प्रि-मनसुनको कुखुरे बैँसमा,
जो अगाडि आयो लात्तले हान्दै हिँड्छ,
कि लुसुक्क घाँसझैँ उसका सामु लत्रिनु पर्यो रे,
नत्र अगाडि उभ्भिने हिम्मत गर्नेलाईलाई त,
रुखजस्तै गरी जरैदेखि उखेलिदिन्छ, भाँचिदिन्छ,
वा त्यसको प्रयत्न गर्छ, गर्छ रे ।
केको रिस हो, केको मुर्मुर्याइँ हो,
मडारिँदै, बटारिँदै हिँड्छ,
गड्याङ्गुडुङ् गर्दै जथाभावि,
आफ्नो भाषामा आफैँले मात्र बुझ्ने गरी,
गाली गर्दै हिँड्छ,
बिच बिचमा तिरीमिरी झ्याइँ देखिने गरी,
बिजुली चम्किने गरीको घुस्सा मार्छ,
कति ठहरै हुन्छन्, कति अधमरा,
त्यतिले नपुगेर ढुङ्गामुढा गर्दै असिनाले हान्छ,
उसको पहिचान नै ‘रिसाहा’,
यही नै रहेछ, ‘भुईँ न भाँडामा’ भनेको !
‘डि एन ए टेस्ट’ गर्दा,
सूर्य र समुद्रको अंश आउँदो हो,
बुबाआमा दुवै मर्यादा परिपालनका प्रतीक,
छोरो मर्यादा मर्दनको प्रतीक,
कस्तो बिडम्बना !
बिस्तारै बैँस चढ्दै जवानीमा पदार्पण,
हाम्री धराको सुन्दरतामा मोहित हुँदै,
खन्याउँछ सारा प्रेम,
आफूलाई नै रित्याउने गरी,
त्यही उद्दण्ड प्रि-मन्सुनको
केही शान्त, सौम्य प्रारुप,
जति रिसाहा त्यति नै गहिरो प्रेमी पनि ।
बिस्तारै बैँस घट्दै जाँदा,
ऋषिमुनीको जस्तो सेतो कपाल, दाह्रीजुँगा,
रिस राग, जवानीको जोस, प्रेम,
एकातिर थन्क्याएर,
माथि धे....रै माथि पुग्छ,
उसले अब बुझेको छ,
घमन्ड गर्नु अरूको रिस गर्नु,
तल गिर्नु नै रहेछ,
माथि उठ्न त,
आफू रित्तिएरै भए पनि,
कसैप्रति समर्पित हुन सक्नुमा नै रहेछ ।
गोविन्द प्रसाद काफ्ले,
२०७८-१-५
स्वआश्रम ।
लेखकको सम्वन्धमा