December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

काँडा बनी जन्मनू

  ऊ नारी हो 
 शारीरिक रुपमा तिमीभन्दा थोरै कमजोर होली
 जिन्दगी रहस्यले भरिपूर्ण किताब न हो, 
 अनगिन्ती पानासँगै समय पनि पल्टिरहेछ,
 उसका ती हर्षका गानाहरू, 
 ती रोदनका पानाहरू,
 साहसका गाठाँहरू,
 दुखका छडहरू कथामा परिणत् भए
 सायद त्यस् दिन होला हावाले बास लिएको, 
 चराचुरुङ्गीले कान भरिने गरी चिरबिर गरेको
  
 अघिसम्म अनेकौं सपना लिएर उड्दै गरेकी ऊ,
 अहिले त्यो 'अघि' लाई नै आफ्नो गन्तव्य बनाउँदै छे
 उसलाई त बस् अब उड्नु छ
 जब उज्यालो हुन्छ तब उसका सपना त्यही उज्यालाले हत्या गरिदिन्छ र
 धमिला देखिन थाल्छन्
  
 तिमी फूल बनी होइन, काडाँ बनी जन्मनू
 शीतल पवन बनी होइन, आँधीबेरी बनी जन्मनू
 स्वच्छ र सफा पानी होइन, समुन्द्रको ज्वारभाटा बनी जन्मनू
 तिम्रा आँखामा गाजल होइन, प्रतिशोधको आगो होस्
 तिम्रा बोलीमा मिठास होइन, हाहाकार मच्चाउने आवाज होस्
 त्यसैले तिमी माता सरस्वती होइन, पापीहरूलाई नास गर्ने 
 महाकाली बनी जन्मनू
 ईश्वर जसरी चमत्कार गर्ने तिम्रो क्षमता त पक्कै छैन होला
 तर तिमीभित्रको ईश्वरलाई जगाऊ
  
  
 उज्यालोबिनाको संसार रङ्गहीन छ
 त्यसैले म किरणमा समाहित भई 
 आँखाहरूमा समाहित हुन चाहन्छु र 
 संसारमा रङ्गहरू भरिदिन चाहन्छु
 सबेरै उदाएर नयाँ दिनको सुरुवात गरिदिन चाहन्छु।