January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

पागल प्रलाप

 म फगत पागल 
 टिङ्रिङ्ग दुई खुट्टा उचालेर 
 सभ्यताको शून्यताको जडसूत्र 
 समात्दै भौतिकताको धरोहर 
 नहेर जीवन र यौवन
 किनकि 
 म पागल हुँ 
 फगत पागल। 
  
 चिच्याई चिच्याई भन्दै छु
 म पागल
 किनकि 
 ताता हिउँले डामिएका 
 निर्मल अस्मिताहरूको चिरहरण
 सहन सक्दिनँ माकुरा जालो
 ठिङ्ग झिङ्गो राष्ट्रियता तर 
 खान सक्दिनँ 
 किनकि 
 म पागल 
 फगत पागल।
 चिसो भुङ्ग्रो बोकेर हिँडिएका अग्रगमन
 शान्त ज्वारभाटाहरूको महासागर
 चिच्याइरहेका आवाजविहीनताहरू 
 छेडिँदै छन् कर्णकवचहरू 
 किनकि शून्यता मसँग बहुलाउँदै छ
 गगनको गर्जन मलिन
 ब्रह्मास्त्र भेदनले बलिष्ठ वक्षस्थल 
 निस्किँदै छ मन्दमुस्कान एक सिसिफस 
 देवत्व लतार्दै मानवता खोजेर 
 शून्य समाजको आवाज सुन्दै छु 
 एकोहोरो शङ्ख ध्वनि 
 किनकि 
 म पागल हुँ 
 फगत एक पागल।