February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

आफै

मैले यसरी बस्न हुन्न । मेरो अस्तित्व पहिचान गर्नका लागि त केही गर्नैपर्छ, म आफैले ।

आजकाल खै के भएको हो, मबाहेक अरू कसैलाई सम्झन मन लाग्दैन । संसारमा मेरो म आफै मात्र हुँ, अरू कोही छैन जस्तो लाग्छ । आफ्ना लागि आफै मात्र हुँदो रहेछ,। अरू त मात्र स्वार्थका लागि । अनुकूल पर्दा माया ममता बाँडिटोपल्दा रहेछन् । प्रतिकूल हुनासाथ अन्तैतिर मुन्टो फर्काउँदारहेछन् जस्तो लाग्छ ।

उनको प्रेम पाउँदा संसारै आफ्नो जस्तो । सारा धर्तीले मुस्कान छोडेजस्तो । जता हे¥यो उतै रमाइलो । हृदय पनि प्रफुल्ल भएजस्तो लाग्थ्यो । म मान्थेँ उनलाई ! म मरिमेट्थेँ उनका लागि । विश्वासले भक्तिभावले पूजा गर्थेँ । मलाई उनले बेलाबेलामा तड्पाए पनि मैले कहिल्यै भित्री भावले गुनासो गरिनँ । सायद परिस्थितिले त्यस्तो गरायो भनेर बरु समयलाई सराप्तै आफैलाई धिकार्थेँ । मलाई थाहा भयो उनी बन्धनमा छन्, सामाजिक परिवेशले उनलाई जकडेको छ । तर पनि म उनलाई निःस्वार्थ प्रेम गर्थे । मेरो दिमागमा जति बोझ थपिदिए पनि, जति तड्पाए पनि मैले उनीसँग प्रतिवाद गरिनँ । बेला बेलामा भेट नहुँदा र भनेको समय प्रतिकूल भएको बखत भने ममा चिडचिडाहापन देखिन्थ्यो र कहिलेकाहीँ उनीसँग ठुस्किन्थेँ पनि, तर तुरुन्तै माया ओइरिएर पलाउँथ्यो ।

समयको गतिसँगै एक पटक यस्तो समय आयो, उनी बाहिर कामको सिलसिलामा जाँदै थिए । मलाई उनीसँग छुट्टिन कठिन भइरहेको थियो । डसिएको हृदय लिएर उनलाई भेट्न म उनको घरमा नै गएँ । त्यसबखत उनी घरमा थिएनन् । निकैबेर कुर्दा पनि उनी आएनन् । परिवारका अन्य सदस्यसँग मनलागी नलागी उनकै प्रतीक्षा गर्दै गफ गरेर बिताएँ । साँझ परुन्जेलसम्म पनि उनी फर्किने छाँट नदेखेपछि म आफ्नै घरतर्फ फर्किएँ । भोलिपल्ट एक पटक उनी जाने बेलामा भेट नभए पनि फोनमै गफ गरेर उनलाई बिदा गर्ने निश्चय गरेँ । अनि नम्बर डायल गर्न थालेँ । त्यस पटक पनि उनी फोनमा भेटिएनन् । जाने तरखरमा सामान किन्न एकैछिन बाहिर गएको थाहा पाएँ । अनि ‘जाने बेलामा उनलाई भेट्न आँउदिनौ त आऊ न’ भन्ने उनका परिवारका सदस्यको प्रस्ताव पाएर दङ्ग पर्दै म उनलाई बिदाइ गर्न गएँ । उनी र म बच्चादेखिकै मिल्ने साथी भएको हुँदा घरमा आउजाउँ गर्न कुनै बन्देज थिएन । सङ्कोच थिएन ।

जब म उनकोमा गएँ, उनी कोठामा थिएनन् । अर्को कोठापट्टि लैजाने सामान मिलाउनमै  व्यस्त थिए । समय अभावले गर्दा हो या मन नलागेर हो, उनी निकैबेर कुर्दा पनि बैठकमा छिरेनन् । मलाई औडाहा भइसकेको थियो, एक झलक मात्रै देख्न पाए पनि हुने… जस्तो । धेरैबेर कुरेपछि बल्ल उनी ढोकामा देखापरे र सोधे– “ए तिमी आयौ ! अँ, हेर न हतारमा छु ।”

“हैन खाली जाने बेलामा यसो बिदाइ गर्न मात्र … ।” पनि भन्दानभन्दै उनी कोठाभित्रै नहेरी आफ्नै कोठातिर फर्किए ।

मैले उनलाई जाने बेलामा उनले भनेका पुराना नोटबुकहरू र उनलाई उपहार स्वरूप एउटा कमल र डायरी पनि बोकेर लगेकी थिएँ । मैले त्यो पनि राम्ररी दिन पाइनँ । ‘किन त्यस्तो गरेका होलान् उनले ! राम्रोसँग बोल्दा पनि बोलेनन् । जाने बेलामा नरमाइलो लागेर हो कि’ मनमनै सोचिरहेँ । साह्रै हतारमा त थिएनन् उनी । उनको फ्लाइट हुन अझै निकै समय बाँकी नै थियो । एकैछिन बोल्न पनि किन गाह्रो मानेको होला ! तर्क–वितर्क चल्न थाल्यो । म पनि फर्कने तरखर गर्न थालेँ । त्यसैबेला उनी लुगा फेरेर आए र भने– “अँ मलाई बाहिर जानु छ, एक ठाउँमा नभेटी नहुने काम छ । म लागिहालेँ ।” मतिर फर्कदा पनि फर्किएनन् उनी ।

“म पनि जान्छु । खालि जानेबेलामा मात्र … ।” मैले बोल्दै बाहिर निस्कन खोजेँ । उनी केही नबोली फटाफट बाहिरिए । मेरो आगमनलाई उनले कुनै वास्ता गरेनन् । सोचेँ, सायद परिवारका अगाडि उनलाई मसँग जाने बेलामा बोल्न सङ्कोच लागेको हुनसक्छ । म पनि बाहिरिएँ, कतै उनलाई बाटामा भेटिहाल्छु कि भन्दै । तर उनी कतै देखिएनन् । गह्रौ मन बोकेर घर फर्किएँ । उनले जानेबेलामा म जाँदै छु पनि भनेनन् । किन त्यस्तो गर्याहोलान् मैले बुझ्नै सकिनँ । दुई–चार दिनअघिदेखि नै मैले उनलाई छोड्न सक्तिनँ, एक्लै कसरी दिन बिताउँ भन्दा अलि फरक ढङ्गले उत्तर दिएका थिए, “बानी पार्नुपर्छ सकिहालिन्छ नि ।”

उनी उता गएपछि मलाई सम्झने प्रयासै गरेनन् । सायद समयाभावले गर्दा होला भन्ठानेर मैले उनी बसेको ठाउँको फोन नं. पत्ता लगाएर एक पटक फोन गरेँ । मैले मेरा सबै ब्यथाहरू पोखेँ । उनीसँग बिछोडिएका दिनहरू, एक्लै रुँदै गरेका क्षणहरू, सबै, सबै … । तर उनले निस्फिक्री “यस्तो कुरा फोनमा होइन पछि भेटमा गरौँला, एक्लै बस्न सिक्नुपर्छ ।” भन्दै ढ्याक्क फोन राखिदिए । उनले मलाई कहिल्यै भेट्ने प्रयास गरेनन् । मैले बेला बेलामा फोन गर्दा उनी कहिले नुहाउन लागेको कहिले खान लागेको र कहिले मिटिङमा हिँड्न लागेको भनेर बहाना बनाउँथे र फोन राखिदिन्थे ।

मैले पहिलेका कुराहरू सम्झन थालेँ । साँच्चै मैले उनले गरेको प्रेम प्रस्तावलाई कति सहज किसिमले स्विकारेकी थिएँ । आखिर मनमनै म पनि त उनीसँग प्रेम गर्थेँ नि । कति पटक मैले उनको सफलतामा जयगान गरेँ । कति पटक उनका असन्तुष्टिहरूलाई सन्तुष्टि दिने प्रयास गरे तर .. तर सब धोका रहेछन् । प्रेम कृत्रिम रहेछ सब … सब थोक छल मात्र ।

धेरै पछि थाहा पाएँ– उनले त उतै घरजम गरेछन् । घर पनि सडककै छेउमा भव्यको छ रे । उतै एउटा क्याम्पसमा धेरै विद्यार्थीलाई आदर्श र व्यवहारका कुराहरू पढाउँछन् रे । पढाउन पनि राम्रो पढाउँछन् रे । उनको तारिफ गर्दै सुनाएका थिए उतैबाट आउने मैले चिनेकाहरूले । उनको वाककला भने अनुपमकै थियो । त्यसैले त मलाई पनि खिचेको थियो नि ! म मनमनै उनको प्रगतिका कुरा सुनेर हर्षित भएँ । तर एकैछिनमा बेचैनीले अवाक पनि । साचेँ यस्तो गर्नु थियो त मलाई किन ‘तिमी मेरी प्रेरणा हौ, मनकी रानी हृदयकी खानी, जन्मजन्मान्तर साथ दिइराख’ भनेर सधैं फुरुङ्ग पार्नुपथ्र्यो । म पनि यिनै कुराहरूले गर्दा दिनदिनै गहिरो प्रेममा डुब्दै गएँ ।

यता मेरो पनि उमेर पुग्दै गएकाले घरमा बिहेको कुरो चलाए मेरो परिवारका सदस्यहरूले । म केटो देखाउन खोज्दा पनि बिना रोकटोक राजी भएँ । मैले सोचे विवाह गर्न मन नभई गर्दिनँ भने पनि आमा बुबाहरूलाई यसले गहिरो चिन्तामा पार्छ । ‘किन ?’ भन्नुभयो भने के जबाफ दिने । सोचेँ– ‘जो भए पनि जिन्दगी बिताउनु त हो ।’

विवाहपछि मैले घर, परिवार, श्रीमान् फर्माइस आफ्नै कर्तव्य सम्झेर निभाउँदै गएँ । सुरुसुरुका दिनहरू त राम्रैसँग बिते तर पछि पछि खै श्रीमान्‌लाई र सासूससुरालाई के पुगेन उनीहरूका नजरमा म तिरस्कृत हुँदै जान थालेँ । साना साना कुरामा पनि सासू निहुँ मात्रै खोज्नुहुन्थ्यो । अनि छोरा र ससुरालाई पोल लगाउन थाल्नुहुथ्यो । मेरो बिहे गर्नेबित्तिकै पनि दाइजो यस्तो भो उस्तो भो भनेर नाक नखुम्च्याएको त कहाँ हो र ? तैपनि मैले कुनै प्रतिवाद गरिनँ । प्रतिवाद नै गरे पनि त मेरा माइतीले दिन सक्ने थिएनन् नि ।

आजभोलि त श्रीमान् दिनहुँजस्तो मसँग झगडा गरिरहनुहुन्छ । हरेक कुरामा ठेस मात्रै लगाउनुहुन्छ । नबोली बस्यो भने ‘यस्ती घुसघुसेसँग के गरी बस्ने !’ भन्नुहुन्छ । अनि फर्‌याकफुरुक गर्यो भने ‘आज कुनचाहिँलाई भेटेर आइस् ?’ सम्म भन्न पछि पर्नुहुन्न । म उहाँलाई र उहाँका परिवारलाई कसरी रिझाउने, बुझ्नै सक्तिनँ । सायद म नै मूर्ख, महामूर्ख पो छु कि त ! नत्र सबैले मलाई किन यस्तो … !

आजभोलि मलाई बाहिर कतै निस्कन पनि मन लाग्दैन । बाटोमा देखिएका मानिसहरूदेखि पनि झर्को लागेर आउँछ– ‘कति बिघ्न मान्छेहरू’ जस्तो लागेर । बाटामा कुनै रिमिक्क परेर हिँडेका आफ्नै साथीभाइ र चिनेका मानिसहरू मलाई देखेर मुस्काए भने पनि मलाई जिस्क्याएजस्तो लाग्छ । अस्ति भर्खरै बिहे गरेर आएकी सङ्गीता मलाई देखेर हाँस्तै “के छ तिम्रो हालखबर ?” भन्दा पनि मलाई त कति न आपूmलाई सुखी ठानेर व्यङ्ग्य गरेकीजस्तो लागेर मनमनै मुर्मुरिएँ ।

बेला बेलामा म सोच्ने गर्छु, म कुन मोडमा छु । मलाई आफै कताकता हराएजस्तो लाग्छ । भिडमा कहिलेकाहीँ आफैले आफैलाई छाम्ने प्रयास गर्छु । कतै हराएकी त छैन म ! खै, मेरो अस्तित्व ? सायद म एक्लै बाँकी छु, मेरा लागि । आफ्नै लागि मेरो म नै हुँ । म तर्क र वितर्कको को भुमरीमा छु । म मेरा दोष र गुण केलाउने प्रयास गर्छु । हैन, मैले यसरी बस्न हुन्न । मेरो अस्तित्व पहिचान गर्नका लागि त केही गर्नैपर्छ, म आफैले । कोही नभए पनि आफ्नो आफै भएर ।

मीनभवन, काठमाडौ ।