मान्यताको सीमा
हिजो श्रीमतीसँग ठाकठुक भएबाट म उनको नजिक परिरहेको छैन । खाली घरायसी कचकचच ! जग्गा र घरकै बारेमा सोचिरहन्छिन् उनी । छिमेकमा ठुलो घर बनाउन, जग्गा जोड्न, सबै छोराछोरीलाई भाग लगाउने उनको चिन्तनलाई पूरा गर्न गाह्रो परेको देखेर वा मेरो जे पर्छ त्यही टर्छ भन्ने भनाईलाई असहमति जनाएर नै उनी मसँग ठुस्केकी छिन् । जे होस् दुईचार दिनपछि यिनको रिस आफैँ साम्य हुन्छ । तर आज म बिहानैदेखि कता कता हराइरहेको छु । विगतका दिनहरू सम्झेर त्यतैतिर भौतारिरहेको छु । आजभन्दा केही समयअगाडिको कुरा सम्झिरहेको छु ।
बाहिर टन्टलापुर घाम लागिरहेको थियो, म अफिसको टेबुलमा बसेर काम गरिरहेको थिएँ । अनेकौँ मानिसहरू काम गर्न, व्यक्तिगत भेटघाट गर्न, अनेकौँ पत्रहरूमा तोक लगाउन आइरहेका थिए । कार्यालय प्रमुख भएको नाताले सबैलाई समय दिनु मेरो कर्तव्य थियो । यसै क्रममा एउटी युवती २०-२२ कि जस्ती मेराअगाडि आएर सोधिन्– “सर, मेरो यो निवेदनमा तोक लगाइदिनुहुन्थ्यो कि ?” म उनको प्रश्नको उत्तर दिनुभन्दा पनि अनायसै कता कता हराउन पुगेँ उनलाई हेरेर । ‘सर, यी निवेदन ।’ फेरि उनको आग्रह सुनेर झल्याँस्स ब्युँझिएँ । तोक लगाएपछि उनी चिठी लिएर कोठाबाहिर लागिन् तर म खै केले हो, उनैतिर तानिएको महसुस गर्न पुगेँ ।
म सरुवा भएर यस ठाउँमा आएदेखि नै अनेकौँ मानिसहरूसँग चिनापर्ची बढेको थियो । म प्रमुख पदमा भएको कारणले गर्दा पनि अनेकौं सेमिनार, गोष्ठीहरूमा गइरहनुपथ्र्यो ।
एकदिन म सहरनजिकैको एउटा मन्दिरमा घुम्न गएँ । मानिसहरूको घुइँचोबिचबाट एउटा परिचितझैँ लाग्ने महिलाले मलाई हेरिरहेको पाएँ । म विस्तारै भिडलाई छिचोल्दै उनको नजिकै पुगेँ । उनले भनिन्– “नमस्कार सर ! सायद हजुरले मलाई चिन्नुभएन । चिन्नुहोस् पनि कसरी, जहिल्यै व्यस्त नै व्यस्त ।” मैले बिस्तारै नमस्कार फर्काउँदै जवाफ फर्काएँ–‘राम्ररी चिने, अँ साँचि तपार्इँ अस्ति अफिसमा खै के चिठीमा तोक लगाउन आउनुभएको थियो, हैन ?’
‘हजुर सर ! तर त्यत्रो भिड र व्यस्तताको बाबजुद पनि चिन्नुहुँदोरहेछ । हजुरको दिमाग त साँच्चै महान् रहेछ ।’
म मुस्कुराइरहेँ मात्र । उनले मन्दिरको बारेमा पौराणिक कथन, त्यो इलाकाको नाम रहनुको कारणबारेमा सबै कुरा मलाई सुनाइन् । पर बाटोसम्म हामी सँगै आयौँ ।
‘सर, मेरो घर त्यही हो, जाऊँ न, चियासिया पनि लिन हुने । मेरा दाइ भाउजूसँग पनि परिचय हुन्छ ।’
‘अहिले अलि हतार छ, फेरि फेरि पसौँला नि ।’ म उनीसँग छुट्टिएँ । म कोठामा आएर पनि उनको मुस्कुराहटको झझल्कोले तानिको महसुस गर्न लागेँ । मलाई थाहा छैन, उनमा के त्यस्तो अनौठो कुरा थियो र मलाई त्यति साह्रो उनी मन परिन् । तर मैले जीवनमा एउटी कहिल्यै नदेखेकी भद्र, सुन्दर युवती देखेको थिएँ, जसलाई देख्नासाथ उनी पहिलेदेखि नै मसँग चिनाजान भएकी, नजिक भएकी जस्तो लाग्यो । मैले उनको आँखामा मायाको भाव छचल्किएको पाएँ । उनका निर्दोष आँखामा ममताको सागर भेटेँ ।
कोठामा गएपछि मलाई बाहिरी कुराहरू सोच्न पनि फुर्सद हँुदैनथ्यो । छोरा, छोरी श्रीमतीसँग कुरा गर्दैमा, घरायसी काम सघाउँदैमा दिन बित्थ्यो । तर ती सुन्दर, भद्र युवती मेरो मानसपटलमा बसिरहिन् । मैले उनका बारेका नसोचे पनि उनको छाया हल्का रूपमा बसेझैँ लाग्यो ।
मङ्सिर महिनाको मध्यतिर एउटा अफिसकै महिला कर्मचारीको विवाह भोजमा सामेल हुन म गएँ । त्यहाँ मैले परैबाट कसैले ‘नमस्कार सर’ भनेको सुनेर टाउको फर्काउँदा त उनै युवतीलाई देखेँ । त्यस बेला पनि उनमा झन् निकटताको भाव देखेँ । हामी दुवै जना नजिकै बसेर भोजमा सामेल भयौँ ।
मन्दिरमा भेटेपछि त तपाइँसँग भेट पनि भएन । म त दिनहुँजसो मन्दिर गइरहन्थेँ तर कहिल्यै तपाईँलाई देखिनँ । उनले बिस्तारै भनिन् ।
‘अँ, अफसेली कामले गर्दा व्यस्त भइयो, सम्झिन त सम्झिरहेको थिएँ ।’ मैले प्रत्युत्तरमा भनेँ ।
त्यसको दुईचार दिनपछि म उनीलाई भेट्न मन्दिर गएँ । त्यसपछि म समय पाउँदा उनीलाई भेट्न जान थालेँ । प्रत्येक पटक उनको हेराइ, मतर्फ बढाइएका भावहरू, उनको मायालु स्वरले सधैँ मलाई रहस्यमय, असाधारण र धेरै अर्थपूर्ण प्रभाव पाथ्र्यो ।
एकचोटि अलि धेरै समयको अन्तरालमा म उनीलाई भेट्न गएँ । ‘यत्रो समयसम्म तपाई कहाँ जानुभएको थियो ? किन भेट्न चाहनुभएन ? केही गल्ती भयो कि ?’उनले एकै साथ सोध्न भ्याइन् ।
हरेक अवस्थामा यसरी नै उनका अन्वेषक आँखाहरूले मलाई नै खोजिरहेको महसुस गर्थेँ । तर समयले कोल्टे फेर्यो, हाम्रो सहज भेटघाटलाई परिस्थिलिते अर्कै मोडमा उभ्यायो । यो रमणीय प्राकृतिक सुन्दरता र मेरी प्यारी प्रियतमा बसेको पहाडी इलाकाबाट म सरुवा भएर अन्तै जानुपर्ने भयो । जाने बेलामा उनी अत्यन्तै निराश र व्यथित देखिन्थिन् । म पनि खुसी थिइनँ । उठ्दा, बस्दा, सुत्दा हरेक पटक म उनलाई नै सम्झिरहन्थेँ । कहिलेकाहीँ म उनलाई आफ्नो जीवनमा जीवनसँगिनी बनाउन पनि चाहन्थेँ तर म मेरो मान्यताको सीमाले बाँधिएकोमा म आफैँलाई धिक्कार्थेँ पनि । कहिलेकाहीँ मैले किन उनलाई पहिल्यै भेटिनँ र यस्तो घटना घट्नुपरेको होला भन्ने सोच्थेँ ।
पछि पछि मेरो सरुवा अन्तै भएपछि हाम्रो भेट हुने क्रम घट्न थाल्यो तर पनि काम विशेषले त्यहाँ जानुपर्दा म उनलाई भेट्न जान्थेँ । उनले मलाई नै पर्खिरहेको देख्थेँ र उनी आफैँ पनि विछोडका दिनमा कस्तो कस्तो लागिरहेको बताउँथिन् । हामी दुवैले एक अर्कालाई माया गरे तापनि आपसी प्रेम प्रकट गर्न डराउँदै यो रहस्य आपसमा खुल्ला भन्ने डरले सबैदेखि सतर्क हुन्थ्यौँ । हाम्रो उदास किसिमको यो प्रेमले उनको सुन्दर भविष्य, मेरी श्रीमती, छोराछोरी र यत्तिका माया र विश्वास पाएको सम्र्पूण घरकै सहज जीवनलाई चकनाचुर पारेर ध्वस्त पार्न त सक्दैन भनेर डराउँथ्यौँ पनि र हरेक पटक उनी व्यथितझैँ देखिन्थिन् ।
यसरी वर्षहरू व्यतीत हुँदै गए । हाम्रो घेटघाट पनि पातलिँदै गयो । म पनि अति नै व्यस्थ हुन थालेँ । श्रीमती, छोराछोरीका डिमान्ड पनि बढ्दै गए । मैले आफ्नो कर्तव्य पूरा गर्न कोसिस गर्न थालेँ । कामबाट फुर्सद पाएको बखतमा भने यदाकदा सम्झने गर्थेँ उनलाई । के गर्दै होलिन् या कस्ती भइन् भनेर । सपनीमा पनि उनी क्रमशः आउन छोडिन् ।
धेरैपछि थाहा पाएँ, एक जना उनीहरूकै गाउँमा बस्ने मान्छेसँग उनको विवाह भयो रे । बिहे गर्न उनी मन्जुर थिइनन् रे । उनी विवाहपछि असन्तुष्ट जस्ती देखिन्थिन् रे । उनी खै किन हो आफैलाई उजाडिएको महसुस गर्थिन् रे ।
मैले एक पटक धेरै महिनापछि फोन गर्दा उनले बोल्न झर्को मानेझैँ गरिन् । मैले यहाँ मेरो माथिल्लो दर्जामा बढुवा भएका सुनउँदा पनि खालि बधाई छ तपाईँलाई मात्र भनिन् ।
‘धेरैपछि फोन गरेँ, कार्यव्यस्तताले समय नै पाइनँ, क्षमा देऊ है भन्न नपाउँदै तपाईले बिर्सनुहुन्छ र यसै गर्नुहुन्छ भन्ने थाहा थियो मलाई’ मात्र भनेर फोन राखिन् ।
वास्तवमा त्यो मान्छेको भनाइबाट म अवाक भएँ । मलाई उनका जीवनमा घटेका यी दुःखद् परिस्थितिबाट अत्यन्तै पश्चाताप भयो । आ, जे हुन्थ्यो, हुन्थ्यो मेरो मान्यताको सीमालाई पार गरेर उनलाई आँफैसँग ल्याएको भए पनि बिस्तारै परिवारमा हुने असहज परिस्थिति सहज हुँदै जाने थियो भनेर सोचेँ । तर एकतर्फी मिलाउन खोज्दा अर्कोतर्फ आफ््नी मायालु श्रीमतीको पनि त नराम्रो हालत हुनसक्थ्थ्यो नि भनेर भित्रभित्रै पिरोलिएँ । एक पटक उनलाई भेट्न चाहँे र गएँ पनि तर म त्यहाँ जाँदा उनी घरमा थिइनन् । उनका श्रीमान मात्र थिए । त्यहाँ गएर थाहा पाएँ उनी हस्पिटलमा छिन् भन्ने कुरा । उनलाई हेर्न हस्पिटलमा नै गएँ । हस्पिटलमा नर्सले उनलाई औषधी खुवाएर क्याविनतर्फ फर्केपछि म उनको छेवैमा गएर उनलाई बोलाएँ । उनी मतिर बढो एकोहोरो ढङ्गले हेर्न थालिन्, अत्यन्तै उदास आँखाले । हामी दुवैको आँखा जुभधे । त्यसपछि खै कुन शक्तिले तान्यो, उनी आँखाभरि आँसु लिएर मेरो अँगालोमा बाँधिइन् । दुवै जना आँखामा आँसु टलपलाउँदै अव्यक्त भाव पोख्न थाल्यौँ । मैले सोचेँ, यो प्रेम भन्ने वस्तु कस्तो रहेछ र हामीलाई प्रेम गर्नबाट बञ्चित पार्ने वस्तु अझ कति निष्ठुर रहेछ । यतिकैमा क्याबिनबाट नर्स आएझैँ लाग्यो, मैले उनलाई अन्तिमपटक आँखामा टलपलाउँदा आँसु लिएर प्रेम प्रकट गरेँ । पीडा भित्रभित्रै दबाएँ र सधैँका लागि छुट्टिएँ ।
अहिले पनि मभित्रको उनको माया यदाकदा मेरा अगाडि आएर मलाई बिउँझाउने गर्छ । हाम्रो असफल, अव्यक्त प्रेम किन हुनुपरेको होला भनेर आफ्नै भाग्यलाई धिक्कार्न मन लाग्छ । व्यथा, पिरले भरिएर उजाडिँदै गएको जीवनलाई धिक्कार्न मन लाग्छ । मनमनै कुडिनुसिवाय अरू विकल्प नपाई भौँतारिरहन्छु मात्र ।
अझै पनि म उनको छेउमा पुगेर ‘हामी आआफ्नै संसारमा रमौँ–रमाऔँ, प्रेमबाट विचलित नभई सुन्दर भविष्यको निर्माणमा लागौँ । पाउनु मात्र प्रेम हैन, हृदयमा प्रेमभाव राखेरै भए पनि आआफ्नै धरातलमा उभिऔँ ।’ भन्दै मायालु भाव पोखेर उनलाई आफ्नै जीवनतिर फर्काउने कल्पनामा डुल्दै हुन्छु । श्रीमती आएर– ‘हैन तपाईंलाई आज जग्गा हेर्न जानुपर्छ भन्ने थाहा छैन कि क्याहो ?’ भनेको सुन्दा झल्याँस्स बिउँझिन पुग्छु, कल्पनाको संसारबाट वर्तमान यथार्थको धरातलमा ।
मीनभवन, काठमाडौँ ।
लेखकको सम्वन्धमा