छातीमा घर र महलहरूको भारी बोक्ने
मानिसहरूले चलाएको हैकम सहने
जीवनको खुसीयाली र हर्षको पलबाट बञ्चित
म थकित, प्रदूषित र उपेक्षित
काठमाडौं बोल्दै छु।
अरण्यको जरा जराले दह्रो भएको मुटु यो
मानिसको जमात र बिल्डिङको बोझले कम्जोर भयो
स्वर्गको टुक्रा भनेर चिन्दथे मलाई पहिले
प्रदूषणको खानी भनी बुझ्दछन् मलाई अहिले ।
जवानीमा कुनैबेला म पनि थिएँ तन्दुरुस्त
दूषित हावा र पानीले भएको छु रोगग्रस्त
मृत्युको मुखमा धकेलिँदै छु, छैन आयु लामो
बाँच्ने आशा देख्दिनँ म छैन दिन लामो
म नै नरहे कुन ठाउँलाई मान्छौ राजधानी ?
म नरहे के रहला सौन्दर्यको खानी ?
मानव, तिमीले जुनी पाउलाऊ कयौँ कयौँ
तर होस गर पाउँदैनौ अर्को काठमाडौं ।
प्रतिकृया दिनुहोस्