन यो ।
सानो हुन्न कुनै नहेप्नु कहिल्यै सल्कन्छ आगो छिटै
ढाल्छन् शासक हेपिए जन भने सञ्जालमा बेरिँदै
मान्छेमा विधि ज्ञात होस् प्रकृतिको त्यागोस् विनासी पथ
भाग्नेछन् भय स्वस्थ कर्म गरिए भाग्छन् स्वयम् झण्झट ।
आमाको उपदेश शाश्वत थियो पुर्खाहरु सम्झिएँ
आफ्ना वेद पुराण मुन्धुम पढेँ सत्कर्म के हो बुझेँ
छोडेँ आधुनिकी महाप्रलयका संस्कार झुट्टा सबै
हाम्रो संस्कृति नै रहेछ असली हाँस्यो खुसी उफ्रँदै ।
छन्दः शार्दूलविक्रीडित
रचना काल २०७६।१२।२५
लेखकको सम्वन्धमा