December 5, 2023, Tuesday
२०८० मंसिर २०, बुधबार

खोजौं टुकी–समृद्धि

आउनुहोस्
देशवासी मिलौं
हामी सबै मिलेर सुरु गर्नुछ
अब एउटा यात्रा
समृद्धिको
एउटा बेग्लै प्रगतिको
खोजौं मिलेर सबैले अब
खिया लागेका र धुलाले ढाकेका
ती टुकीहरू र
पुछपाछ पारौं
टल्काउनुपर्छ टिलिक्क पारेर तिनलाई
आमाका फाटेका गुन्युँ र
फाटेका सिरकका खोल च्यातेर
लगाउनुपर्छ सलेदो र
बाल्नुपर्छ अब सबैतिर टुकी।
 
अब मिर्मिरे नहुँदै
कलेज पुग्नुपर्ने कसैले
लगाउनु पर्ने छैन बिब्ल्याटो कमिज र सुरुवाल
त्यसैले खोज्नु छ अब
प्राचीनतामा नवीनता
त्यो बिरासत हो हाम्रा पुर्खाहरूको
हामीलाई छोडिदिएको नासो ।
हो, समृद्धिको नयाँ यात्रा सुरु भएको छ
अब बिस्तारै
बिजुलीका स्विचहरूमा खिया लाग्दै जाने छ
अनि हामीले चिमलाई हेरेर
गर्नुपर्छ अनुभव हिजोका उज्यालोको
टेलिभिजनका काला स्क्रिनमा
हिजोका समाचार सम्झिनुपर्छ
सँगै मिठामिठा गीत र नृत्यहरू
आँखामा नचाउनुपर्छ
र मनलाई रञ्जित बनाउनुपर्छ
चार्ज रित्तिएका खाली आइफोनहरू
हत्केलामा च्यापेर लुरुलुरु सडकमा हिँड्नुपर्छ।
दन्त्यकथा बनाउनुपर्छ
तिनको उज्यालोको महिमाको
र सुनाउनुपर्छ हाम्रा सन्ततीहरूलाई
नत्र ती बिस्तारै इतिहासका गर्भमा विलुप्त हुने छन्
हामी पनि बिस्तारै इतिहास बन्ने छौं
एउटा कालो इतिहास।
त्यसैले त अब
हिउँ शिखरहरूमा उक्लिनुछ
यसरी नै
टुकी बालेर समृद्धि खोज्न ।