हिजो साँझ
एउटा बटुवा मेरामा सुटुक्क आएर
मनै कुटुक्क पार्ने गरी भन्दै थिए
“तिम्रो देशका टुँडालमा
खड्ग लिएका आकृति मात्र धेरै देखेँ
के हतियार उठाउनेकै मात्र दिन आउने हो त ?
ती खड्ग (हतियार) धारीहरूको जमात
के धेरै दशकदेखि टुँडालका पछि लागेका हुन त ?"
आशय नबुझे जस्तो गरेर मैले
प्रश्न गरेँ, “भन्न के खोज्नु भएको हो यहाँले ?
मैले त केहि बुझिन त”
जवाफ फर्काए,
“पटक पटकका समय र दिनमा
पर्शुरामको अवतारधारी बनेर
मान्छेले मान्छेलाई सिध्याउँदै आएकाहरूलाई
के नीति नियम कानुनले छेक्दोरहेछ र !
देख्यौ, देशको साँधसिमानामा तैनाथ
स्तम्भहरू सरेको सर्यै छन्
कुनै दिन भूगोलमा माटो खोज्न फेरि पनि
खड्ग लिएर धावाबोल्नु पर्ला
किनकि
होसियार बन–बाँच्नु छ भने
दुवैतिर ठुल्ठुला विशाल साम्राज्यको पोल्टामा
राती नै घर पराइको भैसक्ला,
बेलैमा आँखा खोल, अघि बढ
नाप्दैनन् चाउरी परेका गाला र हल्लीएको ज्यान घिसार्नेहरूले केही पनि अब
बिदा गर तिनलाई
तिनका ऊर्जा सेलाइसके कुटनीतिमा काम लाग्दैनन्
ती पानी मरुवा भैसकेछन् ।
लेखकको सम्वन्धमा