February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

कोट

 सिँगौरोमा झुन्डिएको एक धार्नी रफ्फु 
 उस बेला कति मूल्यवान थियो जब बा भिरेर आए । 
 अरूले लगाएको कोट हेर्ने मेरा बा 
 आज आफ्नै कोट मुसार्दै थिए, 
 मन्द मुस्कान 
 अनि तृप्त आत्मा । 
  
 कोट 
 जाडो गर्मी नमानीकन 
 झुन्डिरहन्छ, सम्भ्रान्तहरूसँग । 
 कोटको सपना 
 अजिबसँग तैरिरहन्छ 
 गरिबीका छालहरूको सुन्दर नृत्यमा। 
 अनि देखिन्छन् ती आशाका कणहरू, 
 आँखाभरि लोलाएका, 
 जब सुकिला कोटका रङहरू 
 सूर्यको किरणले फुस्रा हुन थालछन्। 
 वा 
 आकस्मात आँधी आएजस्तो बेला बेला झुल्कने, 
 फलामे किला 
 कोटमा अल्झन पुग्छ, 
 दौराको फेरमा बयरको काँडाझैँ। 
  
 त्यो हर्ष र बिस्मातको सङ्गम 
 मैले देखेको छु, 
 एक दुई पटक, 
 दिलबिरजङ्गको कालो थोत्रे कोटमा 
 अनि 
 मेरा बा को खैरो नयाँ कोटमा। 
  
 कोट भित्रिन्छ, 
 घर घरमा, रूप रूपमा। 
 कति धेरै अवतार छन् 
 वकिलको कालो कोट, 
 डाक्टरको सेतो कोट, 
 हाकिमको निलो कोट, 
 मिलिटरीको रातो कोट, 
 जादुगरको लामो कोट, 
 हेडसरको ठुलो कोट, 
 जताततै कोटैकोट। 
  
 म बुझ्न सक्दिनँ कोटको प्रयोग, 
 केपीबाले बिराटनगरको प्रचण्ड घाममा उभिएर भाषाण गर्दा 
 लगाएको सुकिलो कोट 
 अनि ताप्लेजुङबाट भाषण सुन्न झरेका खोलाघरे अन्तरे बाको मैलो रफ्फु कोट, 
 सोलुको ठन्डीमा शेर्पादाजु बडेमाको ज्याकेट लगाएर उनै बाको भाषाण सुन्दा, 
 बाको कोट जस्ताको तस्तै जिउमा राज गरिरहन्छ। 
 कोटले गर्मी नगराएको अचम्म छ। 
 अनि कोटले जाडो कटाएको देखेर उदेक लाग्छ। 
 उखुम गर्मीले गन्जी मात्र लगाउने झुसे भान्जो 
 असारमा बेहुलो हुँदा अनि बेहुली फर्काउदा कोट खोल्नै मान्दैन। 
 हाकिमका छोराको पासनीको निम्तो मान्न 
 कठमाडौँको माघे जाडोमा 
 सत्र वर्ष पुरानो बिहेको कोटमा रामु 
 आफूलाई सत्र बर्से ठिटो अनुभूति गर्दै गमक्क देखिन्छ। 
  
 साथीले बाको चालिस वर्ष पुरानो अरमानी कोट लगाएर गमक्क पर्दै आउँदा, 
 मेरा बा, 
 मेरो रफ्फु कोट लगाएर गाउमा धक्कु लगाउँदै हुन्छन्। 
 बाको कोट लगाउने र 
 बालाई कोट लगाइदिने 
 फरक सम्प्रदाय छ। 
 बाको कोटमा के छ कुन्नि ! 
 सबैले सम्झन्छन् 
 छोराले आफ्नो कोट लगाइदेओस्।