April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सम्पूर्ण सुखको प्रिस्क्रिप्सन

मान्छेको परम इच्छा हो- अक्षुण्ण सुख, जसको प्राथमिकता हो- सुरक्षा फ्रायडका शब्दमा – preservation and pleasure . तर यो कहिल्यै सम्पूर्ण प्राप्त भैसक्तैन । एउटै यात्राका प्रारम्भ र अन्त्यजस्ता यी दुई कुराको अपुगले उसलाई कहिल्यै चुप लागेर शान्त रहन दिँदैन र त्यत्तिकै पनि नटुसाई नसक्ने इस्कुसजस्तै उसको जीजीविषा अर्थात् id ले उसलाई अनेक पापड बेल्न लगाइरहन्छ । तब त ऊ नेता, बेपारी, किसान, दलाल, अपराधी, उपकारी अनेक बनिन्छ । नेपालमा नपाएको सफलता र सुख खोज्न विदेश जान्छ र महिना दिनमै बाकसमा सुतेर आउन वा त्यसको विपरीत रातारात लखपति हुन बेर लगाउँदैन । अथवा हजार हन्डर खाएर रित्तै फर्किएको वर्षदिनमा यहीँ लखेश्वर लगाउन पनि सक्छ । कुनै निश्चय छैन ।

यसरी दुखको त्याग र सुखको खोजमा ऊ प्राय धार्मिक आस्था, राजनैतिक पद्धति, वैचारिक समूह, देश, पेसा, साथ–सङ्गत आदि बदलिरहन्छ वा कम्तीमा गुनासो गरिरहन्छ । तर न त्यसरी बदल्दैमा हुने पक्का छ न नहुने । न गुनासो गर्दैमा केही हुने, न भएर नै पुग्ने । यही प्रयासदेखि प्रयाससम्मका अनेक राम्रा–नराम्रा उदाहरणसहित गुनासैगुनासाको शृङ्खला नै सायद जीवन हो ।

 त्यसो त आस्था, स्थान, काम आदि होइन आफूलाई बदल, सोच र काम गर्ने तरिकाचैँ बदल पनि भन्ने गरिन्छ । तर सम्पूर्ण सुखको प्रिस्क्रिप्सन कसैसँग काहीँ कहिल्यै छैन यद्यपि त्यसको खोज–प्राप्ति  र खरिद–बिक्री अनन्त निरन्तर छ ।

निष्कर्ष सायद दुवै हो स्थान आदिको परिवर्तन पनि वा आफ्नै योग्यता, क्षमता, तरिकामा चैँ परिवर्तन अर्थात् चिनेर, ठहराएर ठिकसँग गरिने निरन्तर उपयुक्त र आवश्यक परिवर्तन–सुधार–परिष्कार–परिमार्जन र सन्तोष । नत्र विकल्प के छह ? के यसको कुनै सूत्र हुन्छ ? कुनै स्थायी समाधान हुन्छ कि यो यत्तिकै हो ?

भेटे कुनै दरिलो थाङ्रो वा टाँडमा, नभेटे भुइँमै पनि लहरिएर सकेसम्म फलाउने, नसके टाक्सिएर जाने जैविक बाध्यतावश लहरा हाल्न थालिहाल्ने इस्कुसजस्तै कहिल्यै चुप लागेर नबस्ने मान्छेको मन चारचौरास चहार्दै हिँडिरहन्छ  :

१.पृथ्वीसहित तारा–ग्रहका अनेकौँ ठुलासाना पिण्डहरूको समूहरूप यस ब्रह्माण्डको उत्पत्ति कसले, कहिले, किन ग¥यो र यसको सञ्चालन कसले गर्छ भन्ने कुरा अज्ञात छ । धर्मशास्त्रीय मतानुसार भगवान्‌ले र वैज्ञानिक मतानुसार बिगब्याङलगायत यो वा त्यो सिद्धान्तले तर कुनै पनि पूर्णत ज्ञात र प्रमाणित छैनन् । तैपनि कति, खासगरी अगिल्लाहरू, ठोकुवै गर्छन् विस्तृत काल्पनिक विवरणिका र कर्मकाण्डको सञ्जालसहित जुन अनधिकृत तथा अनेक भ्रान्ति र ठगीको कारक पनि हो यद्यपि यो जीवनको ठुलो कार्य–व्यापार नै भैसकेको छ । खासमा यसबारे निर्विकल्प यथार्थ absolute truth को अभाव तर ब्रह्माण्डको उपस्थिति र सञ्चालनको यथार्थता तथा यसमा भाग्य–दुर्भाग्य वा दैवको लीला आदि भनिने संयोग–कुयोगका अनन्त अनिश्चितता रहनु नै यसको पक्षमा सबैभन्दा ठुलो आधार हो ।

अनुसन्धान प्रयोजनमा बाहेक यसको निक्र्योल आमजनताको टाउको दुखाइ भने होइन तर धेरैलाई यही दुखिरहन्छ ।

२.पृथ्वीमा जम्मा ५ तत्त्व छन् भन्ने मानिन्छ : माटो, पानी, आगो, हावा र आकाश । तिनमा अरू अनेक तत्त्व हुन्छन् । कति आकाशलाई तत्त्व मान्दैनन् तर आकाश सायद नहुनुको प्रतीक हो गणितको शून्यजस्तै । त्यसैले त होला आकाशमै अरू ४ ले स्थान र आकार तथा ध्वनि, प्रकाश, गति, प्रभाव, दृश्य आदिले बाटो पाएका छन् र यो विराट प्रबन्ध निरन्तर छ ।

३ कार्य–कारणद्वारा शासित ब्रह्माण्ड कुनै ब्रह्मा–विष्णु–महेशबिनै सृष्टि–स्थिति–संहारका ३ स्वचालित कार्यमार्पmत् आफै रिबाइन्डिङ, रिसेटिङ, रिफुएलिङ, रिसाइक्लिङ, रिपेयरिङ गर्दै निरपेक्ष गतिशील भैरहन्छ ।

यसको सञ्चालनमा सङ्ख्यात्मकताबाट गुणत्मकता, अनेकता–एकता–अनेकता …., सशेष अन्त्य, जो टिक्यो त्यो बच्यो, यी चारको नित्य गतिशीलता र फलस्वरूप नित्य भैरहने मानवीय दृष्टिले परिवर्तन तथा विकास पनि भनिने ठुलासाना नवीनतासमेत ६ वटा आपसमा निर्भर अविच्छिन्न प्रक्रिया देखिन्छन् ।

४.छाया, दिशा, समय, गति, शक्ति, रङ्ग, गुण, प्रभाव आदि खुद वस्तु नभएर वस्तुका अस्तित्व, स्थान र कार्यको परिणामका मानवीय अनुभूति मात्र हुन् ।

५.ब्रह्माण्डलगायत मानव जीवनमा अनेक भावगत, पदार्थगत र कार्यगत विपरीत द्वित्व देखिन्छन् : सत्–असत्, भ्रम–सत्य, दृष्ट–अदृष्ट, प्रकृति–पुरुष, छाया–वस्तु, ठोस–गैरठोस, वस्तु–गुण, चेतन–अचेतन, चल–अचल, जन्म–मृत्यु, दिन–रात, भौतिक–आध्यात्मिक, पुल्लिङ्ग–स्त्रीलिङ्ग, तातो–चिसो, कारण–परिणाम, देवता–दैत्य, पशु–मानिस, कल्पना–यथार्थ, इच्छा–बाध्यता आदि र कालो–गोरो, अग्लो–होचो, मिठो–तितो, सक्षम–अक्षम आदि गुणात्मक द्वित्व । तर यी द्वित्व अलग्ग अलग्ग नभएर प्रत्यक्ष÷अप्रत्यक्ष अवगत हुने एउटै कुराका प्रारम्भ र अन्त्य मात्र लाग्छन् ।  

६.मानवसँग सम्बन्धित वास्तविक, नैसर्गिक, स्थायी, अपरिवर्तनीय र बाध्यताकारीजस्ता लाग्ने र त्यस्तै व्यवहार गरिने जात, धर्म, वर्ग, क्षेत्र, रङग, पदजस्ता कुरा परम्परित, पारिस्थितिक, गुणात्मक, भौगोलिक र अस्थायी भावनात्मक मान्यता मात्र हुन् ।

७.पृथ्वीको भौतिक जगत्‌मै अर्को समानान्तर मानवसिर्जित भौतिक र मानवीय जगत् हुन्छ जसलाई संसार भनिन्छ जुन खासमा भवन, पुल, खेत, कारखानाजस्ता भौतिक; प्रेम÷घृणा, न्याय÷अन्याय, मान÷अपमाानजस्ता भावनात्मक र शिक्षा, संस्कार, पर्व, पद्धति, परिवार, राज्य, सिद्धान्त–शासनजस्ता विचारात्मक–कार्यात्मक संसार हो ।

८.जिउनका लागि हरेक जीवित प्राणीमा जानकारी वा ज्ञान, सुरक्षाभाव वा शक्ति, वस्तु वा साधन र तिनको आर्जन–आदानप्रदानलगायत प्रयोग–उपयोगका निमित्त आपसी सहयोग–सेवासमेत अनिवार्य ४ शाश्वत आवश्यकता, प्रकृति तथा प्रवृत्ति विद्यमान् हुन्छन् । यी कुरा मानिसमा झन् बढी प्रत्यक्ष हुन्छन् । यसकै घटी–बढीका आधारमा मान्छे क्रमश बुद्धिजीवी, युद्धजीवी, शील्पजीवी र सेवाजीवी गरी चार खालका हुन्छन् । हाम्रो समाजमा यसले जन्मका आधारमा हुने स्थायी हैसियत प्राप्त गरेको छ जुन गलत हो तर पैतृक तथा पारिवारिक परवरिसको प्रभाव भने धेरै हदसम्म अटार्य यथार्थ हो ।

समूहमा मात्र बस्ने यस्ता मान्छे अग्रणी वा सक्षम (रेलको इन्जिनजस्ता अल्पसङ्ख्यक) र सर्वसाधारण वा अक्षम (रेलको डब्बाजस्ता सामान्यत बालक, वृद्ध, रोगी, अपाङ्गसमेत बहुसङ्ख्यक) दुई मुख्य अन्तर्समूहमा विभाजित हुन्छन् जसमा त्यसो त हरेक व्यक्ति सामान्यत वैकल्पिकतासहित एकभन्दा अर्को सक्षम वा अक्षम र अगुवा वा अनुगामी हुन सक्छ र यो चलायमान नै हुन्छ ।

९.मान्छे एउटा नाम, अनुहार, नाता आदि पहिचानसहितको फलानो व्यक्ति भनिने शरीररूपी खोलमा उपस्थित चैतन्यभाव हो जसलाई मन (मुलत आत्मा) भनिन्छ । यो मन शरीर, चरित्र, बुद्धि तथा विश्वाससमेत् पाँच कुराको ढलान भएर बनेको हुन्छ । यसलाई स्वाभाविक उमेर र भौतिक यथार्थगत वृद्धिसहितको शरीरमा क्रमश मातापितालगायत परिवार, साथीभाइ–छरछिमेकीलगायतको सङ्गत–प्रभाव, शिक्षकलगायत शिक्षालय–शिक्षा र प्राकृतिकलगायत स्थानीय–क्षेत्रीय–राष्ट्रिय–वैश्विक आर्थिक–राजनैतिक–सामाजिक–सांस्कृतिक यथार्थको सामयिक–सनातन परम्परा–परिस्थितिले यी सबैको संयुक्त प्रभावरूपी पदार्थसहित दैनिकीरूपी ज्यासलमा ढालेर एउटा व्यक्तित्त्वका रूपमा तयार गर्दछन् मूर्ति, भवन, यन्त्र, कथाको पात्र इत्यादि बनाएजस्तै । ऊ कति सक्षम–अक्षम र उत्कृष्ट–निकृष्ट बनेको छ भन्ने कुरा मुलत उक्त पाँच तत्त्वका कच्चा पदार्थको उत्कृष्टता–निकृष्टता र बनाउने कालिगढको कुशलता तथा समर्पण र बनाउने दौरानको पारिस्थितिक यथार्थमा निर्भर रहन्छ र उसको समाज कति शान्तिपूर्ण, उन्नत र सुव्यवस्थित छ भन्ने कुराचैँ ऊ कति सक्षम–अक्षम र उत्कृष्ट–निकृष्ट बनेको छ भन्ने यथार्थमा निर्भर रहन्छ ।

सबै जनावरमध्ये मान्छे नै एकमात्र जनावर हो जसलाई प्रारम्भिक करिब २५ वर्ष औपचारिक र व्यवस्थित शिक्षा(ढलाइ) चाहिन्छ । यो क्रम सुरुमा सघन पछि कम हुँदै सुरुमा ज्यादा सिकाइने (बनाइने) तथा पछि ज्यादा सिक्ने (बनिने) हुँदै आजीवन चलिरहन्छ ।

यसमा निर्णायक मन नै हुन्छ जो सचेत, मुख्य, मौलिक, अस्थिर, असन्तुष्ट त्यसैले परिवर्तनशील र विकासशील पनि हुन्छ वा त्यसको विपरीत पतनशील पनि । मनकै सज्ञानता–अज्ञानता, साहसिकता–कायरता, अठोट–अस्थिरता, कर्मठता–अकर्मण्यता आदि नै उसको सिङ्गो व्यक्तित्व र कृतित्व हो । अर्थात् आनुवंशिकीसमेत उही उपरोल्लिखित शिक्षा र वातावरणीय प्रभावद्वारा उसले जेजस्तो ज्ञान–आदत–क्षमता पाएको÷कमाएको÷टिकाएको छ त्यसअनुसार ऊ कस्तो मनको बनेको छ भन्ने कुरा र उसको सफलता–असफलता तथा उसको सुखदुख र त्यसको स्तर मनले उसलाई हाँक्छ कि उसले मनलाई हाँक्छ भन्नेमै भर पर्छ ।  

१०.सबै मानिस शाश्वत रूपले कमबेसी कामी, क्रोधी, लोभी, मोहग्रस्त(अन्धविश्वास, भ्रम इ.),  आहारा चाहिने, निद्रा चाहिने, भयग्रस्त, अपूर्ण, असन्तुष्ट वा प्रगतिशील, मरणशील (मृत्यु, रोगव्यधि तथा चोटपटकभागी) र आत्मकेन्द्री हुन्छन् भने पुर्ख्यौली प्राप्ति, मानसिक वा आत्मिक क्षमता, बौद्धिकता, शारीरिक क्षमता, आर्थिक हैसियत, पारिवारिक–वातावरणीय यथार्थ, संयोग–कुयोग, आदत तथा व्यक्तिगत रुचि र दृष्टिकोण तथा सिप वा व्यावहारिक निपुणताका दृष्टिले सीमासीमासम्म असमान हुन्छन् ।

उसको मनले यी समानता तथा असमानताका कारण तिनीहरूका विविधता र सघनताको समष्टि परिणामअनुसार अहम् वा भनय पनि भनिने महत्वाकाङ्क्षाको रूप लिन्छ जुन उही विविधताका कारण झन् जटिल हुन्छ र मान्छे तलमाथि हुँदै आपसी सेखासेखी र जुँगाको लडाइँ लडिरहन्छ । अर्थात् अरूको सक्षमताबाट बचेर अक्षमताबाट फाइदा लिएर आफ्नो विचार लाद्ने र केके न हुने कहाँ न कहाँ पुग्ने चाहनावश उछिनपाछिन गर्नमै मृत्युपर्यन्त अनुरक्त रहन्छ । खासमा यी महत्त्वकांक्षा र कांक्षी पनि सरदरै रहन्छन् व्यक्तिव्यक्तिमा काहीँ बच्ने काहीँ फाइदा उठाउने, काहीँ कुनै कम काहीँ कुनै बेसी । मुलत त्यसका निमित्त ऊ उही वैचारिकताअन्तर्गतका दार्शनिक तथा राजनैतिक (तल१२)दुवै क्षेत्रका विवाद तथा परम्परित संस्थापनसँगै खेल्ने÷खेलाइने गर्छ आआफ्नो झुकाउ, क्षमता र अवसरअनुसार समाजलाई परिचालन गरेर÷स्वयं परिचालित भएर । अर्थात् मान्छे धर्म, जात, वाद, वर्ग, क्षेत्र  आदिआदिकै नाममा तिनकै माध्यमबाट काहीँ लुट्छ काहीँ लुटिन्छ, काहीँ दबाउँछ काहीँ दबिन्छ सकेसकेजति सीमासीमासम्म, मौकामौका अनुसार ।

११.‘मानिस सामाजिक प्राणी हो’ भन्ने सर्वस्वीकृत अवधारणा तथा सरोकारका शास्त्रीय परिभाषाका बाबजुद कतिजना ‘मानिस सामाजिक प्राणी होइन’ भनेर ठोकुवा पनि गर्छन् । उनीहरूका विचारमा मानिस नितान्त व्यक्तिवादी प्राणी हो जो सदा आफ्नो व्यक्तिगत खुसी र हितबारे अनुरत हुन्छ । यसबाट प्रकारान्तरमा याज्ञवल्क्यको ‘मान्छे आफू छोडी कसैलाई माया गर्दैन, गर्छ भने आफ्नो मयाकै निमित्त गर्छ’ भन्ने भनाइकै पुष्टि हुन्छ । अनुभवबाट प्रसङ्गअनुसार यी दुवै भनाइ गलत लाग्दैनन् । अर्थात् मानिस ‘भावनात्मकताले आफ्नो निजी उन्नतिप्रगति र सुखसन्तुष्टिमा केन्द्रित स्वैच्छिक व्यक्तिवादी र आस्तित्विकताले एक्लै बाँच्न र कुनै सुखसन्तुष्टि पनि प्राप्त गर्न नसक्ने हुँदा बाध्यात्मक सामाजिक प्राणी’ देखिन्छ ।

१२.यसरी समूहमा बस्नैपर्ने बाध्यताबाट समाज र समाज बनेपछि त्यसका व्यवस्थापनको अनिवार्यता जन्मिन्छ जसलाई सत्ता भनिन्छ । यसको उत्पत्ति, अस्तित्व र संचालनका बारेमा दैवी, शक्ति, विकासवादी र सामाजिक सम्झौताका ४ सिद्धान्त मानिएका छन् । तर यथार्थमा यी कुनै पनि सम्पूर्ण हुँदैनन् तथा एकार्काबाट पूर्णत निरपेक्ष नभएर धेरथोर मिश्रित र प्रभावित भएर कहिले यो कहिले ऊ प्रधान अरू गौण हुँदैरहन्छन् । मुलत यसैबाट मानिसमा विश्वासजन्य वैचारिक विविधता र सो विविधताबाटै निम्न (क)दार्शनिक र (ख)राजनैतिक(व्यवस्थापकीय) द्वित्व उत्पन्न हुन्छन् ।

(क)मनुष्य, जीवजन्तुसहित पृथ्वीलगायत यो ब्रह्माण्ड ईश्वरले बनाएको हो÷होइन, उनैले चलाउँछन्÷आफै चल्छ, ईश्वर छ÷छैन(हुँदा पनि यो खालको छ त्यो खालको छैन आदि), स्वर्ग–नर्क हुन्छ÷हुँदैन, पूर्वजन्म–पुनर्जन्म हुन्छ÷हुँदैन, भाग्य–अभाग्य हुन्छ÷हुँदैन, पाप–धर्म हुन्छ÷हुँदैन, मान्छे आफ्नो सुख–दुखको लागि आफै वा उसको भाग्य वा कोही फलानो व्यक्ति वा ईश्वर जिम्मेवार हुन्छ इत्यादि ।

(ख)राजतन्त्र÷प्रजातन्त्र, पूँजीवाद÷साम्यवाद, एकतन्त्र÷बहुलतन्त्र, एकल राज्य÷संघीय राज्य, स्वतन्त्र सत्ता÷औपनिवेशिक सत्ता …. एकार्को ठिक छ÷छैन । यथार्थमा भने जुनै तन्त्र वा व्यवस्था पनि धेरथोर मिश्रित, सन्तुलितदेखि सन्कीसम्म र तदनुसार अल्पांशदेखि वृहतांशसम्म जनहितैषी(यथार्थमा बिरल) वा जनपीडक(यथार्थमा बहुल) हुनेगर्दछ । त्यसैले व्यवहारत शक्तिका बलमा एउटा तन्त्र मान्य र स्थापित तथा अरू प्रतिपक्षका रूपमा गौण रही अनवरत सङ्घर्ष र सङ्क्रमणका रूपमा धेरै÷थोरै बेर उग्र÷मन्द हुँदै पालैपालो चलिरहन्छन् । यही राजनैतिक जीवनको शाश्वत यथार्थ हो ।

१३.यसरी परम सुरक्षासहित परम सुखको अक्षुण्ण भण्डार हात पार्न अग्रसर कति किसिमले कमबेसी समान, कति किसिमले कमबेसी असमान मान्छेको समाज उक्त दार्शनिक र व्यवस्थापकीय वैचारिक द्वित्वबाट फैलिने (१२क र ख)आध्यात्मिक, भौतिक, रासायनिक, जैविक, मनोवैज्ञानिक, भौगोलिक, यौनिक, चारित्रिक, आर्थिक, धार्मिक, राजनैतिक, सांस्कृतिक, वैयक्तिक, सामाजिक, जातीय, वर्गीय, अवसरवादी अनेक पक्षको बाढीजस्तै भरमभेट भएर यो मानव संसार एउटा विशाल मानव जङ्गल, डेस्मोन्ड मोरिसका शब्दमा चिडियाखानाजस्तै भएको छ जहाँ अन्तत बल–बुद्धि–धनकै प्रत्यक्ष÷परोक्ष जसको शक्ति उसको भक्ति निर्णायक हुन्छ ।

 त्यसो त प्रकृतिको विविधताजस्तै यस्ता दार्शनिक र व्यवस्थापकीय वैचारिक वैशेषिक विविधता र तिनका द्वित्व पनि द्वन्दको नभएर मतैक्यता, सहमति, सामान्जस्यता र सुखको खोजका आधार हुन् जसलाई ‘वादेवादे जायते तत्वबोध’ भनिन्छ । तर लाग्छ अन्तिम वा सर्वस्वीकृत तत्वबोध कहिल्यै भैनसक्ने र त्यसका कारण सदा द्वन्द्वमा गुज्रिरहनु पर्ने यथार्थचैँ वास्तविक तत्वबोध हो जुन अहिलेसम्म भैसकेको छैन र मान्छे गुनासोको अन्त्यहीन गनगनसहित व्यक्तिदेखि समूह, राज्य–अन्तर्राज्य तहसम्म, प्रत्यक्ष र अप्रत्यक्ष, शान्तिपूर्णदेखि हिंसात्मक युद्धसम्म मनले, मुखले र हातैले खेताला लगाएरसमेत यही हरेक विषयसम्बन्धी ‘यो हो र त्यो होइन’ भन्ने विवादको स्थापना–खण्डन–पुनस्थापना–पुनखण्डन गरिरहन्छ । लाग्छ यही अविच्छिन्न विवादचैँ मुख्य सत्य र मान्छेका व्यवहारको मुख्य भाग, व्यथाको मुख्य कारण र कथाको मुख्य अंश हो !

१४.यही द्वन्द्व (विवाद र सो विवादजन्य अनिश्चय)का कारण मान्छे सदा अस्थिर तथा तनावग्रस्त रहन्छ र खासगरी धर्म, विचार, सिद्धान्त, समूह, व्यक्ति÷वस्तु, स्थान र मुख्यत विश्वास बदलिरहन्छ, आरोप–प्रत्यारोपबीच द्वेष, भय र तनावग्रस्त हुँदै कथित ठेकेदार एउटा न एउटा प्रभुको छहारीसम्म भौँतार्रिरहन्छ आफ्नै नाभीको सुगन्ध खोज्न भौँतार्रिरहने तर कहिल्यै नभेट्ने कस्तुरीजस्तै । आममान्छेमा अनिवार्य सन्निहित यो प्रवृत्ति बुझ्न र त्यसलाई परिचालन गर्नसक्ने कथित सक्षम अग्रणी यसैबाट बुनेका कुटिल तारतम्यअन्तर्गत लछ्छेदार शब्दमा नमिठा स्वार्थ लुकेका मिठा सपनाको आस देखाई सर्वसाधारणलाई लोभ्याएर–छक्याएर, हप्काएर–फकाएर, अल्झाएर–बल्झाएर, अवसरअनुसार कतिलाई मारेर÷बचाएर आफूसमेत लड्दै–उठ्तै सकेसम्म आफ्नो भोगविलास अक्षुण्ण चलाइरहन्छन् । यसैको अटूट सिलसिला नै आमजीवन हो, विलियम जेम्सले M Man, biologically considered and whatever else he may be into the bargain, is simply the most formidable of all the beasts of prey, and, indeed, the only one that preys systematically on its own species. भनेजस्तै ।

तर यी १४धै यथार्थमा बराबर अपवाद, सम्मिश्रण र द्वैधता देखिन्छ । अर्थात् मान्छेलाई न पूरै ईश्वरमा निर्भर भएर पुग्छ न त्यसलाई नकारेरै । न पूरा आत्मकेन्द्री भएरै साध्य हुन्छ न नभएरै । न राजतन्त्र नै सर्वोत्कृष्ट हुन्छ न प्रजातन्त्र वा साम्यवाद नै । जस्तै अपुग वा बाधा भएपनि कुनै व्यक्ति, जनावर वा बोट विशेष सप्रिएजस्तो कुनै मान्छे÷राज्य पनि विशेष सप्रिन सक्छ जसरी पर्याप्त अवसर र प्रबन्धका बाबजूद कुनै बिग्रिन पनि ।

१५.उता औचित्य, कर्तव्यपरायणता, समानता, मानवता, मर्यादा, न्याय, भ्रातृत्व, सभ्यता, सच्चरित्रता, सुखजस्ता आदर्श अत्यन्तै परिश्रम, प्रवीणता र भावनासाध्य लक्ष्य हुन् जसका प्राप्तिको त्यति र त्यस्तै गुन्जायस रहन्छ जति र जस्तो बाबुआमाले समर्पित भएर ढङ्गसँग परवरिस गरिदिने, शिक्षकले पढाइदिने र नेताले परिचालन गरिदिने गुन्जायस रहन्छ कारण त्यसको सम्पूर्णताको न ग्यारेन्टी हुन्छ न सीमा ! बुझ्नैपर्ने तर सधैँ नबुझिरहने तथा बुझेर पनि निश्चय नहुने यो यथार्थभन्दा कटु सत्य सायद अर्को छैन । खासमा यो सामान्यत मौसमलगायत सरोकारका सबै कुरा अनुकूल भैदिएहुन्थ्यो भन्ने चाहनाजस्तै परनिर्भर र अभरोसिलो हुन्छ । यद्यपि यो एकहदसम्म हुनै नसक्ने कुराचैँ होइन । तब त क्रमश नाङ्गै बस्ने, काँचै खाने, मान्छेकै भोग दिने, दासप्रथा, सतीप्रथाजस्ता अनेकौँ जघन्य अन्धविश्वास तथा लुटपाट र सीधै मारामार गर्ने अराजकता छोड्दैछोड्दै मान्छे यहाँसम्म आइपुग्न सकेको हो । तर अनेक वैचारिक तथा स्थितिजन्य विविधताजनित यथार्थको धागोमा चरम सङ्गतदेखि चरम असङ्गत सीमासम्म गँठेरिएको र जति मुन्ड उति बुद्धि भएर सम्हालिनसक्नु जटिल हुनपुगेको मानव जीवनको गुनासोरहित सफल व्यवस्थापन लरतरो चुनौती होइन । खासमा यो मान्छेका परिपक्वताको र अग्रणी खासगरी राजनैतिक नेतृत्वको कार्यक्षमतम र इमानदारीको परीक्षण नै हो ।

लाग्छ यो खेती गर्नुजस्तै हो जसलाई एउटा असल किसानले झैँ उचित खनजोत, बिउ, बाली तथा कुनै पनि कारणले कुनै पनि बेला मर्न सक्ने कुलाको पानीलगायत सबैकुरालाई लिएर सधैँ सङ्घर्षको हदसम्म निगरानी र व्यवस्थापन नगरी धर छैन । त्यसैअनुसार बढीचैँ भनेजस्तै नै हुन्छ र त मानव इतिहास निरन्तर उद्धर्गामी छ तैपनि प्रत्येकपल्ट ग्यारेन्टी भने हुँदैन कारण आफ्नै भूलचुकसमेत रोपुन्जेल र रोपेपछि बाली पाकुन्जेल असिनापानी, आँधीबेहेरी, बाढी पैह्रो, खडेरी र पाकेपछि पनि चरामूसालगायत भकारीमा हालेपछि पनि कथित वैधानिकदेखि बलमिचाइँ गर्ने जबर्जस्त चोरलुटेरासम्मका कारण बीस–उन्नाइस वा कहिले त दश–पच्चीस तलमाथि भैरहेकै हुन्छ ।

त्यसैले सायद अग्रजहरूले भनेका होलान्

कर्मण्यावधिकारस्ते मा फलेषू कदाचन ।

मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।२।४७ 

अथवा

Your main duty is not to see what lies dimly

in the distance,  but to do

what lies clearly at hand.–Thomas Carlyle.

अर्थात् समयानुसारको कर्म गर, कुनै कसर नराखी गर र जस्तो परिणाम हुन्छ, खुसीखुसी स्वीकार गर जुन त्यसो त आफूअनुसारकै हुन्छ (माथि ९)। कसर रहेको भए त्यो पनि स्वीकार गर र झन् सावधानीसहित पुन कर्म गर ……बस् । संसारमा न सुख छ न दुख छ, केवल छ मात्र मानिसलगायत साधन र स्थिति । प्रयोग गर्नेले कसरी प्रयोग गर्छ र त्यसबाट सुख वा दुख के अनुभूत गर्छ, उसकै खुसी । जस्तो :

सम्पन्न होऊ अथवा विपन्न ।

प्रसन्न होऊ अथवा विषण्ण ।।

तिम्रै खुसी हो धरती खुला छ ।

सदैव मेरो शुभकामना छ ।।— यो फूल, पृ. ३०

+++

prakashmanidahal@gmail.com