April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

सामुदायिक विद्यालय अभिभावक सङ्घको साधारण सभा

चैत २१ गते शनिबार भक्तपुरस्थित सिद्ध पोखरी पार्टी प्यालेसमा सामुदायिक विद्यालय अभिभावक सङ्घको दोस्रो साधारण सभा तथा केन्द्रीय परिषद बैठक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता, प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा समुद्घाटन र म.उपाध्यक्ष सीता सुवेदीको सञ्चालनमा सम्पन्न भयो ।

सहअध्यक्ष रघुनाथ महर्जनद्वारा सम्पूर्ण सहभागीहरुलाई स्वागत गरियो भने अध्यक्ष न्यौपानेले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै अध्यक्षता ग्रहण गर्नुभयो । कार्यक्रमको समुद्घाटनसहित शुभकामना मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि नेपालले साँचो अर्थमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सबै पक्ष विद्यालयका सरोकारवालाहरुको जिम्मेवारी र दायित्व बोध गराउन सामुदायिक विद्यालय अभिभावक सङ्घ विशेष योजना र कार्यक्रमका साथ अघि बढ्न आजको कार्यक्रमलाई पूर्ण सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमको सफलताको शुभकामना दिनुहुने विशिष्ट अतिथि माननीय सांसद उमा रेग्मी, कृष्णमुरारी गौतम (चट्याङ् मास्टर), सल्लाहकार अनुपरञ्जन भट्टराई, शिक्षा समन्वय एकाइ भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, नेपाल अभिभावक सङ्घका अध्यक्ष धर्मदत्त देवकोटा, राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लगायत अन्य थुप्रै सङ्घका पदाधिकारी र अतिथिहरुद्वारा सामुदायिक विद्यालयलाई सबै प्रकारले सफल, उन्नत, गुणस्तरीय र सिपमूलक एवं प्रविधिमैत्री बनाउन सरकारलगायत सम्पूर्ण सरोकारवालाहरु सक्रिय हुनुपर्ने र त्यसका लागि सामुदायिक विद्यालय अभिभावक सङ्घले उल्लेख्य रुपमा भूमिका निभाउन सफलता प्राप्त गरोस् भन्दै आआफ्नो धारणा प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथिले सङ्घका केन्द्रीय पदाधिकारीहरुलाई फूल, माला, दोसल्ला र प्रमाणपत्र वितरण गर्नुभयो भने सङ्घका महासचिव बद्रीप्रसाद तिवारीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष कपिल बनेपालीद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन आवश्यक छलफल गरी पारित गरियो ।

सङ्घले सातै प्रदेशका सबै जिल्लाहरुमा चाँडै समिति गठन गरी भावी कार्ययोजनाका साथ सामुदायिक विद्यालय अभिभावक सङ्घको औचित्य पुष्टि गर्ने र स्थानीय तहमा समेत सङ्घको उपस्थितिलाई व्यापक बनाउने निर्णय गर्नुका साथै सबै नागरिकहरुमा शिक्षाको पहुँच सरल र सुलभ बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकार समक्ष उल्लेख्य बजेट विनियोजनका लागि प्रस्ताव पेस गर्ने निर्णय गरियो ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु एवं सम्पूर्ण सरिषद सदस्यहरुलाई धन्यवाद दिँदै कार्यक्र सम्पन्न गर्न नगद तथा भौतिक सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिँदै एवं डिनरसहितको खाजा तथा चियापानमा जिम्मेवार ढङ्गले सेवा प्रदान गर्ने कार्यक्रमका सभापति सङ्घका अध्यक्ष रामप्रसाद न्यौपाउनेद्वारा कार्यक्रम समापन गरियो ।