जूनले धर्तीलाई गरेझैँ निस्वार्थ उसको माया
जब रात हुन्छ
ऊ सहन सक्दैन तिमी अन्धकारमा रुमलिएर आत्तिएको
आइपुग्छ हस्याङफस्याङ गर्दै र पूरा सामर्थ्य लगाउँछ,
सामर्थ्य लगाउँछ त्यो अन्धकारको अस्तित्त्व मेटाउन
रातभर तिम्रै समीप बसी, आफ्नै काखमा सुस्त्याउँछ तिमीलाई
किनकि थाहा छ उसलाई, गार्हो छ तिमीलाई
गाह्रो छ यो अन्धकारमा साहरा भेटाउन
जब रात कट्छ, अन्धकार हट्छ र दिन सुरु हुन्छ
ऊ बुज्छ, अब उसको खाँचो छैन तिमीलाई
र लुकिदिन्छ ती बादलका मुस्लाहरूलाई पर्दा बनाई
तर ऊ चिहाइरहेको छ र सधैँ तत्पर छ
तत्पर छ अन्धकारसँगै ती बादलका पर्दा हटाउन
तिमी नझुक्किनु है धर्ती
तिमीलाई लाग्ला घामको अघि त्यो जूनको के महत्त्व
नजानौली उसको त्यागको महत्त्व प्रस्ट्याउन
ऊ चर्किदैन, बस् चम्किन्छ मात्रै
किनकि उसलाई डर छ र ऊ चाहँदैन
चाहँदैन तिमीलाई थोरै पनि चोट पुर्याउन
त्यसैले त ऊ सरल छ, शान्त छ, शीतल छ
उसको यो मायालाई तिमी स्वार्थको संज्ञा नदिनु है धर्ती
यो त केबल उसको माया हो, निःस्वार्थ माया l
लेखकको सम्वन्धमा