फुलेर हाँस्छ फूल त्यो, भुलेर दुःख हाँस्दछ
जिएर हाँस्छ जिन्दगी, मरेर मृत्यु बाँच्दछ
उडेर हाँस्छ नीर यो, डुबेर मत्स्य हाँस्दछ
जलेर हाँस्छ दीप यो, चलेर पाउ नाच्दछ ।
गढेर हाँस्छ वृक्ष यो, पढेर हाँस्छ पुस्तक
लुकेर हाँस्छ बैँस यो , झुकेर हाँस्छ मस्तक
बलेर हाँस्छ अग्नि यो, फलेर बोट बाँच्दछ
खुलेर हाँस्छ भावना, घुलेर रङ्ग जँच्दछ ।
बहेर हाँस्छ वायु यो, सहेर हाँस्छ निर्बल
कहेर हाँस्छ दुर्मुखा, डढेर हाँस्छ निर्जल
चढेर हाँस्छ तामसी, जडेर हार खुल्दछ
बढेर हाँस्छ गण्डकी,सडेर कर्म भुल्दछ ।
पिएर हाँस्छ मद्य यो, लिएर हाँस्छ बैगुनी
सुनेर हाँस्छ गीत त्यो, गुनेर हाँस्छ मै हुँ नि
डसेर हाँस्छ साँप त्यो,बसेर सोम छर्नु छ
घसेर हाँस्छ भस्म त्यो, कसेर आत्म चर्नु छ ।
सिएर हाँस्छ सूचि त्यो, दिएर हाँस्छ सेवक
खिएर हाँस्छ दन्तिका, छरेर हाँस्छ सेचक
भरेर हाँस्छ चन्द्रिका, गरेर धर्म बाँच्नु छ
भिरेर हाँस्छ बन्दुके, चिरेर युद्ध छाड्नु छ ।
पञ्चचामर छन्द
लेखकको सम्वन्धमा