विवशता र इमान्दारिता
कोभिड–१९ आतङ्कको अर्धवार्षिक समापनपछि विद्यालय जान असोज महिनाको सुनौलो सोमबार बिहान उठेँं । आश्रित लालाबाला र वृद्ध बुबाआमा सपनाकै संसारमा रमाइरहेका बेला नित्यकर्म सकेँ । स्कुल जाने तयारीमा केही समय बाटो र बाटाका साथी, ठुला ठुला बस गाडी सम्झिएँ— करिब ३० किलोमिटर यात्रा बनेपा–धुलिखेल–पाँचखाल–पलानचोक हुँदै खरेलथोकसम्म ।
भान्सामा गृहिणी गुनगुनाउँदै थिइन् । सुन्ने समय नै थिएन । खाना खाने बेला भइसकेको छैन । चिया–खाजा सँगै भयो । बुबाको नित्य पञ्चाङ्ग पूजाको घण्टी र मेरो च्यापु सँगसँगै चल्नथाले । म हिँड्न तयार भएँ । साना छोराले भने, ‘बेलुका आउँदा मलाई चकलेट ल्याइदिनु ।’ अलिक ठुली छोरीले भनिन्, ‘मलाई ट्याब ल्याइदिनु । अनलाइनमा पढ्न मलाई ट्याब नभई भएन के ।’ बाहिर निस्किएर आमाले भन्नुभयो, ‘बिस्तारै जानु, बाटो कस्तो छ !’ श्रीमतीले भनिन्, ‘पुगेर फोन गर्नु है ।’ साना बाबु फेरि कराए, ‘खेलौना, मलाई एउटा खेलौना पनि है ।’
यी सबै कुराको आशय एउटै थियो– ‘पैसा चाहिएको छ ।’ तर यी सबै छोराछोरी, बुबाआमा र श्रीमतीका मिठा शब्द थिए । यिनै प्रिय शब्दका उच्चारणले कान पवित्र बनाउँदै मैले मोटरसाइकल स्टार्ट गरेँ । मलाई बस्न असहज भयो । पाइन्ट टाइट भएर होला । पर्स बिजाएजस्तो लाग्यो । पाइन्टका पछाडिका गोजीको पर्स झिकेर झोलाका गोजीमा राखेँ र म गन्तव्यतर्फ हुइँकिएँ ।
अरनिको राजमार्ग छुनुभन्दा २०० मिटर परैबाट एउटा मानिस दौडिएको प्रस्टै देखियो । जिन्स पाइन्ट, रातो छत्रे टोपी, स्पोर्टस जुत्ता, हातमा एउटा पानीको बोतल र कानमा एयरफोसहितको युवकले यतिबेलासम्म चारपाँचवटा मोटरसाइकललाई सहयोग स्वरुप रोक्न आग्रह गरिसकेको थियो । तर उसले सहयोग पाएन । उसले मलाई रोक्ने प्रयास ग¥यो । मनको धनी म मास्टरले सहयोग गरेँ । मेरो लुगाको रङले नै उसले मलाई सहजै चिन्यो र ‘सर’ शब्दले सम्बोधन गरिहाल्यो । ‘दोलखा चरिकोट जानलागेको, गाडी पम्पमा थियो । पानी किन्न ओर्लिएको थिएँ । गाडी हिँडेछ सर । म वडा कार्यालयको सचिव’– उसले भनिरह्यो; मैले सुनिरहेँ ।
चार दोबाटो पुगियो । ‘जोसुकैलाई लिफ्ट दिन पनि गाह्रो छ है भाइ’– मैले भनेँ । अगाडि एउटा बस देखेर उसले भन्यो, ‘गाडी रोकिदिनुहुन्छ कि !’ मैले बाइक रोकेँ; ऊ अर्लियो र भन्यो, ‘धन्यवाद सर !’ मैले मिररबाट हेरेँं– त्यो मानिस ढोकाबाट गाडीभित्र चढ्न सकेन । म रोकिएँ । बस मेरा अगाडि लाग्यो । त्यो मानिस पछाडिपट्टि भ¥याङ्मा समाएर गाडीमा चढ्यो । गाडीका हुटबाट बिदाइको हात हल्लाउँदै ऊ गयो । मैले बायाँ हात उठाएर उसलाई बिदा दिएँ । अगाडि दौडिरहेको बस घुम्तीमा छेकियो ।
म भगवती पेट्रोल पम्पमा छिरेँ । छ सयको तेल भरेर भिर्ने झोलाको पछाडिको फस्नर खोलेँ । त्यहाँ मेरो पर्स त छैन । एकछिन अघि मैले पाइन्टका गोजीबाट झिकेर झोलाका गोजीमा पर्स राखेको हुँ । तर अहिले पर्स छैन । मैले यथार्थ भन्दा पम्पवाला भाइले पत्याएनन् । ‘गएर पैसा लिएर आउनू’ उनले भने । ‘मोबायलमा पैसा हाल्न मिल्छ ?’ मैले सोधेँ । उनले ‘हुन्छ’ भनेपछि डाटा लिएर रु. ६०० दिएँ ।
पर्स हराएकोमा मलाई चिन्ता भयो । श्रीमतीले पो झिकिन् कि भन्ने लाग्यो र घरमा फोन गरें– ‘हेलो’ । उताबाट छोरी बोलिन्, ‘बाबा किन ?’ ‘फोन ममीलाई देऊ न नानी ।’ मैले भनेँ । श्रीमतीको बोली सुनेपछि म बोलेँ, ‘ए सुन त, मेरो पर्स पनि झिक्यौ तिमीले ।’ उनी रिसाइन्, ‘कहाँ राख्नुभएको थियो, राम्ररी हेर्नू । म किन झिक्थेँ ।’ मेरो मन भने भारी भइरह्यो ।
मनमा अनेक प्रकारका कुरा खेलिरहे । म भरखर आपूmले सहयोग गरेको भलादमी यात्री सम्झँदै स्कुल पुग्दा १०ः३० भइसकेको थियो । एक जना सरले ठट्टा गर्दै भन्नुभयो, ‘आज आउनु हुन्न भनेको होइन ?’ मैले भनेँ, ‘त्यो सबै विरोधीको प्रपोगान्डा हो ।’ अफिसमा एक प्रकारको हाँसो छुट्यो । म भारी मन लिएर कक्षामा प्रवेश गरँे । पछि खाना खाने समयमा साथीहरूसँग छलफल चलाएँ । सबै बेलीबिस्तार लगाएँ । मिश्रित प्रतिक्रिया आयो । धेरै साथीहरूले चोरीसँग सम्बन्धित अनेक किस्सा सुनाए । त्यो मानिस जो मेरो बाइकमा जम्मा दुई मिनेट बसेको थियो, अब ऊ एउटा व्यवसायिक चोर थियो भन्ने कुरामा ढुक्क भएँ । आफ्नो चिरपरिचित कमजोरी सम्झेर पश्चाताप गरेँ । ‘तनाव नलिनू सर, कस्ता कस्ता घटना त घट्छन्’ मलाई एक जना शिक्षक साथीले सम्झाउँदै भन्नुभयो । म अलि ढुक्क भएँ ।
अपरान्ह विद्यालयबाट हामी सबै सँगै छुट्यौं । सबैको अनुहारले मलाई जिस्क्याएझैं लागिरहेको थियो । ‘पैसा नबोकी त कसरी यात्रा गर्नु ?’ मेरा मनले भन्यो । अनायास मेरो गाडी रोकियो । रमेश सरसँग अलिकति सापटी लिएर भारी मनसहित बाटो लागें । मनमनै सोचें, ‘यी रमेश सर मात्रै एउटा यस्ता मान्छे हुन् जो सापटीका अपवाद हुन्, जो सहजै दिन्छन् र माग्न जान्दैनन् ।’
घरमा पुग्नासाथ सबै विषयवस्तु पूरापूर बताएँ । प्रतिक्रिया मिश्रित नै आयो । सबै निराश भयौँ । यतिकैमा टेबुलमा भएको मोबाइलमा घण्टी बज्यो । हेरेँ, अपरिचित नम्बर थियो । केही ढिला गरेर फोन उठाएँ । ‘सर नमस्कार’ टड्कारो स्वर सुनियो– ‘कहाँ हुनुहुन्छ ?’ मैले भनेँ, ‘घरमा । को बोल्नुभएको ?’ उताबाट आवाज आयो, ‘बिहानै के सर, तपाईंको बाइकमा लिफ्ट लिएको मान्छे बोल्दैछु । वडा सचिव, सिन्धुपाल्चोकमा छु अहिले ।’ म छक्क परेँ । केही समय त बोल्न नै सकिनँ । उसले भन्यो, ‘सर आज मैले हजुरको पर्स चोरेँ नि ।’ ‘भाइ किन त्यस्तो गरेको ? तिमीले मागेको भए म तिमीलाई सबै पैसा दिन्थेँ ।’ मैले भनेँ । उताबाट आवाज आयो, ‘सर म बिहान ५ बजे रत्नपार्कबाट बस चढें । लामो समयपछि अफिस जानुपरेकाले ठुलो ब्याग बोकेको थिएँ । कौशलटार आसपासमा पुग्दा एकाएक म पाकेटमारको सिकार भएँ र मसँग आफू सवार गाडीको भाडा तिर्ने पैसा पनि भएन । साँगा पुग्नुअगाडि नै सबै जनाले गाडीभाडा तिर्नु नत्र गाडीबाट ओरालिदिन्छु भन्दै बसका कर्मचारीले थर्काउन थाले । म पीडित भएँ । बसका कर्मचारीले पत्याएनन् । म ऊसँग लड्दै भिड्दै बससँगै अगाडि बड्दै थिएँ । बस रोकेर मलाई जबरजस्ती पुल बजारमा ओरालिदिए । आफ्नो झोला झिक्नसम्म पाइएन । त्यसपछि बसलाई भेटेर आफ्नो सामानसहितको झोला लिनुपर्ने बाध्यता मसँग थियो । त्यसैले म भौतारिरहेको थिएँ । मेरो संयोग हजुरससँग मिल्यो । म बाइकको पछाडि बसेँ । बिस्तारै बिस्तारै बाइक गुडिरह्यो । साह्रै डर लागिरहेको थियो । जिउ काँपिरहेको थियो । यही मौकामा मैले पछाडिको भिर्ने झोलाको खुला गोजीमा पर्स देखें । के खोज्छस् काना आँखो भनेझैं भयो । त्यसपछि म चारदोबाटोमा आर्लिएँ । छुटेको गाडी समाएँ र गन्तव्यमा पुगेँ । मलाई माफ गर्नुहोला । म हजुरको पर्स जस्ताको तस्तै लिएर अर्को हप्ता आउँछु ।’ उसको कुराले हामी ढुक्क भयौँ ।
खाना खाएर सुत्ने बेलामा श्रीमतीले भनिन्, ‘बिचरा इमान्दार रहेछ तर बाध्यतामा परेछ ।’ म भने चोर र चोरीका अनेक किस्सा सम्झँदै विस्वस्त हुन सकिनँ ।
लेखकको सम्वन्धमा