January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

किसानको पसिना

श्रमै श्रमले लिपिपोती बारीमा बाली लाउने
आफ्नै पसिनाले सिञ्चित गरी 
जमिन हरियो बनाउने
नेता ,व्यापारी र जमिनदारले  हैन ,
मिहिनेती किसानले हो अन्न उब्जाउने ।
आकाशको पाल ओढेर बसेको धर्तीमा
किसान कुटो र कोदालोमा सजिएको छ ।
अन्न बिना कोही जीवित रहँदैन
अन्नमा प्राण अडिएको छ ।
अन्न किसानमा निहित छ
त्यसैले किसानको भरमा
हाम्रो पेट भरिएको छ ।
यहाँ किसानको  पसिनामा
व्यापारीको गिद्धे नजर परेको छ।
अन्न किसानले उब्जाउने ,
मूल्य व्यापारीले  तोक्ने!
दुःखी र निहत्था श्रमजीवीको
अवमूल्यन गर्ने !
सरकारमा पनि मान्छे हुन्छन्
श्रमको मूल्य बुझ्नुपर्ने !
आवाजविहीन भएर  किसानले
ढाडै बाङ्गो हुने गरी झुक्नु पर्ने!
धेरै भयो अत्याचार अब अन्त्य गर्नुपर्छ।
निदाएका हामी अब किसानका लागि लड्नुपर्छ।
अत्ति भो ! कोही आउँदैन
कतैबाट अब दयाको' बोटुको थाप्नु हुँदैन ,
बाँझो धर्ती फोर्ने पाखुराले
सामन्तको अस्तु फोर्न काँप्नु हुँदैन।
बाली मरेपछि मल किन?
मरेपछिको सहानुभूति किन?
गरिब हुने , किसान नै किन?
अन्न उब्जाउनेको पेट भोको किन??
किसानको 'क' र खेतीको 'ख' नजान्ने
तिम्रै पेट चैँ ठुलो किन???
हो अब !
कारण खोज्नुपर्छ!!
हकको लडाईं लड्नुपर्छ ।