सूर्यमा ग्रहणपछि
निसपट्ट बनेको रातमा
पागलहरूको बस्ती नै बर्बराएको छ
आवेग र उद्वेगका स्वरहरू
हावासँग घोलिएर छरपस्ट छरिएका छन् ।
एउटा बर्बराउँछ, अर्को हड्बडाउँछ, कोही गड्बडाउँछ
विशृङ्खलित श्रृङ्खलाहरू
ओकलिएका शव्दहरूले
गुन्जिएको बस्ती कोलाहालपूर्ण छ ।
यहाँ दिउँसै रात बिउँझिएको छ निसपट्ट भएर ,
घामको प्रकाश पागलहरूका आँखाले देख्न सक्तैन ।
आफूले आफैंलाई चिन्न सक्तैन
अरूको भाषा बुझ्न सक्तैन,
एउटा हिँड्छ, अर्कोले लडाउँछ तेस्रो कराउँदै
मध्यरातको मेलामा भेला हुन पुग्छ
अलि अलि मदिराको माद, आफैंभित्रको उन्माद,
विक्षिप्त मानसिकताका सहयात्रीहरू,
थोत्रा झुत्रा झ्याम्ला पोका र डोकाहरू बोकेर ,
आफूलाई महान् गौरवशाली देखाउन
आफ्नै अँध्यारो आँगनमा निर्बस्त्र नाच्न थाल्छन् ।
आँगनको डिलबाट एकले अर्कोलाई तथानाम गाली गर्छ,
गालीमा सार छैन, भाषामा पूर्णविराम छैन, कोही श्रोता छैन,
एउटाले एउटा रागमा आलाप गाउँछ अर्कोले अर्कै रागमा,
कसैको गीतमा सङ्गीत छैन, तान छैन, स्वर छैन ,
छन्द न बन्दको भाका हालेर कोही रोइरहेका छन् ।
उद्वेगपूर्ण मनका आवेगपूर्ण अभिव्यक्तिले
सारा बस्ती नै कोलाहालपूर्ण बनेको छ।
इज्जत छोप्ने धजो छैन, छोप्ने ज्ञान छैन,
बटुवाले फालेको एकटुक्रा रोटीमा
तँ छाड् म छाड् गर्दै दौडेका पागलहरूले
हातमा राँको, मसाल, अगुल्टो, लाठी, ढुङ्गा र भाला बोकेका छन् ।
सारा जमात नै एकटुक्रा रोटीका पछि दौडिरहन्छ
एउटा सारबिनाको भाका हालेर, अर्थबिनाका शब्द ओकल्दै, अजारबजार गर्छ ।
अर्को रूख चढी भाषण गर्न थाल्छ
कोही भाला देखाउँछन्, कोही औँलो ठड्याउँछन्, कोही मुट्की उठाउँछन् ,
एउटा रुन्छ, अर्को कराउँछ, कोही फतफताउँछ कोही भक्भकाउँछ,
एउटाले बाजा बजाउँछ, अर्कोले राजा बनाउँछ,
सबैले गाँजा खाएकाछन्, कसैले सत्ता पाएकाछन्, कसैले भत्ता,
सत्ताको राप नपाएर केही पागलहरू जाडोमा कँपिरहेका छन्
आवेग र उद्वेगको भेलाले जाडो भगाउने निर्णय गर्छ ।
अर्कोले आफ्नै झोपडीमा आगो लगाउँछ र भन्छ मैले जाडो भगाएँ ।
झुपडी सल्काएर आङ सेक्ने पागलहरूका हुलमा
एकले अर्कोको वस्त्र तान्छ र नग्याउँछ ,
अरू ताली बजाएर नाच्छन्,
यो पागलहरूको बस्ती, यहाँ अस्तित्व छैन वतनको,
अस्मिता छैन आमाको,
अचेल तल्लाघरे दन्तुरे बा र पल्लाघरे भीमसिने जेठाले
पागल बस्तीलाई धतुराका दाना अनुदानमा पठाएर ठुलो सहयोग पु-याउँदै आएका छन् ।
धतुराको माद जादुगरी उन्माद,
जसले पायो उसले आफूलाई धन्य ठहरायो ।
विक्षिप्त बस्तीमा विशालता ल्याउँन
आफ्नै पुरुषार्थको गीत गाउँन सबै पागलहरू एक छन् ।
यहाँ मान सानबिनाको अभिमानले आकाश गुन्जिएको छ
यो पागलहरूको बस्ती हो
यहाँ यस्तै यस्तै यस्तै देख्न पाइन्छ ।।
२०७८/ ३/ १५
दमक झापा
लेखकको सम्वन्धमा