छेवैमा भव्य पुल बनेको छ,
मान्छे हुइँकिन्छन् गाडीमा,
थाहा पनि पाउँदैनन्,
कहिले नदी तरियो ।
यता हाम्री कविता नानी,
एउटा पुरानो डुङ्गा र चप्पु हातमा लिएर,
प्राकृतिक विचरणको रोमान्चको,
साक्षात्कार गराउन उद्यत,
नदीमा छ्याप्ल्याक्........छ्याप्ल्याक् ।
उता गाडी हुइँके मान्छे,
भव्य भवनको आलिशान वातानुकुलित कक्षमा,
इन्टरनेटमा खेल खेलेर रोमान्चित हुँदै छ,
नदीमा डुङ्गा खियाउँदै ।
एक नम्बर खेल,
केही बिस्तारो बगेको नदी,
थोरै अवरोध, केही भुमरी,
रोमान्च पुगेन भने नदीको बहाव बढाउँछ,
अवरोध थप्छ, भुमरी ठुलो ठुलो ल्याउँछ,
दुई नम्बरी खेलमा ।
सिपालु हुँदै जाँदा अप्ठ्यारा थप्दै लान्छ,
खेलको नम्बर चढ्दै जान्छ,
रोमान्च, किक, सबै सहजै पाउँछ,
थपघट आदेशानुसार ।
बिचरी कविता नानी !
शेर्पा गाइड भएर बस्छिन्,
सगरमाथा बेसक्याम्पमा,
पकृतिको अनुपम साहसिक खेलको,
व्याख्या सामग्री जोहो गरेर,
तर, न रोमान्चमा बढोत्तरी,
न ‘किक’को आदेशानुसार थप्ने प्रावधान,
प्राकृतिक मान्छे, कृत्रिम खेल,
उही वातानुकुलित कक्ष,
उस्तै खेलको नियम,
अवरोध थपघट,
रोमान्चित केवल औँला चलाइमा ।
कविता नानी ! अघि बडिरहू,
चरैबेती जीवनको मूलमन्त्र मान्दै,
जब मान्छे क्लान्त हुन्छ,
थकित, गलित, मलिन हुन्छ,
आमाको माया इन्टरनेटमा,
खोज्दाखोज्दा नपाएर,
बाको सदाको आशीर्वाद,
र बलिष्ठ बाहुको भर नपाएर,
घामले तपित माटोमा वर्षाका थोपा,
झ्याइँय्य... गर्दै परेपछि,
उठेको बास्नाको मिठासको भेउ नपाएर,
तब,
तिम्रा पनि दिन आउने छन्,
आउनैपर्ने छ, वातानुकुलित कक्षबाहिर,
मान्छेलाई, मान्छे बन्न ।
गोविन्द प्रसाद काफ्ले,
२०७२-०३-१२,
स्वआश्रम ।
लेखकको सम्वन्धमा