आमाको पाठेघरको भ्रूणबाट सुरू हुने यो जीवन
पाठेघरको पानीमा पौडँदा, पल्टिँदा, खेल्दा
लाग्यो कति सुन्दर यो जीवन
नौ महिनापछि आफूलाई पानीबाट बाहिर पाएँ
त्यत्तिका महिना रमाएको आफ्नो संसारबाट
टाढिनुपर्दा, चिच्याएर रोएँ पनि
केही समयपछि, मेरा ऑखाका नानीबाट
छिरेका प्रकाशका किरणले मेरा मस्तिष्कमा
बनाएका, विचित्रका आकारहरू
रङ्गीविरङ्गी झिलिमिली बनावटहरू
मलाई अँगाली रहेका न्याना अँगाला
मेरो अस्तित्वले रमाएका ती अनुहारका चमकहरूले
फेरि महसुस गरायो,
आहा!!! कति सुन्दर यो जीवन
हुर्कदै गर्दा, देखेका ती
खुला निला आकाशका सेता बादलहरू
कहिले रापिलो, कहिले न्यानो सूर्यका किरणहरू
रातमा चम्किरहेका चम्किला ताराहरू
पूर्णिमाको रातको उज्यालो शीतल जून
हिउँदमा हिँउले छपक्क छोपेको सेता हिमाल
यी हरेक दृश्यले महसुस गरायो
उत्सव हो यो जीवन
हुन त,
औँसीको कालो रात
दिउसै अँध्यारो भई रिसले गर्जिँदै गरेको आकाश
वर्षाको उन्मादमा बहकिएर
आफ्नो सीमा तोड़ी उर्लने नदी
हुरी बताससँगै आउने सुनामीले
विचलित नबनाएको भने पक्कै होइन
तर,
औँसीलाई पछ्याउँदै आउने त्यो
पूर्णिमाको उज्यालो रात
वर्षापछिको त्यो खुला, सफा आकाश
आफ्नो पागलपन पछिको शान्त नदी
अनि, आफ्नो विगारमा पछुताइरहेको सुनामीले
धैर्यको मिठो फल चखाउँदै पुनः
आभास दिलायो, कति मिठा समय यो जीवन
सूर्य अस्ताएको देखेँ, तारा बिलाएको देखेँ
दिनलाई रात हुँदै गरेको देखेँ
यो जीवनलाई पनि एक दिन
अस्ताउनु छ, ताराजस्तै बिलाउनु छ
जीवनको उज्यालोबाट
भूमिको अँध्यारो काखमा जानु छ
तर त्यसबिचको यो जीवन नामको उत्सव
अति नै सुन्दर छ
त्यसैले, चियर्स!!!
यो जीवन नामको उत्सवलाई।।।
लेखकको सम्वन्धमा