असारको चुहुने झरीमा
रम्घाको सुरम्य गाउँमा
एउटा सपूतको जन्म भयो
भाषा एकीकरण गर्ने प्रयोजनमा ।
हामी गोर्खालीलाई के चटारो के
आफ्नै मान्छे चिन्न सक्ने सामर्थ्य रहेनछ,
पारि मुग्लाने दाजुभाइले पो
पगरी गुथिदिए आदिकविको ।
सालिक बनाए चौरस्तामा
माला चढाए, अक्षता छरे,
धूपबत्ती बालेर साँच्चै मजाले
अनि ओढाए खास्टो र ढोगे गोडैमा ।
हामी त अर्काको कुरा काट्ने
कसैको राम्रो नभन्ने मात्र होइन
बाबुबाजेको जडौरी नभएको भए
के नेपाली हुन्थ्यौँ र आजसम्म !
कठै बबुरा डिल्लीबजारको खोरमा
उडुस उपियाँसँग सिँगौरी खेल्दै
भाषाको चिन्तनमा नलागेका भए
सिङ्गो नेपाल भाषाको बन्ने थिएन ।
लेखकको सम्वन्धमा