December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

गुरुभक्त आरुणी

आजभोलि हामी पढ्न लेख्नको लागि स्कुलहरूमा जान्छौँ । स्कुल जानका लागि हामी स्कुलकै बसमा चढ्छौँ । टिफिन–टाइममा हामी स्कुलको क्यान्टिनमा टिफिन खान्छौँ । तर आजभन्दा सयौँ वर्ष पहिले यस्तो सुविधा थिएन । त्यसबेला स्कुलहरू थिएनन् र पढ्नका लागि गुरु बस्ने घरमा नै बसेर गुरुलाई काममा सघाएर पढ्न लेख्न पथ्र्यो । गुरुलाई घरमा सघाएर साह्रै दुःखका साथ अनुशासनमा बसेर पढ्नलेख्न पथ्र्यो । त्यो व्यवस्थालाई गुरुकूल व्यवस्था भनिन्थ्यो ।
एक समयको कुरा हो कुनै एक गुरुको घरमा धेरै विद्यार्थीहरू थिए । ती विद्यार्थीहरूमा यौटा आरुणी भन्ने पनि विद्यार्थी थियो । ऊ गुरुको धेरै आज्ञाकारी थियो । गुरुले अह्राएको सबै काम ऊ सुरुसुरु गथ्र्यो । गुरुले दिएको कार्य सकेर ऊ पढ्नलेख्नमा पनि साह्रै मिहिनेत गथ्र्यो । गुरु पनि आफ्नो विद्यार्थीलाई देखेर साह्रै खुसी हुनुहुन्थ्यो ।
एकदिनको कुरा हो वर्षायाममा धेरै पानी परिरहेको थियो । गुरुको आफ्नो यौटा सानो खेत थियो । आजभोलि खेतमा पानी सिँचाइ गर्न हामीसँग पाइप , मोटरपम्प हुन्छ । तर त्यसबेला त्यस्तो कुनै सुविधा थिएन । केही विकसित राज्यहरूमा नहरको व्यवस्था हुन्थ्यो जहाँको पानी खेतमा पुर्याएर सिँचाइ गरिन्थ्यो भने खेतका पाटै पाटैमा पानी रोक्न आली बनाइएको हुन्थे । पानी धेरै परिरहको थियो । गुरुले आफ्नो विद्यार्थी आरुणीलाई खेतमा पानीको धेरै बहावले आली भत्काउला भनी हेर्न पठाउँनुभयो । नभन्दै पानीको एकातिरको बहाव बढी भएर खेतको एकातिरको आली त भत्किएको पो रहेछ !
आरुणीले नजिकैबाट ठुलो माटोको ढिस्को ल्याएर आलीलाई बुज्न खोज्यो । तर जति नै ठुलो माटोको ढिस्को ल्याएर लगाए पनि पानीको बहाव अत्यधिक भएर माटो क्षणभरमा बगाएर लान्थ्यो । अन्तमा आरुणीले पानी रोक्ने कुनै उपाय नपाएर आफै त्यस आलीमा पल्टियो र पानीलाई रोक्यो । पानी रातभर परिरह्यो । आरुणीलाई पनि रातभर किराकाटीले टोकिरहे । तर आरुणीलाई गुरुको आदेश याद थियो । त्यसैले ऊ पनि पानी नरोकिदा सम्म त्यही सुतिरह्यो । यता आश्रममा गुरु आफ्नो शिष्य नआउँदा आत्तिसक्नुभएको थियो । पानी अति नै उग्र परिरहेका कारण उहाँ बाहिर जानसक्नु भएन । त्यतिबेला आजजस्ता सहरहरू पनि थिएनन् र जंगली जनावर पनि रातको बेला सिकार खोज्र्दै हिँड्ने भएकाले गुरुलाई आरुणीको अति चिन्ता लागिरहेको थियो । धेरै घण्टापछि पानी फाट्यो । गुरु आफ्ना अरु विद्यार्थीसँग आरुणीलाई खोज्न खेततिर लाग्नुभयो । परको खेतको पाटोमा आरुणी पल्टिरहेको थियो । गुरु हतारहतार गएर आरुणीलाई उठाउनुभयो र मायाँले उसको कोमल आँङमा किराकाटीले टोकेर बनाएका घाउँलाई छुनुभयो । आरुणी जाडोले थुरथुर कामिरहेको थियो । अनि गुरुले आरुणीलाई आश्रममा लगेर तातो लुगाले छोपिदिनुभयो । गुरुले आरुणीलाई स्नेहका साथ धेरै धेरै आशीर्वाद पनि दिनुभयो र पछि गएर ठुलो ज्ञानी हुने आशीष पनि । नभन्दै पछि गएर आरुणी ठुलो भएर प्रकाण्ड ज्ञानी भयो र देशविदेशमा उसलाई धेरैले चिन्न थाले । तर उसको सबैभन्दा ठुलो प्रसिद्धि गुरुभक्त आरुणीको नामले नै रह्यो ।
हामी पनि स्कुलमा आफ्ना गुरु , गुरुआमाले सिकाएको कुरालाई ध्यानपूर्वक सुनेर सधै उहाँहरूको आज्ञा मान्नुपर्छ । गुरुहरूको आज्ञा सधै हाम्रो हितका लागि हुन्छ । हामीले गुरुहरूसँग कहिल्यै झुठ बोल्नुहुँदैन र जसले गुरुको विरुद्ध केही बोल्छ तिनको संगत गर्नुहुँदैन । गुरु भनेका ईश्वरका स्वरूप हुन् र जसले गुरुको आज्ञा मान्छ उसले ईश्वरलाई नै प्रसन्न गरिरहेको हुन्छ ।