आमाबुबाले छोराछोरी उठ स्कुल जाऊ भन्दै बिस्ताराबाट उठाउने छन्
सडकमा निषेधाज्ञाका ब्यानर नभई स्कुलभ्यान हुने छन्
कलङ्की फेरि गाडी नै गाडीको जाममा ब्यस्त हुने छ
गर्मीले खलखल पसिना बगेको
स्कुल ड्रेसमा त्यो अनुहार कुल्फी किन्न निस्कने छ
कोरोना कहरको अन्त्य हुँदै फेरि नेपाल खुल्ला हुने दिन आउने छ।।
बिहानै रेडियोमा फेरि आजको राशिफलबाट सुरु हुँदै
पहिलाको कोरोनाको समाचार नभई
नेपाल हड्तालको समाचारले फेरि देश हल्लाउने दिन आउने छ।।
स्कुल कलेज बन्द नभई
भौतिक परीक्षामा चिट चोरेको सम्झना आउने दिन फेरि पनि आउने छ।
एम्बुलेन्स, दमकल मात्र सडकमा नहिँडी
फेरि स्कुल तथा वनभोजका बसहरु हिँड्ने दिन आउने छ।।
धेरै खाएर बनेको भुँडी घटाउन कोरोना नभनी
मर्निङ्ग वाक र रामदेव भनी बिहान सबेरै सडकमा हिँड्ने दिन आउने छ।।
मोबाइलमा पब्जी र लुँडो नभन्दै कोरोनाको
भूत हटाउन भकुन्डो र लुकामारी खेल्ने दिन आउने छ
बाहिर निस्कँदा मर्छु कि ! भन्ने डर हटाई
फेरि स्वतन्त्र भई आनन्दले चुइगम पड्काउँदै हिड्ने दिन आउने छ
पशुपतिमा कैयौँ लासको अन्त्यष्ठि मात्र नभई
शिवजीको दर्शन गर्नेको भिड फेरि पनि हुने छ।।
फेरि पनि आफन्तसँग घुलमिल भई
टाढा टाढा सर्ने संस्कारको अन्त्य हुने दिन आउने छ।।
फेरि पनि घरमा कुनै रोगका सामु नझुकी
हाँसीखुसी रमाउँदै हिँडडुल गर्ने दिन आउने छ।।
क्रिश अर्याल "जिज्ञासु"
लेखकको सम्वन्धमा