May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

वितृष्णा

साँच्चै मान्छे किन प्रेममा पर्छ हँ ? किन विवाह गर्छ ? किन वियोगमा पर्छ ? प्राकृतिक नियम, सांसारिक मायाजाल, व्यावहारिक उल्झन या अरू केही ? थाहा छैन । यो संस्कारिक रीत हो भन्छन् । यसलाई सकार्नै पर्ने रहर भनौं या बाध्यता । आजकालका नवयौवनाहरू उमेरै नपुगी आफै रहर गर्छन् यो सांसारिक बन्धनमा बाँधिन । आफै लालायित देखिन्छन् वैवाहिक सम्बन्ध गाँस्न । तर आजकल जति छिटो र सजिलो गरी बाँधिन्छन् हरूका डोरीहरू उत्ति नै चाँडो चुडिन्छन् पनि । मक्काएको हाँगामा टेकेर सुकेको हाँगामा समाएजस्तो साह्रै हल्का भएका छन् मानवीय सम्बन्धहरू । न जोडिन बेर न तोडिन बेर ।

तर किन किन मलाई यस्तो सम्बन्धबाट टाढा रहन मन लाग्छ । विवाह र दाम्पत्य जीवन, सांसारिक मोहदेखि खुबै डर लाग्छ मलाई । मोह भङ्ग भएकी छु म यस्तो साइनोदेखि । वैवाहिक विचलनको पीडालाई सानै उमेरमा नजिकबाट देखेकी, बुझेकी र गहिरोसँग अनुभूत गरेकी छु, सायद त्यसैले होला रङ्गिन जीवनप्रति त्यति उत्साह छैन ।

म मध्यम वर्गीय परिवारकी छोरी । अन्तर्मुखी स्वाभावकी सबैले भन्ने गरेकी सरल र शिष्ट शिलस्वभावकी म कक्षा ८ मा पढ्थेँ । चार जना बाबुमध्ये जेठा बुबा सरकारी नोकरीबाट रिटायर्ड भई गाउँमै सहकारी चलाउने, मेरा बुबा काठमाडौंमा नोकरी गर्ने, साहिंला काका खरिदार भई तीन जिल्लापारि गा.वि.स. सचिव र कान्छो काका शाही सेनामा जागिरे । जेठा र साहिंला छुट्टिसकेका । बुबाचाहिं जागिरका कारणले आमा र मलाई मूलघरमै छोडेर जानुभएको थियो । मेरी दिदी बुबासँगै काठमाडौं बसेर आई.ए. पढ्दै हुनुहुन्थ्यो । 

कान्छा काका रमेश साह्रै जङ्गी, रिसाहा र कठोर स्वभावका व्यक्ति । हेर्दा अग्लो कद, खाइलाग्दो र ज्याङ्गो पनि । एस.एल.सी. दिएर क्याम्पस पढ्न सहर पस्नुभएको काका साथीभाइको लहैलहैमा लागेर सेनामा भर्ती हुनुभएछ । सेनामा प्रवेश गरेपछि काकाको बिहे गराउन धेरै सकस पर्‍यो बुबाहरूलाई । हजुरबुबा हजुरआमा छिट्टै भगवान्‌को प्यारो भएपछि सबै अभिभावकत्व बुबाहरूमा थियो ।

माओवादी द्वन्द्व उत्कर्षमा थियो । काकाको बिहे हुन बाँकी थियो । केटा शाही सेनामा जागिरे भनेपछि कोही पनि छोरी दिन मान्दैनथे । युद्धमा लागेको फौजीको ज्यान कुन बेला कहाँ तलमाथि हुने हो भन्ने भयले आफ्नी प्राणप्यारी छोरी दिन कोही तयार नहुँदा तीन वर्षको अथक प्रयासपछि बल्ल विवाहको लगन जुर्‍यो । अब रमेश काकासँगै सीता काकी पनि हाम्रा घरकी स्थायी सदस्य हुनुभयो । काकी बाह्र पढ्दै गरेकी भरखरकी केटी मात्र अठार वर्षकी म चौधकी । धेरै कुरामा मभन्दा उहाँमा भिन्नता थिएन । मात्र उहाँ घरकी बुहारी म छोरी ।

विवाहको केही दिनमै काका जागिरमा जानुभयो ।  घरमा आमा, काकी, म अनि काम गर्ने अर्जुन दाइ मात्र भयौं । काकी र म सँगै सुत्थ्यौं । समवयीजस्ता भएकाले होला हाम्रा कुरा गफ खुबै मिल्थ्यो । उहाँ मलाई छोरी भतिजी हैन साथीजस्तो व्यवहार गर्नुहुन्थ्यो । उहाँ र मेरा गफ मात्र हैन बानी व्यहोरा पनि उस्तै उस्तै । घरबाहिरको काम खास गर्नुनपर्ने भएकाले घरभित्रै चुल्हो चौको गर्नुहुन्थ्यो । उहाँले बनाएको मोहीको सोल्लर, गुन्द्रुकको अचार र जिम्मु झानेको दाल सबलाई मनपर्थ्यो । छ महिनापछि काकाको सरुवा घरभन्दा साढे तीन घण्टा टाढाको ब्यारेकमा भयो । महिनादिन दुई महिनामा एक दिनको छुट्टीमा घर आउने क्रम अलि बढ्दै गयो । काका आएपछि म आफ्नै ‍बरन्डाको कोठामा बसाइँ सर्थें । अनि फेरि काका गएपछि काकीको डर भगाउने साथी हुन्थें म । काकासँग प्रत्यक्ष बोल्न र आफ्ना रहरहरू राख्न नसक्ने भएकाले काकीका हर इच्छा र आवश्यकताहरू मसँग र ममार्फत काकासम्म प्रसारित हुन्थे । कडा बोली र छुच्चो स्वाभाव खै कसरी सवार भयो काकामा ? अहँ थाहा छैन । घर परिवार आफन्त सबै यस कुरामा चिन्तित थिए । काकीलाई केही भन्न परे थर्काएर मलाई भन्नुहुन्थ्यो– ‘ए काली यसो गर, उसो गर । यो भएन, त्यो भएन ।’ काकीले त्यो बुझेर साङ्केतिक रूपमा काम गर्नुहुन्थ्यो । म पनि लुरुलुरु मान्थें र लाग्थ्यो संसारमा सबैभन्दा ठुलो कुरो भनेको डर हो ।

यो जमानामा पनि काकी किन हजुरआमाको पालामा जस्तो डराउने, बोल्न नसक्ने हुनुभाको होला ? म काकीलाई सम्झाउँथें । तर विचरा काकी आँट गर्नुहुन्नथ्यो । काकी घरिघरि चिन्ता गर्नुहुन्थ्यो । आँसु झारी आफ्नो पीडा मसँग साट्नुहुन्थ्यो । काकाको स्वाभाव र व्यवहारले उहाँमा डर र चिन्ता दुवै थियो । ब्राह्मणको सन्तान भए पनि आजकालका छोराहरू मतवालीहरूलाई जाँड रक्सी खान पूरै पालो दिन थालेका छन् । काका पनि त्यसबाट अछुतो हुनुहुन्नथ्यो । प्रायः एक दुई महिनामा एक दिनका लागि घर आउने अनि भोलिपल्ट भाले नबास्दै घर छोड्नुहुन्थ्यो । काकीको कोठामा रातभर बत्ती बलिरहन्थ्यो । म ठान्थें– ‘नौतनहरूको चाला यस्तै होला ।’ काका कहिलेकाहीँ मातेर आउनुहुन्थ्यो । काकीका लागि के के आवश्यक छन् ? खर्चबर्च, लुगाफाटा अन्य केही…. अहँ उहाँलाई केही ज्ञान थिएन, या भनौं बेवास्ता थियो । मायाप्रेम र आत्मीयता खासै देखिन्नथ्यो । त्यसैले काकी बडी टोलाउने, एकान्तमा आँसु झार्ने, झस्किने गर्नुहुन्थ्यो । यी सबै कुरामा मेरी आमासमेत अनभिज्ञ हुनुहुन्नथ्यो । आमा काकालाई घर आउँदा सम्झाउन चाहानुहुन्थ्यो तर काका हरेकपल्ट आउँदा रक्सी पिएर आउने र आफ्नो कोठामा पसेपछि गफगाफ, खानपिन, साह्रोगाह्रो, खेतीपाती, बस्तुभाउ यी कुनै कुरामा उहाँको जानकारी हुने कुरै भएन । उहाँको अव्यावहारिक र कठोर पुरुषत्वप्रति हामी सबै चिन्तित थियौं ।

एकदिन ठुलाबुबा र काका संयोगले घर आएका बेला ठुलाबुबाले काकालाई सम्झाउन खोज्नुभयो तर काका पड्किँदै वहाँसँग प्रतिवाद गरी आफ्ना कोठामा छिर्नुभयो । हामी सबै अवाक् भयौं । यो सिपाही भएपछि सप्रिन्छ होला, विवाहपछि मान्छे बन्छ होला भनेको अझ जनावर पो भएछ भन्दै ठुलाबुबाको मुहारमा कान्ति उजाडियो ।

दिनहरू बित्दै गए । कक्षा नौको अर्धवार्षिक परीक्षा सकेर ठुली फुपूका घर गएँ, जहाँ मभन्दा चौध दिनले सानी निशा र दुई वर्षले कान्छी उषा थिए जोसँग मेरा गफ खुब मिल्थे । हामी दिदीबैनी कम, साथी बढ्ता थियौँ । उनीहरूसँगको बसाइ तीन दिनमै सकेर घर आएँ । घरमा काकी आफ्नै विस्तारामा हुनुहुन्थ्यो सरासर मेरो छोटो भ्रमणको नालीबेली सासै नफेरी काकीलाई सुनाएँ । काकीले एकोहोरो सुनिरहनुभयो । त्यतिन्जेलमा उहाँका गह भरिएका थिए । मैले सोधें– ‘हजुरलाई सन्चो छैन ?’ खुइ काढ्दै लरबरिएको ओठले सकिनसकी आवाज निकाल्नुभयो– ‘नानी हेर न म दोजिया भएजस्ती छु ।’ यति सुन्नासाथ काकीलाई गर्लम्म अँगालो मारेर बधाई दिएँ । उहाँलाई जिस्काउँदै कपडा फेर्न गएँ । आमालाई भान्छामा पुगी दिदी हुन लागेको कुरा सुनाएँ । आमाले भन्नुभयो मलाई हिजो बिहानै थाहा भएको थियो ।

आजभोलि काकीलाई मेरो आवश्यकता अनिवार्यजस्तै थियो । पहिलो त्रैमासिक काल त्यसमा पनि पैलो पालि भएर होला उहाँलाई खुबै सकस परिराथ्यो । म भने मनमनै पुलकित भइरहेकी थिएँ । अब सानो नानीले मलाई हेरेर जिस्क्याउँछ । म उसँग खेल्न, बोल्न जिस्किन पाउँछु उसकै तोते बोलीमा लोली मिलाउँदै उसलाई खिज्याउँछु । मनमनै कामना गर्थें– ‘ऊ छोरी भए काकीजस्तै राम्री, गुणवती, र कलावती होस्, चन्द्रमाझैं उज्यालो होस् उसको मुहार । तर छोरा भए काकाझैं सन्काहा, दुर्जन र अज्ञानी पशुजस्तो नहोस् ।’

यसपालि काका तीन महिनापछि आउनुभयो घर । त्यो पनि उही बेलुकी मिसिक्कै भएर झ्याउँकिरी कराउन थालेपछि उस्तै तालमा, जँड्याहाकै हालमा । ‘खाना खान आउनू नानी, मैले पस्किएँ’— आमाले भान्छाबाट कराउनुभयो । काकाले भने मलाई बोलाएर खाना नखाने सन्देश पठाउनुभयो ।

भान्छाको मूल ओच्छ्यानका डिलमा बसेर बुबा र म आगो ताप्दै थियौं । आमा भने धन्दा सकेर भर्सेलीमा पोतेरो लाउँदै हुनुहुन्थ्यो । बुवाले विगत सम्झेर पारिवारिक स्थिति, हजुरबुवाको योगदान, काकालाई हुर्काउन, बढाउन, पढाउन गरेको सङ्घर्षलगायतका कुरा निकाल्नुभयो । काकाको बदलिँदो बानी र जाँडको कुलतबाट आजित हुँदै केहीबेर उदास भई खुइ काढ्दै सुत्न जानुभयो । आमाछोरी पनि आआफ्ना कोठातिर लाग्यौं ।

यसो आँखा झिमिक्क हुन पाएको थिएन, काकीका कोठामा निकै कोलाहल, चर्काचर्की सुनिँदै थियो । प्रायजसो काका घर आउँदा यस्तो भइरहने हुनाले वास्ता नगरी कोल्टे फेरी सुतें । केही बेरपछि निकै डाङ्डुङ्को आवाज आयो । जुरुक्क उठेर झ्याल खोली उताको कोठामा हेरें । अरूबेला एकोहोरो काकाको लरबराएको झर्को आवाज सुनिन्थ्यो तर आज भने काकीको स्वर उच्च र चर्को गतिमा सुनियो । अनि ढोका खोली काकाको कोठातिर दौडें, बुबा आमा पनि पुग्नुभयो । हामी पुग्दा काका भुइँमा छट्पटाउँदै लड्नुभएको थियो । टाउकाबाट आलो, तातो, रातो खुन बगिरेको थियो । काकी ढोकाको आग्लो हातमा लिएर खाटमा उभिएकी, आँखामा बलिन्द्र आँसुका धारा, महाकालीको झैं रौद्र रूप धारण गरेकी, कम्मरमा सायाले जसोतसो लाज ढाकेको, भर्खरै सिलाएको चौबन्दी अधकल्चो भएको । खाटका तन्ना र सिरानी सिरकले आफ्नो ठाउँ छाडेका थिए । लोडसेडिङ भएकाले बालिएको टुकीमारा पनि टेबलमा बसेर मुकदर्शक भई त्यो ताण्डवमा एकोहोरो साथ दिइरहको थियो । विवाहमा काकीका साथीले दिएको बिहेको गिफ्टले पनि भित्तामा बसेर चुपचाप रातको साढे दश बजेको वकालत गरिरहेको थियो । पानीको जग भुइँमा लडिरहेछ । कोठा पूरै अस्तव्यस्त भएको । त्यो विरूप र विकराल स्थिति चक्षुमा एकसाथ प्रविष्ट हुँदा मेरा दिमागमा तीन भाउन्न छुट्यो । हातपाउ लल्याकलुलुक भए, मुख सुक्यो, जिउ पुरै चिसो भएर आयो पुषको चिसोझैं ।

‘लौ न नि तिम्ले यो के गरेकी सीता ?’ भन्दै आमाले काकीको हातबाट आग्लो खोस्नुभयो । बुबा रुँदै काकाको टाउको सुम्सुमाउँदै बोलाउन थाल्नुभयो । काकाले मुख बाएको देख्दा पानीको याचना गरेजस्तो लाग्यो । आमाले पानी ल्याउनुभयो । केही तुर्की पानी काकाको मुखमा पर्‍यो । केही छिन आँखा घुमाउँदै काकाले दुःख मेटाउनुभयो । तीन दशक पुग्नै नपाई यो धर्ती उहाँका लागि बिरानो भयो ।

त्यो रात कसरी बित्यो अनि के के भयो सबै व्यक्त गर्ने शब्दावली मेरा मनमा रहेनन् । बिहान भालेको डाकमा पुलिस आए । सर्जिमिन उठाए । आठ दश भाइ गाउँकै लाठेहरूले लास बोकेर सदरमुकाम दौडाए । काकी, आमा, बुबासमेतलाई पुलिसले लिएरै गए अनुसन्धान भन्दै ।     

काकाको ज्यादतीपूर्ण दुव्र्यवहारले आजित भएर आकस्मिक रूपमा आत्मरक्षाका लागि काकीले प्रहार गरेको त्यो आग्लोले काकाको इहलिला समाप्त गर्‍यो । उहाँले  गर्भावस्थामा पनि काकीको शारीरिक अवस्था र इच्छाको ख्याल नगरी रक्सीको सुरमा जवर्जस्ती गर्न खोज्नाले दुर्घटना हुन गयो । यतिबेला काकी सात वर्षे छोरासहित कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा आफ्नो अपराध कबोल गरिरहनुभएको छ । म कहिलेकाँही पुग्छु । लत्ताकपडा र खानेकुरा लिएर ।

म पनि बी.एड. सकेर फुर्सदिली भएकी छु । दिदीको बिहे तीन सालअघि नै भइसकेकाले घरमा मेरो बिहेको कुरा जोडतोडले आउन थाल्या छ । यो बिहेको कुराले मलाई खुबै त्रसित तुल्याउन थालेको छ । घरमा बिहेको कुरा निस्कियो की कहिले मामल, कहिले बुढो मामल, कहिले कता कहिले कता जान्छु । आफुलाई छल्ने प्रयास गर्छु । दैनिक दुई चार झोली कुटुम्बका ताँती ओइरिन्छन् । म हरेक केटाका मुहारमा उही काकाको स्वरूप पाउँछु । क्रोध, रिस, सन्काहा प्रवृत्ति, झोंकी, लहडी, र ढिपी स्वाभाव देख्छु । फेरि सोच्छु– ‘सबै मान्छे काकाजस्तै कहाँ हुन्छन् त ? हैन, वा मेरो भाग्यमा त्यस्तै पो पर्ने हे कि ?’ हाटबजार जाँदा वरपर हिंड्दा विचार गर्छु । सबै केटाहरू रुखो बोली, कडा ठुलो स्वर भएकै जस्तो लाग्छ ।

त्यही अतीतले मलाई विवाहप्रति वितृष्णा जगायो । कलिलो मस्तिष्कमा बिझेको त्यो कालो रातको विपदले मलाई आयातीत मानवीय सम्बन्धप्रति विश्वास हरायो । त्यसैले म बिबाह नगर्ने मानसिकतामा छु । अनेक बाहना बनाई सबैलाई पन्छाउँदै आइरहेकी छु । मेरो मनोविज्ञान त्यही घटनाको असरले विकसित हो भनेर बाआमालाई थाहा छ कि छैन ? तर मेरो इन्कारपूर्ण बानीले वहाँहरू पनि दिक्दार हुनुहुन्छ । भएजति आफन्त र चिनेजानेका सबै विवाह गर्नैपर्छ भन्छन् । घरिघरि लाग्छ– ‘प्रकृति विरोधी भनेर कतिले मलाई असामाजिक तत्त्व भन्ने हुन् ।’ सोच्छु कहिलेकाँही उमेर ढल्किदै जाँदा ‘बुढीकन्ये’ भन्दै दुनियाँले कति गीत गाउने हुन् । अनि म जेसुकै होस् विवाह भनेको आफ्नो इच्छा त हो, आफ्नो मर्जी हो भनेर कतिन्जेल टार्न सकुँली ?  थाहा छैन ।