January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

कवितामा समेट्न सकिनँ

अणु बनाउने एलेक्ट्रोन प्रोटोनादि कणभन्दा पनि सूक्ष्म,
 तर आकाशभन्दा पनि विशाल,
 मेरो आँट पुगेन, 
 हिम्मतै जुटाउन सकिनँ,
 ‘आमा’लाई कवितामा समेट्न ।
  
 भव्य, दिव्य, विशाल, महान्,
 अखण्ड ज्योति, स्पन्दन मुटुको,
 यी सबै लाग्ने, 
 पानीको छाल पक्रिएझैँ फितलो,
 एउटा एहशास, एउटा अनुभूतीय विचरण,
 जेलिने कसरी हो केही शब्दाजालमा ।
  
 स्वर व्यञ्जन तथा आकार, ईकार, ओकार आदिले,
 बेर्न सक्दैनन् ‘आमा’को सम्पूर्णतालाई,
 यति हल्का कि सधैँ सँगै,
 सकिने लिएर हिँड्न,
 गह्रौँ यति कि ब्रह्माण्ड उनैमा समाहित,
 मेरो उनको र तपाईँकोमा विभाजित हैन,
 अविभाज्य एक अनुभूतीय हार्दिक स्पन्दन ।
 गोविन्द प्रसाद काफ्ले,
  
 २०७८-१-२८
 मातातीर्थ औँशी
 स्वआश्रम ।