February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

बालक्रीडाको सम्झना

  आँधी तुफानले बढिरहेको,
 उनीहरूको ऊर्जापुञ्ज शरीर वनको हरियो मखमली गलैँचाभित्र विलुप्त हुन्छ,
 सुलुलुलु दलदलमा जनावर पसेजस्तै,
 सात आठ जना लगभग समवयस्क घामले तपित धुल–धुसरित केटाहरू !
 त्यत्रो शक्ति समेट्ने सामथ्र्य खै कहाँवाट आउँछ वनमा पनि ?
 या त प्रकृतिआमाको काखमा उनीहरू नै लुसुक्क लुट्पुटिन्छन्,
 किंवा लट्ठिन्छन् ठिटाहरू आफैँ, वनको मादक उन्मादमा ।
  
 यस्तो भव्य राजकीय स्वागतका अगाडि,
 शायद केटाहरूको सास माथिको माथि, 
 तलको तलै भयो कि ?
 स्वागत वाद्यवादन सुरु ग¥यो झ्याउँकिरीले,
 ‘झ्याईँ झ्याईँ झ्याईं.....ईंय, झ्याईँ झ्याईँ झ्याईं.....ईंय’,
 उनीहरूले यस वादनका लागि अथक अभ्यास गरेकै हुनुपर्छ,
 कहीँ एक निमेषको पनि तलमाथि छैन, पूर्ण समकालिक, 
 सुर, ताल, लय त तानसेनलाई नै आश्चर्यचकित पार्ने, ईश्र्या हुने ।
 प्रश्नोत्तर शैलीमा– ‘गोठ को छ ?.... पाडा बाच्छा’,
 तबल्ची कोइली बिच बिचमा तबलाको ताल ठोक्दै अझ जोस्याउँछ,
 नेपथ्यबाट मादल घन्केको आवाज आउँछ ‘काफल पाक्यो .....काफल पाक्यो’ ।
 यता कठफोडुवाले सुकेको रूखमा आफ्नो ठुँड ठोक्दै साहित्यिक पहेली फ्याँक्छ
 ठक् ठक् ...ठक् ठक् ठक्.... ठक् ठक् ठक्... ठक् ठक् ठः
 यसको सहि अर्थ भन्ने कोहि छ ?
 उता मयूरले आफ्नो आसन्न नाचको बिगुल फुकिसक्योे,
 ‘क्वाँ...........क्वाँ.........क्वाँ..........,,’
 उसको स्वर जति कर्कश, नाच त्यति नै उत्कृष्ट छ,
 उसको नाच हेर्ने मात्र हुँदै हैन, एहसास गर्ने हो,
 न गुरु न दीक्षा, न क्लास न पूर्वाभ्यास,
 प्राकृतिक रङ्गमञ्चको एकल नाट्यकार, कलाकार र निर्देशक पनि,
 अलिखित शृङ्गार रसमय महाकाव्यको नाट्य संस्करणको सटीक मञ्चन,
 रत्तिभर फरक छैन,
 उसका प्रत्येक पाइला प्रेयसीप्रतिको पूर्ण समर्पणको प्रतीक,
 नाचका चालका आरोह अवरोह, उठान र उत्कर्ष,
 ताल लय र अलङ्कारको नाट्य संयोजनको अप्रतिम नमुना ।
  
 सोह्र शृङ्गारयुक्त प्रकृति, 
 आफैँ उपस्थित छिन् मिठो मुस्कानसहित,
 लालुपातेको लाली, पातको हरियाली,
 सुनचरीको झकिझकाउ स्वर्णगहना,
 निधारमा सिँदुरेको ठुलो टिका र सिउँदोमा सिँदुर,
 विभिन्न फलपूmलको रङगोली,
 र चौरासी व्यञ्जनको बोकी कोसेली,
 स्वागतार्थ आफ्ना प्रिय नटखट फुच्चे आगन्तुकहरूको ।
 जामुनु, क्यामुनु, कुसुम, खनिउँ, काँडे अम्बक,
 वनसुन्तला, पानीगोल, अँगेरी, निभारो, बयर,  
 यता छन्...चटनी अमिला... तित्री, अड्चलको पात, टाँटरी र अमला,
 तर नटोक्नु है टाँटरी दोहो¥याएर, 
 कोक्याएर होला लोभले लाभ, लाभले विलाप !
 तिर्खा लाग्यो...पानीअमला खाऊ,
 वा जडेलोको एउटै लहरा काटेर,
 शुद्ध पानी एक दुई लिटर निकाल्नु,
 तर नखानू है झिलमिलिया खोलाको फोहरी पानी ।
 अघाएपछि त्यो देब्रे लहरो,
 साल रूखलाई गम्ल्याङ्ग अँगालो हालेर टुप्पोसम्मै लपक्कै छ,
 पिङ खेल्न बलिया छन् त्यसका शाखा लहरा,
 ‘टार्जन’ बनाओ एकै छिन आफूलाई,
 तर याद राख नपुगोस् नि उनीहरूको प्रेममा खलल !
 फलफूल केही बढी भएर पेटले निहुँ खोजे,
 नबिर्सनू हर्रो र बर्रोलाई पनि मक्मक्याउन ।
 घरमा मोरङ्गे र निगुरोको साग,
 अनि कुकुरडाइनुको ठोसाले तिमीहरूको भान्सामा 
 ठाउँ पाओस्, मेरो कोसेलीका रूपमा ।
  
 यसरी उदारमना प्रकृतिको काखमा लुट्पुटिँदै,
 र आँचलमा सारा समय खानपिन र धमाचौकडीमा बिताएर,
 रित्तिएको ऊर्जा तर प्रफुल्लताले भरिएको मन बोकी,
 रूखमा सुरेली खेल्दा कहीँ कहीँ हात र घुँडामा खुइलिएका छाला लिई,
 स्कुलको दुई महिने वर्से बिदामध्येको कुनै एक दिन बिताएर,
 पुनः तीन दिनपछि त्यहीँ फर्कने मनमनै बाचा गर्दै,
 गरुङगो तर आल्हादित मन लिई फिरे ठिटाहरू,
 किन कि,
 उता मेचीमा बाढी आएको छ,
 यसपालि बहुलाएको छ रे मेची,
 झन्डै एक किलोमिटरको चौडाइ, र बगाइका तीव्र वेगले,
 कहिलेकाहीँ घरका खाँवा, छाना र मरेका मान्छेसँग पनि जम्काभेट हुन्छ रे,
 भोलि त त्यहाँ हेलि नै प¥यो,
 भलै भुमरीमा परी, नाकबाट पानी सर्किओस्,
 धमिलो पानी पेटमा पुगोस्, कानमा पानी परेर सुन्न गाह्रो होओस्,
 या लेदोसहितको पानी पसेर पाकेका गोलभेँडा होउन् आँखा,
 चिन्ता नास्ति,
 हेलिनु छ भनेपछि हेलिनु नै छ, 
 झन्डै तीन किलोमिटर उँधो हुत्याए पनि पारी तर्नै छ,
 थाहा छ, पारी पुग्दा खुट्टा थाकेर लगलग काम्ने भैसकेका हुने छन्, 
 शरीर थिगि¥याएर उभ्याउन पनि गाह्रो हुने छ,
 किन हेलिनु प¥यो ज्यान जोखिम पारेर,
 थाहा छैन, तर गर्नुचाहिँ छ छ,
 अहङ्कारको तुष्टि किंवा अदम्य साहसको चुनौतीको पारख ?
 माथि आएर फेरि वारी तर्नैेै प¥यो,
 एककुन्द्रो मेट्न कम्तीमा दोस्रो पटक त पारी हान्निनै प¥यो,
 यसरी भोलिको पूरै दिन मेचीको भेललाई समर्पित ।
  
 पर्सि वरिपरिका चार पाँच आँप बगैँचाको लोभ्याइमा,
 पाकेर पँहेलपुर,
 सूर्यपुडी, बम्बै, मालदह, लङ्गडा, सिँदुरे, सुपारे, लोहोरे आदि जातका आँप,
 लिची, गुलावजामुन, बेल, कटहर, 
 एक दिनको द्रुत पैदल दौडाइ, 
 गणना नभएको म्याराथुन रेस ।
 एउटा बगैँचाबाहेकमा छैन बारबेर वा हेरालु,
 लाग्छ उनीहरूलाई धेरै दुःखमनाउ छैन, अर्काले खाइदिएकोमा, 
 एउटामा त बगैँचाधनी आफैँ बसी,
 खुवाउँथे काटेर आँप मिठा मिठा ।
  
 तेस्रो दिनपश्चात् पुनरावृत्ति यी तीन दिनको,
 मेचीमा बाढी नआए,
 'अड्को पड्को तेलको धूप’ गर्धनकट्टा र आफ्नै धरधरिया पोखरीहरूको,
 पोखरीमा केही बदलिँदो खेलको शैली, 
 बेलुकीसम्म भुइँ नछोई पौडने असली विजेता !
 सुन्दर शान्त झापा महेशपुरको सुरम्य दिनचर्या !
  
 झन्डै चार दशकपश्चात्,
 कसैले पुनर्मिलनको साइत जुराइदियो एक बृद्धसँग,
 उनै आँप काटेर ख्वाउने रहेछन्,
 भेटेर चिन्नासाथ खुब हाँस्यौँ, मरी मरी हाँस्यौँ,
 पेट मिची मिची बाउँडिन्जेल हाँस्यौँ,
 आँखावाट तर्तरी आँसु आउन्जेल हाँस्यौँ
 मुख तातो भएर रातो हुन्जेल हाँस्यौँ ।
 त्यसरी किन हाँस्यौँ,
 हाम्रो सम्बन्ध आँप खाने र खुवाउने मात्र नभई,
 त्यस प्रकृयामा भएको रहेछ,
 आत्मियताको मूक आदानप्रदान पनि,
 नजान्दा नजान्दै हामी बाँधिएका रहेछौँ,
 एक आज्ञात प्रेमपाशमा ।
  
 बुढाले भन्न भ्याए
 ती सबै आँपका बोट काटेर ईँटाभट्टा पोल्न दियौँ,
 नयाँ लगाएको छ, तारबार छ,
 भुईँमा लत्रिने गरी फल्छन्,
 मुजुरा लाग्नासाथ बोटैको दाम लगाउन आइपुग्छन् व्यापारी,
 आफ्नै हेरालु राख्छन्, छिरिक्क कसैलाई छिर्नसम्म दिँदैनन्,
 हामीलाई पनि धे......रै पैसा आउँछ, 
 तर प्रसन्नताको, खुसीको अनुभूति पटक्कै आउँदैन बाबु !
  
 उतिबेला तिमीहरू आउँछौ भनेर, 
 किन हो किन,
 मिठा मिठा आँप छानेर बाटो हेरेर बस्थ्यौँ,
 थाहा छ, मलाई,
 तिमीहरूको बारीमा पनि फलफुलका बोट प्रशस्तै थिए,
 हाम्रामा आउनुपर्ने नै होइन,
 शायद तिम्रा बुबा आमाले अर्कालाई खुवाउनुहुन्थ्यो होला,
 हामी तिमीहरूलाई ।
 खाइदिएकामा अपार हर्ष लाग्थ्यो,
 पछि, तिमीहरू कता पढ्न गयौ रे, आउन छाड्यौ,
 बगैँचा नै शून्य भयो, फल्नुको सार नै गयो,
 लाग्यो हामीसँगै बगैँचा पनि दुःखी छ,
 असली खुसी लिनमा हैन, दिनमा रहेछ बाबु !
  
 ती अनपढ बिद्वान् राजबंशीले,
 हामीजस्ता पढेलेखेका मूर्खलाई,
 जीवनदर्शन नै पढाए, साधारण शब्दमा साधारण अर्थमा,
 हिजोआज आधुनिक आर्थिक धरापमा परी, 
 बिर्सियौँ सतकौँदेखि चलेका प्रचलन,
 कतिपय चलन त पासो लगाएर मरिसके,
 कुनै रुँदै होलान् सुँक्क सुँक्क गर्दै कुना पसेर ।)
 गोविन्दप्रसाद काफ्ले
 २४ पौष, २०७७,
 स्वआश्रम ।