छ फूलबारी मनभित्र मेरो
सुवास छर्ने धुनले बनेको
वसन्त लाग्दा सब फूल फुल्छन्
संसारलाई सुखले सिँगार्छन् ।
आएर मौरी रस चुस्न थाल्छन्
सङ्गीत भुन् भुन् धुनले उचाल्छन्
हालेर भाका भमरा सुसेल्छन्
साना चरी फुर्फुर नाच्न थाल्छन् ।
वसन्तकी कोकिल कण्ठ खोली
पार्छिन् अमाका रजनी जुनेली
जाई जुहीले मन नित्य हर्छन्
बेली चमेली तब लड्ठ पर्छन् ।
वर्षा छिचोल्दै शरदीय शान्ति
उल्लास थप्छिन् अविराम कान्ति
सम्बन्ध जोडीकन चाड मान्दा
सद्भाव बढ्छन् मन फूल बन्दा ।
दसैँ मभित्रै छ तिहार भित्रै
खुसी छ आत्मा शुभकर्म भित्रै
सधैँ सबैका मन फूलबारी
बनून् असाध्यै सुखका चिनारी ।
(छन्दः उपजाति)
लेखकको सम्वन्धमा