बुढौती
सदा कहालीलाग्दो आर्थिक उपार्जनको,
निसास्सिँदो खटनपटनलाई,
केही पन्छाउँदै, केही झट्कार्दै,
केही मुसार्दै, केही पुच्कार्दै,
एउटा निश्वास लिएर आउँदो रहेछ बुढौती ।
काठमाडौँ उपत्यकाको प्रदूषणलाई,
चटक्क छाडेर शिवपुरीको डाँडामा,
निर्मल हावा फोक्सोभरि भित्र्याएजस्तै,
आँखा चिम्म गरेर चिसो, शुद्ध प्राणवायु,
मनभरि, पेटभरि पुर्याएजस्तै,
दशकौँदेखि भोकाएर टाक्सिएको पेट,
भरपेट खान पाएर,
पुटुक्क निस्किएजस्तै,
क्यान्सर रोगीलाई निको भएको खबरजस्तै,
उल्लास लिएर आउँदोरहेछ बुढौती ।
अतीतका मिठा सम्झनाका पोका फुकाउँदै,
मिठो व्यञ्जन भएको टपरीवरिपरि उर्वशी आएर नाचेजस्तै,
रम्दै, नाच्दै, अन्तस्करणदेखि नै हाँस्दै, हँसाउँदै,
बालापनको उल्लास, जिज्ञासा र जवानीको जोशलाई,
बुढेसकालको होसले समेट्दै आउँदोरहेछ बुढौती ।
शारीरिक शक्ति, रूप, धन तथा ओहदाजस्ता,
बाह्य आडम्वरले नाता तोडिसकेको,
केबल र केबल आफ्ना गुण र दोषका
आधारको चिनारी,
मान्छेलाई ‘आफू’ बनाएर,
वास्तविक पहिचान गराउँदोरहेछ बुढौती ।
विशुद्ध एउटा मानव मात्रको चिनारी,
नाति नातिनीको रूपमा आफ्नै बालापन,
छोराछोरीको रूपमा आफ्नै जवानी,
तथा आफ्नै बुढौतीको कक्टेल सम्मिश्रणको ‘देजा भू’ मा,
बुढेसकालमा मात्र ‘पूर्ण जीवन’ जिउँदोरहेछ मानव,
त्यसैले,
जीवनको सम्पूर्णता लिएर आउँदोरहेछ बुढौती,
स्वर्णिम समय लिएर आउँदोरहेछ बुढौती ।
कटुताका धेरै वृतान्तको विस्मरण,
तेरो मेरोसँग अलिक पर पुगेको नाताको आवस्था,
आफ्नो दु:ख सुखसँगको आफैँ भागिदार,
मानवलाई ‘अकबरी सुन’ बनाउन पो आउँदोरहेछ बुढौती ।
केही हिँडडुल, अलिक बढी आध्यात्म चिन्तन,
सामाजिक उत्थानका चिन्तन तथा कार्य,
अन्तिमतिर स्वार्थ तर त्यसको मात्रा धेरै कम लिएर,
आफ्ना र पराई छुट्याउने अनुभवको कसी पन्छाउँदै,
पकृतिसँग सबैभन्दा नजिक,
अनि आफ्नो अन्तिम गन्तव्यतर्फ सचेत गराउँदै,
आउँदोरहेछ बुढौती ।
मान्छेलाई विशुद्ध मान्छे बनाउन पो आउँदोरहेछ बुढौती ।
जिन्दगीको भागदौड, आपाधापी बिसाएर,
केही नितान्त आफ्नै लागि पनि समय र सोचाइ,
राख्न तथा साँच्न उक्साउँदो रहेछ बुढौती ।
यसरी,
कसैलाई स्वच्छ र निर्मल बनाउँदोरहेछ,
कसैलाई आफ्नै पिरोले
चाउरिने मरिच पनि बनाउँदोरहेछ बुढौती ।
१० फागुन, २०७७ स्वआश्रम ।
लेखकको सम्वन्धमा