दसैँ : परिचय र महत्त्व

दसैँ हिन्दुहरूको महान् चाँड हो। तर हामी आधुनिक समाजका अनुयायीमध्ये धेरैलाई किन यो महान् चाँड हो भन्ने कुरा थाहा नहुनसक्छ । प्रस्तुत लेख दसैँको महत्तामा केन्द्रित छ ।
सुरुवात गर्न चाहन्छु दसैँको कथाबाट। हामी सबैलाई थाहा भएकै विषय हो। दसैँ आसुरी शक्तिमाथि दैविक शक्तिको विजयको गौरवगाथा हो।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,
चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतीको विशेष पूजाआजा र आराधना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ ।
यो चाडको मिथकीय सन्दर्भमा सम्पूर्ण देवताले शुम्भ निशुम्भलाई बध गर्न नसकेपछि शक्तिसरूपा देवीको आराधना गरी उनै देवीको हातबाट ती आसुरी शक्तिको अन्त्य गरेको कथा पाइन्छ।
यसको तात्पर्य केबल आसुरी शक्तिमाथि दैवी शक्तिको विजय मात्र थिएन। यो त सनातनी समाजमा महिला पुरुष समानताको विशेषताको पनि प्रादुर्भाव थियो। यसले वैदिक समाज पूर्ण रूपमा पितृसतात्मक नभई पितृसतात्मकता र मातृसतात्मकताको सम्मिश्रण थियो भनेर उजागर गर्न खोजेको देखिन्छ। यसरी समतामुखी समाजको परिकल्पना गरेको हुँदा बास्तवमा यो महान् चाड हो।
अब जमराको कुरा गरौँ। जमरा भन्नाले उमारिएको अन्नको टुसा वा पालुवा हो। यसरी जमरा उमार्दा बिजको उम्रने क्षमताको परीक्षण हुनसक्छ। आफूले भण्डारण गरेर राखेको बिजमा ऊर्वरा क्षमता छ कि छैन भनेर तत्कालीन समाजमा परीक्षण गर्ने पक्रियाको थालनीलाई धार्मिकतामा जोडेर राखिएको हुनसक्छ।
अब बलि प्रथालाई नियालौँ। दसैँमा दिइने बलिलाई लिएर धेरै टीकाटिप्पणी र आलोचना गरिएको पाइन्छ। हुन त यसलाई हिंसाका रूपमा पनि व्याख्या गर्ने गरेको देखिन्छ। नवरात्रिको आठौँ दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा-आजा गरिन्छ। देवी भागवत्अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएकाले महाष्टमीका दिन विशेष पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगा आदि बलि दिइन्छ।

यो बलि प्रथाले मानव सभ्यता कृषि युगबाट पशुपालन युगमा प्रवेश गरेको कुरालाई बुझाउन खोजेको देखिन्छ। किनकि बलि दिने दिन पशु बलि दिनुभन्दा पहिले घिरौला वा कुभिन्डोको बलि दिने गरिन्छ। त्यसपस्चात मात्र पशु बलि दिइन्छ। तसर्थ यो केबल हिंसा मात्र होइन।
त्यस्तै दसैँमा लगाइने टीकाले वीरताको सन्देश दिन्छ। रातो रङमा मुछिएको अक्षताले आसुरी शक्तिमाथि दैविक शक्तिले वजजय प्राप्त गरेको हर्ष बढाइका रूपमा लिने गरिन्छ। मानवीय वीरताको बिरासतको रूपमा रातो रङको प्रयोग भएको पाइन्छ। यसले नराम्रो गुणलाई राम्रो गुणले पराजित गर्ने र त्यसको सहर्ष स्विकारोक्तिका रूपमा बिम्बित गरेको कुरा देखिन्छ। दसैँको टीकालाई केबल विजयको द्योतक मात्र नभई समाजिक जीवनको महिमा उजागर गर्ने कार्यका रूपमा पनि लिनसकिन्छ। टीका ग्रहण गर्नका लागि मानव आफ्ना नाता कुटुम्बको घर जानेगर्छन्। यसले कुनै न कुनै रूपमा मानवीय समाजको समाजिकता बढाउन मद्दत गरेको देखिन्छ। यो मानवीय सामाजिकताको पुनर्ताजकी हो। यसले आफ्ना नाता र कुटुम्बका बिचमा भावना साटासाट गर्न र सम्बन्धको समाजस्यता कायम गर्न मद्दत गरेको देखिन्छ। साथै यसले समाजिक मेलमिलापको बढोत्तरीमा पनि सघाउँछ। टीका ग्रहणका बेलामा दिइने आशिष्को पनि विशेष अर्थ देखिन्छ। आशिष्का रूपमा उच्चारण गरिने मन्त्र यसप्रकार छ-
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान विदुरे भवति भावताम कीर्तिश्च नारायण ॥
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवी कालरात्रि नमोऽस्तु ते ॥
उक्त मन्त्रको अर्थ यस्तो छ-
द्रोणको छोराको जस्तो आयु होस्। दशरथको जस्तो श्रीसम्पति होस्। अनि राम अर्थात् राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस्। नहुषको जस्तो सुख ऐश्वर्य होस्। दुर्योधनको जस्तो मान होस्। सूर्य पुत्र कर्णको जस्तो दान गर्ने मनशाय र भाव होस्। हलो बोकेर हिँड्ने बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता होस्। जीवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधिबाहीर छिन्, उनीप्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनीप्रति हार्दिक नमन दुर्गतीको नाश गर्ने दुर्गाप्रति नमन अनि एकाकार र सर्वशक्तिमान् शिवप्रति नमन । क्षमाकी देवी क्षमाप्रति नमन र सबै जीवकी धातृप्रति नमन, हरेक यज्ञ र दानपुण्यकी देवी स्वाहाप्रति नमन, मानवका हरेक यज्ञ दानपुण्यकी सङ्क्ल्प देवी स्वधाप्रति नमन । सबै जना देवीलाई हार्दिक नमन।
यो त केबल शाब्दिक अर्थ हो। वास्तबमा यसको आसय धेरै माथि रहेको छ। मरणशील जीवनको वास्तविकतालाई उजागर गर्दै जीवन चिरञ्जीवी बनाउने कार्यमा जीवनलाई अगाडि बढाउनुपर्ने भाव ‘आयुर्द्रोणसुते’ ले बताउन खोजेको छ। ‘दशरथको जस्तो सम्पति होस्’ भनेर कर्तव्य पारायण पुत्र (आफ्ना पिताको आज्ञा शिरोपर गर्ने पुत्र नै मुख्य धन भनेर) सांस्कृतिक सभ्यताको धनलाई बुझाउन खोजेको छ। रामको जस्तो शक्तिको कुरा गरेर आफ्नी स्त्रीको रक्षार्थ शत्रुको परास्त गर्न सक्ने बलबुताको भाव झल्काउन खोजिएको छ। ‘ऐश्वर्य नहुषे गतिश्च पवने’ भनेर नहुषको जस्तो ऐश्वर्य प्राप्त होस् भनेर इन्द्रको प्रतिस्थापन गरेर स्वर्गको राजकाज पनि गर्न सकियोस् भन्ने भाव देखाउन खोजिएको छ। यश र कृतिले स्वयम् भगवान्को प्रतिस्थापन गरी मानवको महत्त्वलाई उजागर गरिएको छ। ‘मानञ्च दुर्योधने’ ले दुर्योधनको जस्तो आफ्नो मान राख्न जीवनको आहुति दिन पनि पछि नपरियोस् भन्न खोजिएको छ। आफू हार्न सक्छु भन्ने जान्दाजान्दै पनि आफ्नो सङ्कल्पका लागि युद्धमा होमिएर ज्यान आहुति गर्नसक्ने दुर्योधनको बिम्ब प्रयोग गरिएको छ। ‘शौर्य शान्तनवे’ ले सूर्य पुत्र कर्णको दान गर्ने क्षमता र हेला र हेय भवलाई पनि बेवास्ता गर्न सक्ने शान्त स्वभाव देखाउँदै आवश्यकताअनुरुप मानवमा शान्त गुण पनि हुनुपर्ने भाव देखाउन खोजिएको छ। ‘बलं हलधरे’ ले बलरामको शक्तिको याचना गरिएको छ। बलराम शक्तिशाली हुँदाहुँदै पनि महाभारतको युद्धमा कसैको पक्षनलिई तटस्थ बसेकाले त्यसको बिम्बमा आफ्नो बललाई पक्ष विपक्षमा नराखी आवश्यकताअनुसार तटस्थ बस्नुपर्ने भावको व्याख्या गर्नखोजिएको छ। हलोको बिम्बले कृषिको महत्त्वलाई उजागर गरिएको छ। ‘सत्यञ्च कुन्तीसुते’ ले मानवमा सत्य बचन बोल्न सक्ने साहास खोजिएको छ। ‘विज्ञान विदुरे भवति भावताम’ ले बिदुरको जस्तो ज्ञान र त्यसको प्रयोग गरियोस् भन्न खोजिएको छ। यसले बौद्धिकता राज्य संयन्त्रको डरमा नपरी सत्य बोल्न सक्ने ल्याकत भएको होस् भन्ने कामना गरिएको छ। विदुर धृतराष्टको महामन्त्री भए पनि उनको गल्तीलाई सधैँ कटाक्ष गर्ने पात्रका रापमा उभिएको हुँदा मानवको बौद्धिकता सही र गलत छुट्याउन सक्ने हुनुपर्ने भाव ‘विदुर’ शब्दबाट खोजिएको छ। साथै नरायण भगवान्को कृतिलाई मानव जीवनमा प्राप्ति गर्न खोजिएको छ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥ जस्ता वाक्यांसले केबल पुरुषको बिम्ब मात्र नभई महिलाको पनि महत्त्वलाई उजागर गरिएको छ। यसले महिला र पुरुषको लैङ्गिक समतालाई उजागर गर्दै महिला पुरुष समान रहेको र जीवन लैङ्गिक सहअस्तित्वबाट चल्ने कुरा देखाइएको छ। यसरी दसैँमा दिइने आशिष्ले आदर्श सामजको परिकल्पना गरिएको छ।
अब दसैँमा दिइने दक्षिणाको कुरा गरौँ। यस विषयमा पनि धेरै टिप्पणी गर्ने गरिएको छ। के दसैँमा दक्षिणा दिनैपर्ने बाध्यता हो त? वास्तवमा दसैँमा दक्षिणा दिने कुराको कुनै ठुलो महत्त्व छैन। के हामीलाई थाहा छ? टीका लगाउँदा खोलिएको अञ्जुली केबल आशिष्को लागि थापिएको हो। वैदिक सनातन संस्कारमा खाली हात नहोस् भनेर खोलिएको हातमा सगुन हालिदिने चलन छ। तसर्थ उक्त खोलिएको हातमा सगुनस्वरुप फूलपाती या कुनै फल मात्र पनि राखिदिन सकिन्छ। तर त्यसलाई बिस्तारै आफ्नो सम्पन्ताको सूचकको रूपमा पैसा दिन थालिएको हो। तसर्थ दसैँको टीका लगाएर पैसा नै दक्षिणाका रूपमा दिनुपर्ने बाध्यात्मक व्यवस्था होइन।
अन्त्यमा दसैँ एउटा वैदिक सनातन धर्मको विशेष चाड हो। यसले मानवको सम्पूर्ण चारित्रिक विकासका बारेमा आदर्श भाव व्यक्त गरेको छ। हामीले यसलाई विशेष पर्वका रूपमा मनाउनुपर्छ।
लेखकको सम्वन्धमा