December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

आखिर जिम्मेवार को त ?

समृद्ध नेपाल बनाउँदाबनाउँदै नेपालीमा मानवीय समृद्धि आयो त ? आधुनिकीकरणले पाश्चात्य संस्कृति–विकृतिलाई निम्त्यायो, पाश्चात्य मानवीय चेतनालाई निम्त्यायो त ? सधँ भौतिक पूर्वाधारको विकासलाई मात्र विकास भएको ठान्ने हामी नेपालीको व्यवहार र जीवनको स्तरमा परिवर्तन आयो त ? मानसिक रुपमा हामी विकसित भयौँ त ? सधैँ विविधतामा एकता खोजिरहने नेपाली चेलीको इज्जत र जीवनमा प्रहार हुँदा हामी हामी एकजुट भयौँ त ? यसरी नियालेर नै हेर्ने हो भने अथाहा प्रश्नहरु मनमा खेलिरहन्छन् र निष्कर्षमा पनि उही प्रश्न आइरहन्छ– आखिर जिम्मेवार को त ?

देशको अर्थतन्त्र कमजोर हुँदै गयो, विकास भएन, देशमा समृद्धि आएन, भ्रष्टाचारले मानवको चरित्र र कर्मलाई पच्छ्यायो । यी सबै कुराका लागि कसैलाई सोधियो भने सबैका मुखमा एउटै जवाफ झुन्डिएको छ– ‘आखिर देशका नेताहरु नै त्यस्तै हुन् ।’ एक मिनेट समय दिएर मात्र सोचौँ त, के नेताहरु मत्र जिम्मेवार छन् त यी सबका लागि ? के हामी सर्वसाधारण पनि उत्तिकै जिम्मेवार छैनौँ र ? आखिर जुन नेताले गर्दा आज देशको अवस्था यस्तो छ, तिनलाई त्यहाँसम्म पुर्याउने हामी नै हैनौँ र ? फेरि भन्नुहोला, ‘हामी जनताले के ग¥यौँ ? हामीले त मात्र भोट हालेका हौँ । देश लुट्ने त हामी होइनौँ ।’ आफ्ना प्रतिनिधि छान्ने बेलामा दुई चोक्टा मासु र एक बोतल रक्सी अथवा दुईचार पैसामा लोभिएर आफ्नो अमूल्य भोट बेच्ने हामी नै होइनौँ र ? जुन नेताले आफ्नो लगानीमा तपाईँ–हामीलाई रक्सी र मासु खुवायो अथवा दुईचार पैसा बाँढ्यो त्यसले भोलि राष्ट्रको ढुकुटी रित्याउला भन्ने कुरा तपाईं–हामीलाई कहिल्यै लागेन है ? उनीहरुलाई भ्रष्टाचारको मार्गमा हिँडाउने प्रेरक व्यक्ति नै तपाईं–हामी हौँ । अब भन्नुस्– आखिर जिम्मेवार को त ?

मनमा फेरि अर्को कुरा आउँछ, के पैसा (धनसम्पत्ति) को घोटाला गर्नेहरु मात्र भ्रष्टाचारी हुन् ? तपाईंलाई के लाग्छ ? मेरा विचारमा कर्तव्यको बोध हुँदाहुँदै कर्तव्यप्रति निष्ठावान् नहुने सम्पूर्ण व्यक्ति भ्रष्टाचारी हुन् । एउटा विद्यार्थी जसको कर्तव्य अध्ययन गर्नु हो, यदि ऊ अध्ययनमा सक्रिय छैन, आफ्नो कर्म गरिरहेको छैन भने ऊ भ्रष्टाचारी हो । कुनै अभिभावकले आफ्नो भौतिक सुखका निम्ति अभिभावकत्व निर्वाह गरेन भने ऊ पनि भ्रष्टाचारी हो । एउटा कर्मचारी कार्यालयमा समयममा पुग्दैन भने ऊ पनि भ्रष्टाचारी हो । विभिन्न रोग, पीडाले ग्रसित रोगीको सेवामा समर्पित नहुने डाक्टर भ्रष्टाचाारी हो । विभिन्न प्रकारका आश्वासन र बाचा गरेर तिनलाई पूरा नगर्ने नेता भ्रष्टाचारी हुन् । समयानुकूल परिस्थितिलाई सम्झेर आफ्ना कर्तव्य र जिम्मेवारीलाई निरन्तरता नदिनेहरु सब भ्रष्टचारी हुन् । अब यस सन्दर्भसँग हामी आफूलाई दाँजेर हेरौँ त, कतै हामी पनि यहीभित्र त पर्दैनौँ ? कहीँ न कहीँ त पक्कै पछैँ । अनि कसरी सम्भव छ– समृद्ध नेपाल ?

फेरि भन्नुहोला कि ममाथि भ्रष्टाचारीको उपमा लाग्दैन ? म त्यसलाई सहजै स्वीकार गर्छु किनभने मानवीय चरित्र मलाई थाहा छ । आफ्नो गल्ती हामी सहजै स्विकार्दैनौँ । यसैले हामीलाई कहीँ न कहीँ भ्रष्टाचारी बनाउँछ । हाम्रो सोचाइमा भौतिक संरचनाको निर्माण मात्र विकास हो ।

भौतिक रुपले जतिसुकै समृद्ध भए पनि जबसम्म हामी मानसिक रुपले परिवर्तित हुनसक्दैनौँ तबसम्म समृद्ध नेपालको कल्पना गर्नु पनि धेरै टाढा छ । हामी भन्छौँ, ‘नेपालमा के नै छ र ? यहाँ के नै गर्न सकिन्छ र ?’ हो यही कुरालाई जबसम्म यसरी भन्ने आँट आउँदैन कि ‘नेपालमा के छैन र त्यसका लागि म के गर्नसक्छु ?’ तबसम्म नेपाल समृद्ध हुनसक्दैन । सरकारले मात्र देश विकसित गर्ने होइन, एक एक नेपालीले आफ्नो मानसिकतामा परिवर्तन गरेर देश निर्माणमा योगदान दिनुपर्छ ।

ठेकेदारले कमसल सामानको प्रयोग गरी बनाएको पुल भत्की केही व्यक्तिले ज्यान गुमाएको दृश्य हेर्न हामी हुल बाँधेर जान्छौँ । के हामी कहिल्यै निर्माणाधीन पुलको सर्वेक्षणमा गयौँ ? हामी अभिभावक हाम्रा बालबालिकालाई विद्यालयमा पास गराउन खुसामत गर्छौँ तर नियमित रुपमा बालबालिकाले पढे कि पढेनन् भन्ने कुरा हेर्न कहिल्यै विद्यालय पुग्यौँ ? नेताले लुटेको यस देशमा कहिल्यै विरोधका स्वरहरु उठायौँ ? कहिल्यै स्वच्छ छवि भएका उम्मेदवारको चयन गर्यौँ ? फेरि भन्नुहोला– नेपालमा स्वच्छ छविका नेता नै कहाँ पाइन्छन् र ? यदि त्यस्तो हो भने हामी निःस्वार्थ भावनाले आफै नेतृत्व गर्न अघि बढ्यौँ त ? कहिल्यै हाम्रो समाजको विकसका लागि माथिल्लो निकायमा एकजुट भएर पुग्यौँ ? समृद्धिका निम्ति व्यक्तिगत स्तरबाट हामीले के गर्‌यौँ ?

न्यायका लागि दिनरात लडिरहँदा बलत्कार र हत्याजस्ता हृदयविदारक हिंसात्मक गतिविधिका अपराधीलाई के हामीले अहिलेसम्म सामाजिक बहिष्कार गर्नसकेका छौँ ? ‘यसले मलाई के फरक पर्छ र ? मेरो घरका कुनै सदस्यलाई केही भएको छैन ? यो मेरो समुदायसँग सम्बन्धित विषय नै होइन । यो त पल्लो गाउँ/टोलको समस्या पो ।’ यस्तै सोचले हामी उम्कनखोजिरह्यौँ । के यस्तै सोचले समृद्ध नेपाल र हामी सभ्य नेपाली बनौँला त ?

यस्ता घटना र उदाहारण कति छन् कति । तिनको बेलीबिस्तार लगाउन यहाँ सम्भव पनि छैन । तर, के यस्तै सोचले देश बन्ला त । पक्कै पनि बन्दैन । आखिर यसमा जिम्मेवार को त ?