घरलाई स्वर्ग बनाउनुपर्छ रे,
फूलझैं सुवास छर्नुपर्छ रे,
हाँसेर बाँच्नुपर्छ रे ।
त्यसैले प्रयास गर्दै थिएँ,
अचानक खै केको बाढी आयो, पार्यो सबै भताभुङ्ग
अरूका त कुरै छोडौँ,
निर्वाध आकाशमा विचरण गर्ने चरीले समेत थाले ढुङ्गा हान्न ।
घर मन परेन, बगैंचा मन परेन, काम मन परेन,
'आहा!...' हुने गरेका चिज पनि कसै गरी मन परेन,
अरूका त कुरै छोडौँ,
आफूलाई आँफै मन परेन ।
शान्तिले, सुखले, मनले हुँदै छोड्यो साथ तनले पनि,
बिरक्तियो संसार सबै, हराए आशा भरोसा पनि,
कतै त्यो पखेरु प्राणले साथ छोडेको भए?????
बल्ल अनुभूत भयो जीवन, पखेरु प्राणको साहस देखेर,
अनि त, दियो बाल्न मन लाग्यो अन्तस्करणको मन्दिरमा,
बल्दै, निभ्दै, बल्दै, निभ्दै.... नबलेर सुखै पाएन ।
घर मन पर्न थाल्यो,
बगैँचा मन पर्न थाल्यो, काम मन पर्न थाल्यो ।
'आहा !' हुने चिज वस्तुले मिठो ऊर्जा दिन थाल्यो,
'सबैभन्दा बढी आँफैलाई माया गर्छु' सोंच्न थाल्दा,
आफूसँग अरू सबको माया लाग्न थाल्यो,
हो संसार साँच्चिकै सुवासित लाग्न थाल्यो,
अनि साँच्चिकै जीवन, सुन्दर लाग्न थाल्यो ।
लेखकको सम्वन्धमा