February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

फाउनटेन पेन

प्राइमरी स्कुलमा छदाँ
फाउनटेन पेनले लेख्नुपर्थ्यो
लेख्दालेख्दै दिनहुँ मेरा सेता हातहरू,
काला निला मसीले पोतिन्थे
 
आज पनि मसीझैं
यादका लहरहरूले पोतिएको छ
फरक यति हो, मसीले हात पोतिन्थ्यो
यादले मन पोतिएको छ
फरक यति हो
स्कुलबाट फर्केपछि
हातको मसी सजिलै पखालेर जान्थ्यो
यादहरू पखाल्न नसकिँदो रहेछ
 
त्यस बेला मसीले पोतिएको हात दुख्दैनथ्यो
अहिले यादले पोतिएको मन दुखिरहन्छ
 
पेनको पाइप जोरले थिच्दा
मसी ओभरफ्लो भएर
हातदेखि मुखसम्म छ्यापिन्थ्यो
यादहरू मुटुदेखि ओभरफ्लो हुँदा
धमनीमा आँसु बनेर आँखाभिर छ्यापिन्छ
 
अँ, साच्चै
फाउनटेन पेन चलाउन नजानेर
मसी हातभरि पोखिन्थ्यो
अहिले यादहरू सम्हाल्न नजानेर मन दुखिरहन्छ
 
फरक त यो पनि हो कि
मसीले गर्दा, फाउनटेन पेन मन नपराउने भएँ
नमिठा यादहरूले गर्दा आज तिमी मन पर्दैनौ
 
त्यसैले कँही कतै कसैले मलाई सोधे हुने-
'के छ त्यस्तो तिमीले घृणा गर्ने ?'
कहीँ कतै कसैले पनि नसोध्ने
यो प्रश्नको जवाफ मैले सजिलै दिन्थेँ-
'एक, फाउनटेन पेन
अर्को, ..उनी'