संस्कार कि तगारो ?

मानिस सबभन्दा पहिला विशाल ब्रम्हाण्डको एउटा सानो जीव अनि त्यसपछि एउटा ग्रहमा भएका धेरै प्राणीहरुमध्येको एउटा जाति हो । बौद्धिक स्तर उच्च भएको हुँदा पृथ्वीका सबै प्राणीमाथि हस्तक्षेप गरेर कथित सर्वोत्कृृष्ट बन्न सफल प्राणीले समय चक्रसंँगै आफू अनुकूलको संसार बनाउन राम्रा नराम्रा हरेक कार्यहरु गर्दै आइरहेको छ । प्रविधिको विस्तारले जीवन सरल र सहज बन्दै जाँदा सो सहजताबाटै विकटता पनि निम्तिएकै छन् । वर्तमान अवस्थामा एउटा सानो प्रोटिनको पिण्ड– कोरोना भाइरसले लाग्ने (कोभिड–१९) रोगबाट आक्रान्त बन्नपुगेको छ । यद्यपि अन्य जाति, जीव, समाज, संस्कृति र विभिन्न खाले प्रवृतिहरुद्वारा सिर्जित विभेदहरुले कालान्तरमा आँफैलाई हानी गर्ने तथ्यलाई स्विकार्न मानिसलाई हम्मे परेकै छ ।
त्यसैले, आफ्नै जातिका विभिन्न थरी प्राणीहरुमाथि पनि अनेक बहानामा हस्तक्षेप गर्दै आफूलाई उत्कृष्ट सावित गर्न हर समय प्रयत्नरत रहने एक अनौठो जीव नै मानिस हो भन्दा पनि अत्युक्ति नहोला । छालाको रंगको आधारमा आफूलाई विवेकशील ठान्दै अरुलाई दवाउन र आफ्नो स्वार्थ सिद्धिमा प्रयोग गर्न सिपालु मानिसलाई सामाजिक, आर्थिक, जातीय, लैंगिक, भौगोलिक आधारमा अरुमाथि हावी हुनु त स्वभाविक नै भैहाल्यो । त्यसैले त सदियौँदेखि आफ्नो स्वार्थ अनुकूलका ग्रन्थहरुको सिर्जना गर्दै पाप र पुण्यको पाठमा सबैलाई चुर्लुम्म डुबाएर असमान व्यवस्थाहरुका कारण मूलधारबाट टाढिन बाध्य पारिएका जातिहरुलाई वशमा पारेर राज गर्न कुनै असजिलोपनको आभास नै गर्दैन नकि आफ्नो प्रतिकूल उठेका आवाजहरुलाई मर्यादा, संस्कृति र सनातनदेखि मान्दै आएको धर्ममाथिको प्रहार सम्झन्छ । अनि बिर्सन्छ, मानिस मानिस ठुलो र सानो, मूलधारको र सीमान्तकृत, संरचनात्मक लाभांश प्राप्त गर्न योग्य र अयोग्य कसरी भयो भन्ने विषय ।
एकातिर एक रथका दुई पाङ्ग्रा, जीवनका सहयात्री,आधा–आधा आकाश ढाकेको जनसङ्ख्या भन्दै अर्कातिर दिमाग नभएका, बल नभएका, चार दिवारभित्रै रमाउन लायक प्राणीको रुपमा महिलाई परिभाषित गर्न सक्ने स्थितिको सृजना गर्न सदियौंबाट थुप्रै राजनीतिहरु भएका छन् । गार्गी, मैत्रेयीजस्ता विदुषी नारीहरु वेद लेखनमा अभ्यस्त थिए भन्ने तथ्य लुकाउँदै महिलाले वेद पढ्न हुन्न भन्ने सम्मका विचारहरुलाई सत्य बताउँदै शिक्षाको ज्योतिबाट महिलालाई पर पन्साउने प्रवृत्ति मौलाएर कालान्तरमा महिलाको दिमाग, शरीर र अस्तित्वमाथि हावी हुन सक्ने संस्कृतिको विकास हुँदै गएको कुरातिर सहजै आँखा चिम्लिदिन्छौं हामी । अनि अहिले बिस्तारै महिला शिक्षित र कुरो बुझ्दै जानथालेको सन्दर्भमा जीवनका खुसीहरुबिच तगारो बन्ने गरेका कतिपय भाष्य, मिथक, सामाजिक संरचना र सांस्कृतिक परम्परा परिमार्जन गर्नुपर्छ भनेर उठेका आवाजहरुलाई दवाउन हरसम्भव प्रयासरत रहन्छौं । एउटा सानो उदाहरणका रुपमा भर्खरै मात्र नारी पुरुष दुवै बराबरी भन्ने बोलको सोफिया थापाको गीतले राम्रैसंँग धर्म र आस्थामाथि खलल पु¥याएको आरोप खेप्नुपेको तथ्य हाम्रो सामु छर्लङग छ ।
रामायणमा सीताको अग्नि परीक्षापछाडिको रहस्य, महाभारतका नियोग प्रथामा महिलाको शरीरलाई वस्तुकरण गरिएका विषय तथा बुद्धत्व प्राप्त गरेका सिद्धार्थ गाौतम परम पुज्य हुँदै गर्दा एक्लै बालक जन्माई हुर्काउन विवश यशोधराले पारिवारिक बन्धनभित्रै प्राप्त गरेको बुद्धत्वको कथा सजिलै ओझेल पारिन्छन् तर समानताको पक्षमा उठेका आवाजहरुलाई मर्यादा बिगार्न खोजेको र संस्कार बिगार्न खोजेको भन्ने आरोपका साथ हरसम्भव दबाउन प्रयास गरिन्छन् ।
‘एक पुरुषलाई दिएको शिक्षाले एक पुरुषलाई मात्र शिक्षित बनाउँछ तर एक महिला शिक्षित हुनु भनेको परिवार शिक्षित हुनु हो ।’ भन्ने खालका भनाइ अवको जमानामा सान्दर्भिक लाग्दैनन् । परिवार शिक्षित बनाउन त साथमा साथ काँधमा काँध मिलाएर परिवारका सदस्यहरु लाग्नुपर्छ । शिक्षित महिला पुरुष दुवैलाई आफूले पाएको शिक्षामा धार लगाइरहन आवश्यक हुन्छ भन्ने तर शिक्षित र कामकाजी पुरुषको तुलनामा महिलाहरुलाई घरायसी कार्यबोझको परिबन्दले बढी नै थिच्नेगर्दछ । अफिस र घरको दोहोरो कार्यबोझका कारण दुवै क्षेत्रमा कुशलतापूर्वक कार्य निभाउन गाह्रो भइराखेको हुन्छ । यसको कारण खोज्नको सट्टा महिलाहरुको निर्णय क्षमता वा कार्यदक्षतामा सजिलै प्रश्न उठाउने गरिएको पाइन्छ । जीवन रथ हाँक्ने सहयात्रीहरुमा कार्यबोझको भिन्नताले दुवै पक्षलाई सहज रुपमा दौडन दिँदैन । त्यसैले पितृसत्ताले थोपरेका लैंगिक भूमिका निर्वाह गर्नखोज्दा दुवै पक्षलाई हानि पुगिरहेको हुन्छ ।
महिला र पुरुषको भूमिकालाई लिएर चर्चा गर्ने हो भने अझै पनि हामी अठारौं शताब्दीमै छौं कि भन्ने भान हुन छोड्दैन । जसलाई तलका दुई सन्दर्भले अझ प्रस्ट पार्ने छन् ।
सन्दर्भ– १
टिङ् रिङ् रिङ्…… टिङ् रिङ् रिङ्…
‘हेल्लो’
‘हेल्लो सचिव सरलाई दिनु न ।’
‘तपाँर्इं सचिव म्याडमसंँग बोल्दै हुनुहुन्छ । भन्नुहोस् के थियो ।’
‘त्यही त के, सरलाई दिनु न छिटो, काम भएरै त फोन गरेको नि ।’
सन्दर्भ–२
‘शर्मिला खोई ?’
‘स्टडी रुममा छिन् ।’
‘के काम गर्न लागिछिन्् र त्यस्तो ?’
‘अफिसमा प्रतिवेदन पेस गर्नुछ भन्दै थिइन् त्यसैको तयारी होला ।’
‘घरका काम तिमीले गरेर तिनी पढेको त कत्ति सुहाएन भो । घरका स्यानातिना काम त आइमाईले नै गर्नुपर्छ । सजिलो श्रीमान् पाएँ भनेर साह्रै मातिएकी छन् हाम्री बुहारी ।’
यी माथिका दुईवटा प्रसङ्गले बताउँछन् कि अफिसियल भूमिकामा महिलालाई स्विकार्ने र पुरुषलाई घरको काममा संग्लग्न हुनुलाई सहज मान्ने परिपाटी अझै बनिसकेको छैन हाम्रो समाजमा ।

विश्वविद्यालयमा अध्ययन गर्दा उस्तै नतिजा ल्याउने गरेका र उत्तिकै स्मार्ट विद्यार्थीहरु पारिवारिक बन्धनमा बाँधिएपछि महिला उत्तिकै रफ्तारमा प्रगति पथमा लम्किन नसकेमा ‘पढेर मात्रै कहाँ हुन्छ र ? पुरुषहरुसंँग महिलाले दाँजो गर्नै सक्दैनन्…’ भन्ने खालका टिप्पणी सुन्नमा आउँछन् तर घर र अफिसको दोहोरो कार्यबोझले थिचेर महिलाहरुले आफ्नो बौद्धिकताको प्रयोग निर्बाध रुपमा गर्न नसकेको कुरालाई सजिलै नजरअन्दाज गरिन्छ ।
सरकारले महिलालाई प्रशासनिक र नीति निर्माणको तहमा पु¥याउन समावेशीकरणका औजारहरु जस्तै आरक्षण, समानुपातिक प्रतिनिधित्व जस्ता एकाध व्यवस्थाहरु त गरेको छ, तर त्यसको व्यवहारिक पक्षलाई स्विकार्न सक्ने क्षमता नीति निर्माताहरुमै त पाउन गाह्रो हुन्छ भने र्धािर्मक र संस्कारजन्य कट्टरता अंँगालेर जीवनयापन गरिरहेका सर्वसाधारणले कसरी बुझ्न सकुन् । नत्र संविधानमा व्यवस्था भइसकेका कतिपय समानतामूलक प्रावधानहरुलाई कार्यान्वयनमा ल्याउन निर्माण गरिने कानुनहरु बन्न ढिलाइ नै किन भइरहेको छ । अंश र वंशमा सन्तानको हक स्थापित गर्न गाह्रो हुनुपर्ने अवस्थाको सृजना हुनुको पछाडि विद्यमान् करणहरु खोज्ने फुर्सत कत्तिको छ हामीलाई ? सतहमा बहस गरेर राज्यको आधा जनसङ्ख्यालाई कुनामा पन्साइराख्दा सुखी र समृद्ध राज्यको परिकल्पना कसरी साकार हुन्छ ? महिलाको अस्तित्वलाई वस्तुकरण गर्दै बनाइएका संस्कारहरु नै होइनन् र महिलामाथि एसिड आक्रमण, बलात्कारजस्ता हिंसाहरु हुनुपछाडिका कारणहरु ?
सरकारले व्यवस्था गरेका महिला मैत्री व्यवस्थाहरुले केही हदसम्म महिलाहरुलाई शासकीय भूमिकामा पु¥याउन मद्दत गरेको छ तर महिलाकै बढी संग्लग्नता खोजिने सामाजिक, सांस्कृतिक भूमिकाहरु निभाउँदै शासकीय र नीति निर्माणका तहमा महिलाहरु पुग्नु चानचुने कुरो पटक्कै होइन किनकि हाम्रो समाजले महिलालाई घरेलु कामदारकै रुपमा बढी स्विकारेको तथ्यलाई नकार्न सकिंँदैन ।
घरका हरेक सदस्यले एकअर्कलाई सम्मानका नजरले हेर्ने र सोहीअनुसारको व्यवहार गर्ने औँलामै गन्न सकिने परिवारहरुमा पनि सामाजिक सोचले प्रभाव पारेर पारिवारिक स्वास्थ्य खलल हुने गरेके पाइन्छ । उदाहरणको रुपमा, बिहान सुमधुर सम्बन्धसहित ‘बुहारी, त्यति थोरै खाएर कहाँ हुन्छ, दिनभरि खट्टिन गाह्रो हुन्छ नि !’ भनेर बुहारीलाई अफिस पठाएकी सासू बेलुकी बुहारी घर छिर्दा गमक्क परेर बसेकी छन् भने बुझ्दा हुन्छ, छिमेकी वा आफन्तबाट राम्रै उकेरा लागेको छ दिउँसोभरिमा । अनि त्यस्तो दिनमा बुहारीले ‘थाकेको छु, सञ्चो भएन’ भन्ने जस्ता वाक्यहरु बोल्ने हो भने त सम्झनुहोस् कि त बुहारीको पीडा डबल हुन्छ या सासूलाई कस्ती बुहारी पाएछु भनेर रातभरि निन्द्रा नै लाग्दैन । अब तपाँईं भन्नुहोला, त्यस्ता उकेरा लाउने व्यक्ति पनि त महिला नै होलान् नि । हो सदियौंदेखि शिक्षाबाट वञ्चित रहेर पराई घर जाने जातका रुपमा आफैलाई चिन्दै आएका तथा हजुरामा र आमाहरुबाट सिक्दै आएका तिनै विभेदपूर्ण धार्मिक ग्रन्थहरुका कथाहरु नै होइनन् र ज्ञानका रुपमा मानसपटलमा रहने गरेको र आफ्ना सन्तानहरुमा सार्दै लैजाने गरेको ? अनि पुराणहरुको माध्यमबाट त्यस्ता विभेदकारी कथाहरुको पाठ पढाउने गुरुहरु पुरुष हुने गरेको तथ्य महिला नै महिलाको शत्रु हुन् भन्दै गर्दा किन बिर्सन्छौं हामी ?
जागिरे आमाका सन्तानहरुका असहजता पनि पोखिनसक्नुकै हुन्छन् । महिलाले जागिर खानुलाई सहजै स्विकार्न थालेको समाजले आमा बच्चाको सम्बन्धलाई स्वस्थ राख्ने प्रयत्नमा भने धेरै सोंच्नै नपाएको हो कि जस्तो लाग्छ । भविष्यका कर्णधार बच्चाहरुले प्रशस्त आमाको साथ पाएर हुर्कन पाउनुपर्छ भन्ने यथार्थ बोधलाई साकार पार्न कामकाजी महिलाहरुलाई आवश्यक बिदा र सहजताको व्यवस्था गर्नको सट्टा बच्चा जन्मिने भएपछि जागिरबाट निकाल्ने, ‘अफिस र परिवार जोड्न पाइन्न ।’ भन्ने खालका कथ्यले आठ घन्टे जागिर र चौबिस घन्टे बच्चाको ड्युटी निभाउन असहज बनाउने जस्ता व्यवहारहरु गरेको पाइन्छ भने दिनभरि अफिस गएर आएकी आमाको बच्चासँग समय बिताउन पर्ने आवश्यक्तालाई लत्याउँदै परिवारका सदस्यहरु बुहारीले गर्नुपर्ने भनी कार्यविभाजन गरिएका परिवारिक सेवालाई बढी महत्त्व दिने गर्दछन् ।
अफिसबाट फर्किएकी आमासँंग बच्चाः
‘मम्मी, काखमा बस्छु न ।’
‘पख है मम्मी यति भाँडा माझिसक्छु अनि ।’
‘मलाई हजुरसंँग बस्न मन लागेको छ ।’
‘पख न मम्मी माम पकाउँछु अनि है ।’
‘मम्मी मलाई हजुरसंँगै पढ्न मन पर्छ ।’
‘एकछिन् है सानु, मम्मी काम सकिहालेँ ।’
‘मम्मी छिटो आउनु न मसंँग खेल्न ।’
(बच्चा रुन थाल्छ)
‘उता जाऊ ।’
(मम्मीको गहभरि आँसु हुन्छ)
मम्मीको कुर्ताको फेरो समाउँदै मम्मीसँंग समय बिताउन खोजिराखेको बच्चाको मनोविज्ञान र मम्मीको बच्चासँग समय बिताउने आवश्यक्तासँगै मम्मीलाई बच्चाको कुरा टार्न कति गाह्रो भइराखेको होला भन्ने विषय परिवारका सदस्यहरुको लागि त्यति महत्त्व राख्दैनन् तर मनभरि भएर मम्मीले ‘उता जाऊ ।’ भनेर बच्चालाई चर्को बोलेका कुरोले ‘कस्ती आमा हो, दिनभरि छोडेको बच्चाले मम्मी…मम्मी भन्देै आमाको साथ खोजेको पनि नबुझ्ने’ भनेर उनैको कुरा काट्न कसैलाई असहज लाग्दैन । तर मम्मीले गर्दै गरेको काम गर्न अघि सरेर आमा बच्चालाई समय बिताउन दिनको सट्टा रोइरहेको बच्चालाई भुलाउन खोज्ने असफल प्रयास गर्छन् परिवारका सदस्यहरु । फेरि पनि तपाँई भन्नुहोला, यसो गर्ने पनि अधिकांशतः महिला नै हुन्छन् भनेर ।
कुरो सत्य हो पनि किनकि यस्तो गर्न महिलालाई सदियौंदेखि राम्रै पाठ पढाइएको छ । किनकि ‘घरका काम महिलाको नाम’ जो छ संस्कारमा । पारिवारिक सुख, परिवारका सदस्यहरुबिचको माया, सद्भाव, समानता र सम्मानले मात्रै कायम गर्दछ भने परिवार हुँदै समाज, राष्ट्र र विश्वमा मानिसले सुख र समृद्धिको आभास गर्ने हो । तर मानिसमा स्वार्थ सिद्धिको भाव मात्रै मौलाइराख्दा परिवारबाट सुरु भएको द्वन्द्व र कटुताले अन्तर्राष्ट्रिय सम्बन्धसम्ममा कटुता र असमभाव निम्त्याउँछ । विश्वस्तरमा आउने अस्वस्थ प्रतिष्पर्धा र त्यसबाट उब्जिएको विनाशका कथाहरु केलाउँदै जाँदा प्रथम र द्वितीय विश्वयुद्ध हुनुका कारणहरु मानिस मानिसबिचको आपसी स्वार्थ सिद्धिका जडहरु नै हुन् भन्दा अत्युक्ति नहोला । अहिलेको कोरोना महामारीको विषम परिस्थितिले मानिसले अस्तित्वमा रहेका हरेक जीवको निर्धक्क रुपमा बाँच्न पाउने अधिकारमाथिको हस्तक्षेप अन्त्य गर्नुपर्ने पाठ सिकाइरहेकै छ । सम्मानजनक सह–अस्तित्वको मान्यतालाई आत्मसात् गर्नलाई सबभन्दा पहिला एकतर्फी स्वार्थ सिद्धिका लागि निर्माण गरिएका संस्कारजन्य मान्यताहरुको पुनरावलोकन गरी परिमार्जन गर्न आवश्यक छ । प्रकृतिले दिएको अधिकार र कर्तव्यको सदुपयोग गर्दै जीवनरथ अघि बढाउन सके मात्रै मानवीय मूल्यहरुको पुनस्र्थापना भई सबैलाई जीवनप्रति गर्व गर्न सक्ने आधार निर्माण हुने छ ।
लेखकको सम्वन्धमा