नारी
आज घरमा तिहरझैँ झिलिमिली छाएको छ। छोरी प्रतीक्षाको १६ वर्ष पूरा भएछ। छोरीका साथीहरू पनि आएका छन्।
प्रतीक्षाको बाबा बिहानतिर मलाई भन्दै हुनुहुन्थ्यो,”मेरो साथीले हिजो साँझ छोरीलाई जानकी चोकमा एउटा केटासँग मस्किँदै गरेको देख्यो ,बुढापाकाले ठिकै भन्छन्, बतासे बैँसमा जे पनि हुनसक्छ, होस् गरौँ है !”
“कक्षाको साथी होला,सँगै घर फर्किँदा देख्नु भएको होला, बाटामा साथीसँग नबोलेर छेउका पर्खाल या रूखसँग बोल्थी?”
फेरि अच्चमित भई सोध्नुभयो,“आज घरमा छोरीले त्यो राघव साथीलाई किन बोलाएकी होली?, हेर्दै रिस उठ्छ मलाई त!”
म जबाफमा “राघव, छोरीको सहपाठी हो, मिल्ने साथी पनि हो, तपाईँ आफ्नो दिष्ट्रिकोण फेर्नुस् !” भनी टेबलमा केक मिलाउन गएँ।
आदेश दिँदै फेरि भन्नुभयो,”जमाना खराब छ, एक्लै छोरीलाई यताउति नडुल्न भन है !”
“हामीले छोरीको सुरक्षा भन्दा नि, उनीहरूको स्वतन्त्रताको रक्षा गरिदिए पुग्छ, बुझ्नु भो!”
झम्मक साँझ परेको थियो। हामी तयारी गर्दागर्दै बिचमै बती गयो। बाहिर हावा चल्दै थियो, बादल पनि लागेको थियो ।
कुलमान काका गाएसि बती नि धेरै जान थालेछ भनी, प्रतीक्षाले ठट्टा गरिन्।
मैले एउटा मैनबत्ती बालेर टेबलमा राखेँ। म, छोरी प्रतीक्षा र उसको साथी राघव टेबलको चारैतिर कुर्सीमा बस्यौँ।
प्रतीक्षा !
म पनि जीवनको समय-चक्रको यही पडावमा थिएँ, तिमी १२ मा पढ्दै छौ, पहिले पढाइ ढिलो सुरु हुने गर्थ्यो। त्यसैले मैले भर्खर कक्षा १० पास गरेकी थिएँ। म जहिले घर फर्किँदा कक्षामा नबुझेको कुरा, बाटोमा मेरै कक्षाको प्रथम विद्यार्थीलाई सोध्ने गर्थें।
“आरोही! बिदा भइसक्यो खुरुक्क घर जाऊ, बाटोमा धेरै नअल्झ है !”, भनी विज्ञान पढाउने सरल भन्नुहुन्थ्यो। बाबाको आत्मीय साथी भएर मेरो चिन्ता लागेको होला सोच्ने गर्थे।
मैले एसएलसीमा चौथों स्थान हाँसिल गरेकी थिएँ, यो खबरले म भन्दा नि औधी खुसी बाबा हुनु हुन्थ्यो !
प्रमाण-पत्र लिन स्कुल गएको दिन मैले त्यही साथीसँग,”कलेजमा कुन-कुन विषय पढाइ हुन्छ, राम्रा कलेज कहाँ छन्?” यी कुरा गर्दै थियौं,
सरले मलाई हप्काएर ,”घर जाऊ,केटाहरूसँग धेरै बोल्नु पर्दैन,बुझ्यौ!”भन्नु भयो,
मैले ठम्याउन सकिनँ, किन त्यस्तो भन्नुभयो?
म घर पुग्नुभन्दा पहिले नै सर मेरो घर पुगिसक्नुभएको थियो।
घाटीँमा झुन्डिएको माला र निधारको रातो टीकामा बाबाको नजर जाँदा मुहारमा मन्द मुस्कान त छाएको थियो तर निधारको पसिनाले बाबालाई केही कुराले चिन्तित पारेको मैले चाल पाइहाले। म आफ्नो कोठामा पस्दा आमालाई ढोकानिर सबै कुरा सुनिरहेको देखेँ। एकछिनपछि सर आँगनबाट जानुभयो।
म आफ्नो कोठाबाट लुगा फेरेर आउदाँ, आमाले माथिबाट तलसम्म नजर दौडाई भन्नुभयो,
“छोरी तेरो पढाइ पनि पूरा भयो, पुराना लुगाहरू सब सानो भैसक्यो, कुर्ती-सुरवाल लाउने दिन गयो,
रातो सारी, रातो चुरा लगाउने दिन नजिकिँदै छ,
हातमा मेहन्दी,जिउमा हल्दी दल्ने दिन नजिकिँदै छ,
मलाई खै किन हो किन, आमाको कुरा सुनेर उभिन पनि अप्ठ्यारो लागिरहेको थियो, लाजले मुख तल गरेँ।
अँगालो हाल्दै आमाले थप्नुभयो,
”हेर त बिहेको कुरा सुन्दा कसरी भुतुक्क भएकी!
नजिकैको गाउँको जमिन्दारको एक्लो छोरासँग तिम्रो बिहेको कुरो चल्दै छ। ११ किलासमा पढ्दै छ रे, सुखिसम्पन्न परिवार छ रे ! रानी बनेर राज गर्ली मेरी छोरी !”
मभन्दा बढी मेरो चाहनाहरूको खबर परिवार-समाजलाई रहेछ, यो कुराले म अचाम्मित भएकी थिएँ।
१६ बर्से यौवन, त्यो वसन्त नौलो थियो, हरेक चिज प्यारो लाग्न थालेको थियो,
वसन्तमा कोइलीसंगै गीत गाउन चाहन्थेँ,
साउने मनसुनी वर्षामा नुहाउन चाहन्थेँ,
हावाकै बेगमा कपाल खोली उड्न चाहन्थेँ,
पुतलीसँग बगैँचामा दौडन चाहन्थेँ,
नदीको प्रवेगमा माछाझैँ पौडन चाहन्थेँ
प्रेम बन्धन हो कि मुक्ति ?
आफ्नै हृदयको धड्कनलाई सोध्न चाहन्थेँ
आफूलाई आफैभित्र खोज्न चाहन्थेँ
यौवनको इच्छारूपी लहरका छालहरूले होला म बिहेको कुरा चल्दा एक छिन् लाजले भुतुक्कै भएकी थिएँ।
वसन्त ऋतुमा नयाँ पालुवाहरू माझ एउटी मुना फक्रिन नपाउँदै, कसरी सुवास सर्वत्र छरियो मैले ठम्याउन सकिनँ। आफ्नो कलेज पढ्ने सपना आसुँसँगै बगिरहेको सम्झिँदा मेरो मनमा चिसो पस्यो।
“बाबा म पढ्न चाहन्छु ,अहिले बिहे गर्दिनँ”।
“छोरी ! गाउँमा उच्च शिक्षाको लागि कलेज छैन ” बाबाले शिर निहुराई जवाब दिनुभयो।
मैले बाबामाथिको समाजिक दबाब र उहाँको विवसता सम्झेर आसुँ थाम्न नसकेर आफ्नो कोठातिर दौडेँ। आसुँको रङ्ग हुदैन् तैपनि किन यस्ले हमीलाई रङ्गाइदिन्छ? माइती सम्बन्ध तोडेर, ससुराली जोडिदिन्छ?
मुना फूल बनी फक्रिन नपाउँदै यता मालीसँग सम्झौता हुदैँ गरेको देख्दा, मन शून्य भएको थियो।
आमा,”छोरीलाई सहर एक्लै पठाउनु पर्दैन, जवान केटी खुल्ला तिजोरीझैं हुन्छन्, बुझ्नु भो ! यदि पढ्ने नै हो भने बिहेपछी पढ्न कसैले रोक्या छ र।”
एक छिन् पछि बाबा मेरो कोठा आउनुभयो र भित्तामा झुन्डिएको मेडल हेर्दै भन्नुभयो,”छोरी चिन्ता नलेऊ, म दुलहा-पक्षसँग तिम्रो कलेजमा भर्ना गराइदिने सर्त राख्छु, दाइजो पनि धेरै मागेका छैनन्, ज्वाइँसाब पनि आफै पढ्दै हुनुहुन्छ, मान्नुहुन्छ होला!”
बिहेपछि ससुरालीमा आएपछि केही दिन त सबले आदर सत्कार गरे, रानीझैँ सम्मान गरे। तर किन हो किन मेरा सपनाहरूले मलाई छोडेनन् ,मैले सासू-ससुरासँग आफ्नो पढाइको कुरा राखेँ। मेरो निरन्तरको जिद्दिले गर्दा उहाँहरू राजी हुनुभयो। जनकपुरमा म बाआमासँग भेट्न पाउथेँ । यस कारणले ससुराली र माइतीभन्दा धेरै टाढा पटना कलेजमा भर्ना गराइदिनुभयो। परिवेश फरक थियो, मेरो पहिरन पनि अरुभन्दा भिन्न। कालेजमा पहिलो दिन जाँदा, धेरैले “कनिया” भनी जिस्काउन थाले। म कसैसँग राम्ररी बोल्ने गर्थिनँ ,मलाई घरको सारै याद आइरहन्थ्यो।
सासूमा बिरामी हुँदा म धेरैजसो ससुराली गाउँ नै बस्नुपर्थ्यो। म जाचँ दिनलाई मात्रै कलेज पुग्थेँ। त्यति बेला त झन् इन्टरनेट पनि थिएन, आफ्नै पुराना नोट र ४-५ ओटा किताब पढेकै भरमा कक्षा ११ जाचँ दिएँ।
१२ को वार्षिक जाँचका लागि ठिक एक हप्ता बाकीँ थियो, मेरो स्वास्थ्य बेग्रेको कारण अस्पताल भर्ना हुनुपर्यो। साउनको महिना थियो । बाहिर काला बादलहरूको टकरावमा मेरो क्रन्दन मिसिएर होला न माथिको दैवले न त मेरो आफन्तहरूले सुने, आखाँबाट बगेको आसुँलाई त पुछ्न् सके तर, वर्षाको पानीमा मिसिँदै गरेको रगतलाई मैले रोक्न सकिनँ, बेहोसिँएँ!
प्रतीक्षा ! तिम्रो हजुरबाले त आफ्नो नातिको नाम पनि सोचिसकेका रहेछन्, ५ घन्टे प्रसव-पीडापछि ,तिम्रो गुडिया दिदीको जन्म भयो। होस आउँदा, आमा बनेको सुखले सब पीडा शून्य भएको थियो।
दिन बित्दै गयो, छोरीको रेख-देख तिम्री हजुरआमाले गर्न थालिन्। बाबाले मलाई मायाले गुडिया नामले बोलाउनुहुन्थ्यो, त्यसैले तिम्रो दिदीको नाम नि मैले गुडिया राखिदिएँ, नाम त्यही पाए नि तिम्री दिदीले बाबा र हजुरबाको उस्तै माया पाइनन्। हजुरबाको नाति खेलाउने सपना पूरा नभएर होला, न मसँग राम्ररी बोल्नुहुन्थ्यो न गुडियालाई काँखमा समाउनुहुन्थ्यो।
मैले १२ को जाचँ फेरि दिने निर्णय गरेँ। म राती घरको सब काम-काज सकाएर पढ्नका लागि समय निकाल्थेँ। सोचाइ र गराइ फरक रैछ । मैले त्यो जाचँको दिन बुझेँ, काँखमा बाच्चा समाई लेख्न कति गाह्रो भएको थियो, म बयान गर्न असमर्थ छु। मेरो देब्रे हात १ महिनासम्म सुनिएको थियो !
मेरो नतिजा निस्केकै दिन तिम्रो मोती दिदीको जन्मभयो। म प्रथम श्रेणीमा पास भएको कुरा थाहा पाएँ। मोती २६ दिनकी हुँदा म आफ्नो प्रमाणपत्र लिन पटना गएँ, त्यहीँ स्नातक तहमा भर्ना गराएँ, नियमित कक्षाहरू लिन नभ्याए पनी जाँच दिन गइराख्थेँ।
दुई छोरी पाएसि ससुरालीमा राम्ररी स्याहार गर्न नभ्याएर म माइती गाउँ फर्केँ। मलाई पैसाको खाँचो थियो । जागिर खोज्न थालेँ, सरकारी स्कुलमा शिक्षक पदको लागि आवेदन दिएँ, लिखितमा पास भएपा नि , पहुँचको आधारमा अर्काले जागिर पायो, छोरीलाई भन्दा नि बुहारीलाई जागिर दिनुपर्छ भनी गाउँलेहरूले चलखेल गरे । जसले मेरै आगाडि टेन्स (काल) भनेको शत्रु हो भनेको थियो त्यसलाई जागिर दिइयो। जनकपुरमा जागिरका लागि कयौँ संस्थाहरूमा फारम भरेँ, प्राय संस्थाहरूमा राजनीतीकरणले गर्दा पहुँचका मान्छेले मात्रै जागिर पाए।
म निरास भई रोएको देख्दा बुवाले भन्नु भयो,”छोरी जीवानमा जहिले पनि ३ कुरा- इच्छा ,आस्था र उम्मिद” भएसि आज तिम्रो लक्ष्य पूरा नभए नि कुनै न कुनै दिन पक्का पूरा हुने छ। जसरी माछाहरू पानीको बहाबको विपरीत दिशामा पौडिदै अगाडि बढ्छन् , त्यसरी नै समाजमा आलोचना, बन्धनहरूलाई पछि पार्दै अगाडि बढ्नुपर्छ।”
मैले माइतीमै एक वर्ष कहीँ नगई लोकसेवाको तयारी गरेँ, जाचँ दिएँ, दिएका प्राय लिखित जाचँहरूमा पास भएँ, सुरुमा करारमा काम गरेँ, मेरो १ वर्षपछि करारको जागिर कृषि विकास बेंकमा स्थायी भयो । यो खबरले बाबा धेरै खुसी हुनुभएको थियो।
एक महिनापछि म नियमित कार्यालय जानुपर्ने थियो, म ससुराली आई जनकपुर बसाइँ सर्नलाई सब सामान मिलाईरहेकी थिएँ।
बाहिर आँगनमा भएको झगडाले मेरो ध्यान तान्यो।
हजुरबा तिम्रो बुवा लाई भनिरख्नु भाथ्यो, घरको इज्जत बाहिर गएसि समाजले के भन्लान् ? सिरमाथि घुम्टो पनि ओढ्दिन तेरी स्वास्नीले, घरभित्रै बस्न भन्, गर्नु पर्दैन बैङ्कमा गुलामी !
यदि जागिर खानै मन छ भने पहिले यो घर बिर्सिन भन्दे,मैले तेरो लागि केटी खोजिसक्याछु ।
मेरो बंश बिनाश हुनलागिसक्यो, के रहला र मर्द जमिन्दारको इज्जत!”
सहन नसकेर मैले भनिदिएँ,” तपाईँको छोरा नेताको अगाडि पछाडि रक्सी र मासुकै भरमा दौडिरहँदा,के तपाईँको इज्जत बढिरहेको छ ?
आफ्नो छोरालाई मर्द बन्नुभन्दा पहिले मान्छे बन्न सिकाउनुस् जमिन्दारज्यू !”
“सम्झा आफ्नी बुढीलाई, ठुलाबडासँग कसरी बोल्छन् , सिकाएका छैनन् माइतीमा !
डढेको कोइला जिब्रोमा पोखिदिन्छु है, धेरै चल्न थालेछ जिब्रो यसको !”, सासूमा दाँत पिस्दै कराइन् ।
हात तानेर तिम्रो बुवाले कोठामा लग्नुभो, अनि बज्रिए थपडहरू । मन्दिरमा घण्टीको ध्वनी झैँ कान सुन्न भयो…
हप्तौसम्म न राम्ररी सुन्न, न हेर्न न बोल्न सक्थेँ। घरकै चार पर्खालभित्र कैद रहे, हातका चुरा कैदीको हत्कडीझैँ लाग्थ्यो, पाउका पायलको ध्वनिले कान चिरेझैँ हुन्थ्यो। तिम्रा बुवा र मबिचको मौनताले हामी बिचको प्रेमलाई मौन बनाउँदै थियो। म साडीलाई फाँसिको फन्दा बनाएर झुन्डिदिन मन भइरहे थ्यो तर आफ्नो भन्दा नि आफ्ना सन्तानको माया मेरो बाँच्ने प्रेरणा बन्यो।
मेरो कार्यालय पुग्नु पर्ने दिन नजिकिदै थियो, तिम्रा बुवाले सोध्नुभयो,
“घरका सब बिरोध गरिरहेछन्, जागिर नगर न ,
यति जमिन छँदै छ, हाम्रो परिवारमा केको कमी छ र ?
“चेतनाको! स्वतन्त्राको!
सास फुल्छ मेरो यहाँ
मलाई धनसम्पति जोड्नु छैन,
एउटै लक्ष्य छ, स्वतन्त्र रूपले काम गरूँ, आत्मनिर्भर बनूँ !
आफ्ना छोरीहरूलाई पढाऊँ !”
“परिवार त्याग या जागिर छोड् …”
“म न त जागिर छोड्छु न तपाईंलाई ….!”
तिम्रो बाबाले वर्षौपछि मेरा आसुँ पुछदै,अँगालोमा बेर्नुभो र रुँदै भन्नुभो, “बच्चा न कराए सम्म त आमाले दुध चुसाउदैन्न, तिम्ले नखोसे के यो समाजले तिम्रा आधिकार त्यतिकै देला? तिमीलाई कसैले रोक्दैन, म भोलि जनकपुर पुर्याइदिने छु !”
भोलिपल्ट मलाई बसबिसौनीसम्म तिम्रा बाबा छोड्न आउनुभयो । तिम्री हजुरमा पछाडि-पछाडि दौडँदै रुँदै आइन् र आफ्नो ब्यथा पोखिन्,
”मलाई आफ्नो अस्तित्व था छैन, जीवनभर घरकै काम गरेँ, परिवारका सपनाहरूलाई आफ्ना ठानेँ तर आज आफ्नो नाम र उमेरसमेत थाहा पाउन वृद्धा पेन्सन पाइने दिन कुर्नुपर्छ…”
घरपरिवारमा प्राय महिलाबाट पनि महिला सोशित हुन् पुगछन्, मलाई माफ गरिदेऊ बुहारी !”
गहभरि आँसु र भारी मनले बसभित्र पसेँ। झ्यालबाहिर टाउँको निकाली बाँधिएका कपाल खोलेर लामो सास फेरेँ , सूर्य किरणमा बेग्लै जादु थियो। स्वतन्त्र चरीझैँ उडेको आभास भयो।
म जनकपुरमै बस्न थाले । एक वर्षपछि छोरी, तिम्रो जन्म भयो । मैले पटनाबाट स्नातक पास गरेँ अनि फेरि जनकपुरमै स्नातकोत्तरसम्मको पढाइ पूरा गरेँ। लेखापाल/खरिदारबाट सुरु गरेको जागिरमा आहिले क्षेत्रीय व्यवस्थापक पदमा कार्यरत छु।
राघव,” प्राय भन्छन् हरेक पुरुषको सफलतामा एउटा नारीको मूल योगदान हुन्छ, तपाईँको सफलतामा कस्को योगदान छ?
“मेरी प्यारी छोरी प्रतीक्षाको !
मली जाहिले पढ्नलाई प्रोत्साहित गर्थिन्! छोरी पढ्थिन् अनि म सुन्थेँ र जाँच दिनेगर्थे। ”
प्रतीक्षा,”आमा तपाईँले अब विद्याबारीधि पनि गर्नुपर्छ है, मोती दिदी मुम्बईबाट एम्.बी.ए को पढाइ पूरा गरेर आइसकेपछि!”
“ए त्यसो पो, तिम्रालागि पनि मैले नै पढ्दिनुपर्यो ,छोरी प्रतीक्षा !”
हाँस्दै राघवले सोध्यो,”आहिले आन्टीको मासिक तलब कति होला?”
प्रतीक्षा, तिम्रो साथीलई थाहा छैन?, आइमाईको उमेर होस् या जागिरको तलब, सोध्नु हुन्न के !
हामी सब जना एकछिन् हाँस्दै गर्दा बती पनि आयो ,पानि परेर होला हल्का चिसो पनि बढेको थियो, बाहिर मौसम सफा भएको थियो।
“आमा तापाईको मेल आएको छ, तपाईँलाई केन्द्रीय प्रमुख वय्वस्थापक बन्ने प्रस्ताव आएको छ!”,भन्दै छोरी प्रतीक्षा उफ्रिन् ।
“केन्द्री प्रमुख पछि बनौँला, पहिले केक काट है छोरी, मलाई भोक लागिसक्यो !”
आराव,”तपाईँहरू यता उभिनुस्, म फोटो खिचदिन्छु!”
“बाबु, तिमी पनि त परिवारकै सदस्यजस्तै छौ, मुहार खुम्चाई फोटो खिच्ने जमाना छ रे, एउटा सेल्फी नै लिऊँ है !”
लेखकको सम्वन्धमा