December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

निसासिएको वर्तमान

आज
एउटा वर्तमान
औंसीका रातहरूसँग
मस्त सुतेको छ
खहरेका गर्तहरूमा
बालुवासँग उडेको छ।
पहिरोका गर्भमा
निसास्सिएर
विलुप्त बनेको छ
मातृवत्सल हातमा
पहिरोका चट्टानहरू
गुडुल्किएका छन्
आज
अबोध शिशुको
गुलावी मुस्कान
करुण क्रन्दनसहित
निभेको छ ।
प्रभातकालीन
सूर्यका लालीमाहरू
कालो बादलको गहिराइमा
मस्त डुबेका छन् ।
सुरसाको मुख बाएर
सुपर्णखा एउटा
सिङ्गो युग निल्न
आतुर छे।
लक्ष्मणहरू किंकर्तव्यविमूढ बनेर
बगरका बग्रेठा बन्न विवश छन् ।
उन्मत्त दुर्योधन
द्रौपदीको चिरहरण गर्दै
गल्लीका भित्तामा
अट्टहाससँग
डुक्रिएको छ ।
हो
यहाँ
आज
मेरो वर्तमान
निसासिएर
नि:शब्द बनेको छ !