मोटो रूख भएर पनि नहुँदो रहेछ,
झ्याङ्गिएर पातैपात भएर पनि हैन,
हाँगाबिँगाको प्रचुरताले पनि हैन,
जीवनको सार्थकताका लागि,
आफूलाई आफ्नो अस्तित्व पगालेर,
आँपको बोटले टुसुक्क मुजुरा हाल्नुमा रहेछ ।
सुन्दर कोमल पहेँला कोपिलाहरूको शृङ्खला,
अतृप्त जिजीविषाको प्रस्फुटनको कडी,
प्रकृतिको निरन्तरता नियमको रखवाला,
सम्पूर्ण शक्ति संयोजनको केन्द्रविन्दु ।
माऊ बोटलाई पनि त,
फुलेको फूलझैँ हावाको झोँकासँगै,
फूलकै लहैलहैमा,
च च है, च च है गर्दै चिच्याउन मन लाग्दो हो,
पानीको बाछिट्टामा चिचिला खिल्खिलाउँदा,
दुबै हातले टाउका माथि उचालेर,
खुसीले धपक्क बलेको अनुहार,
तृप्त मनले अपलक निहार्न मन लाग्दो हो,
पानी परेपछिको कलिलो घाममा चिचिला मुस्कुराउँदा,
बोटको अन्तरात्मा नै तृप्तिको पराकाष्ठामा,
सर्लक्क सम्पूर्ण भिज्दो हो,
छिप्पिएर पहेँलिँदै गर्दा,
आफ्नो लालनपालनको सम्पूर्ण शक्ति समेटेर,
उच्चताको शिखर चुमाउन मन लाग्दो हो,
साथै छुट्टिने सन्त्रासले आङ सिरिङ्ग सिरिङ्ग पनि त हुँदो हो,
तर,
फल पाकेर झर्दै गर्दाचाहिँ,
एकै पटक,
कलेजो चरक्क चिरिएर टुक्रेको आभासका साथै,
सफल मातृत्वको ओजस्वीताको तुष्टी पनि,
सम्पूर्ण कण कणमा हुँदो हो ।
गोविन्द प्रसाद काफ्ले,
२०७७-१२-२१
स्वआश्रम
लेखकको सम्वन्धमा