व्यवसाय गरौँ

अहिले हामी कोरोना कहरमा बाँचिरहेका छौँ । यसबेला कोरोनाको वास्तविक पीडाभन्दा बढी हामी मानसिक रुपमा आक्रान्त भएका हुनसक्छौँ । अर्कातिर कोरोनाकै कारण स्वदेशमा हुनेहरुमध्ये धेरैले रोजगार गुमाएका छौँ । रोजीरोटीको खोजीमा देशका धेरै युवाहरु बिदेसिएका छन् । बिदेसिएकामध्ये पनि ठुलो सङ्ख्या बेरोजगार हुनुपरेको छ । स्वदेश फर्किएकाहरुले अपेक्षित उपलब्धि हासिल गर्ननसकेको अवस्था छ । बेरोजगारीको पीडाले धेरैलाई सताएको छ । हाम्रा लागि रोजीरोटीको समस्या आज मात्र देखिएको होइन । हामीसँग रोजगारीकै सिलसिलामा बिदेसिएर बेघर हुने कैयौँ मुना–मदनहरुका कथा ताजै छन् । के हामी पर्देसिएर नै दिगो आर्थिक स्रोत खोज्न सकौँला ? अवश्य सक्दैनौँ । राजगारीकै सिलसिलामा ८ वर्षसम्म मलेसियाको गर्मी सहेर खाली हात नेपाल फर्की दिगो आर्थिक स्रोत निमार्णमा जुटी पाँचथर, फाल्गुनन्द गाउँपालिका, आङ्सराङमा न्यु दुग्ध डेरी उद्योगका सञ्चालन गरिरहेका युवा उद्यमी जीवनप्रसाद पौडेलसँग झरना सञ्रचारका प्रधान सम्पादक वासुदेव अधिकारीले गरेको कुराकानी यस्तो छ ।
वासुदेव : तपाईंजस्ता युवाहरु त विदेश जान्छन् नि । तपाईंलाई ‘विदेश जाऊँ’ जस्तो लागेन ?
जीवन : किन नलाग्नु नि, उधुमै लाग्यो । विदेश पुगेपछि त ह्वाह्र्वार्ती पैसा आउला भन्ने लाग्यो । त्यसैले २०६३ सालका मलेसिया पुगेँ र ८ वर्ष उतै हराएँ । तरतरी पसिना काढेर विदेशी भूमि सिचेँ ।
वासुदेव : पैसा त लक्कु कमाएर आउनुभयोहोला, होइन ?
जीवन : काँ कमाउनु नि ! पराईको भूमि सोचेजस्तो कहाँ हुँदोरहेछ र ! गइयो, खाइयो, बसियो, घुमियो र आइयो । उपलब्धि शून्य ! अलि अलि कमाएको घर पटाएँ । घरखर्चमै सकियो ।
वासुदेव : उसोभए बचत भएन ?
जीवन : अहँ, भएन ।
वासुदेव : नेपाल फर्किएर के गर्नुभयो, यही व्यवसाय सुरु गर्नुभएको हो ?
जीवन : अहँ, व्यवसाय सुरु गरिनँ । अर्काले अह्राएको काम गर्ने बानी भएछ । आफ्नै व्यवसाय सुरु गर्ने आँट पनि भएन, लगानी गर्ने पुँजी पनि थिएन । २०७१ सालमा नेपाल आएँ अनि जागिरको खोजीमा यत्रतत्र भौँतारिएँ । चित्त बुझ्ने काम पनि पाइनँ । पशुपालन र कृषि नै आपूmले जानेको पेसा भएकाले त्यसैँसँग सम्बन्धित भई गाई पालन र दुध डेरीको व्यवसाय सुरु गरेँ ।
वासुदेव : त्यसका लागि पुँजी पनि चाहियो होला नि । कसरी जुटाउनुभयो त ?
जीवन : खासै त धेरै पुँजी लागेन तर आफूसँग नहुँदा थोरै पनि धेरै हुँदोरहेछ । रिनपान, आफन्त र साथीभाइसँग सरसापट गरेर रु. १०००००।– (एक लाख) मा व्यवसाय सुरु गरेँ । बिस्तारै कमाइअनुसार नै आवश्यक सामग्री र पुँजी थप्दै लगेँ । अहिले त ५ लाखको पुँजी भइसकेको छ ।




वासुदेव : देशविदेश घुम्नुभएको मान्छे, छरछिमेक, वरपरका युवाहरु सहर र विदेशतिरै रमाएका होलान् । यहाँ यसरी काम गर्न मन मान्छ त ?
जीवन : सुकिलोमुकिलो भएर हिँड्न, सहरबजार र देशविदेश घुम्न सबैलाई मन लाग्दो हो । मलाई पनि मन लाग्नु अस्वभाविक होइन । तर सबै इच्छाहरु पूरा नहुँदारहेछन् । फेरि इच्छाका बसमा परेर दौडनु पनि हुन्नरहेछ । आफूले जानेकै कामलाई व्यवसाय बनाउनु राम्रो लाग्यो मलाई त । त्यसो गर्न लजाउनु र डराउनु पनि पर्दैन । अनि मनको कुरा आयो । दिगो आर्थिक स्रोत जुटाउन त आफ्ना कतिपय इच्छाहरुलाई नियन्त्रण गर्नसक्नुपर्नेरहेछ । मन मार्नुपर्नेरहेछ । इच्छाले आफूलाई नियन्त्रण गर्यो भने व्यवसाय बिग्रनसक्छ, चौपट्ट हुनसक्छ ।
वासुदेव : ओहो ! तपाईं त व्यवसायप्रति सचेत पो हुनुहुँदोरहेछ त । कमाइ कत्तिको हुन्छ नि ?
जीवन : हा हा हा, व्यवसायप्रति सचेत त हुनै पर्यो नि । अहिले कमाइ पनि ठिकै छ । अब विदेश जानु वा अर्को जागिरै खोज्नुपर्ला भन्ने त लाग्दै । महिनामा ४०/५० हजार बचाउन समस्या छैन । परिवारसँग बसेर यत्तिको आम्दानी गर्नुलाई मैले त राम्रै ठानेको छु ।

वासुदेव : तपाईंको व्यवसाय देखेर मलाई त साह्रै खुसी लाग्यो । के के कुरालाई व्यवसायिक रुप दिनुभएको छ त ?
जीवन : ए, उत्पादनको कुरा गर्नुभएको ! मुख्यत घिउ र छुर्पी उत्पादन गर्छु । यसका अलावा सागसब्जी पनि लगाउने गरेको छु । गाई, खसी र कुखुरापालन पनि सँगसँगै अघि बढाएको छु । थोरथोरै फुसर्द भएको समयमा सबै काम समेट्न सकिने । अफिस आउने र जाने समय पनि चाहिएन । यी नै वरपरका पाखाका घाँसले भइहाल्दो रहेछ । अलिकति श्रम र मिहिनेत न हो आफ्नो त ।
वासुदेव : हो त, पौरखी हातलाई केही समस्या नहुँदोरहेछ । अनि बजार व्यवस्थापनचाहिँ कसरी गर्नुहुन्छ नि ?
जीवन : अलेलि खपत त यतै पनि हुन्छ । तर सबै उत्पादन यहीँचाहिँ खपत नहुँदोरहेछ । फिदिम, बिर्तामोड, दमक र इटहरीका बजारमा हाम्रा उत्पादनको माग छ । त्यतै पठाउनेगरेका छौँ ।
वासुदेव : चार वर्ष त पूरा भएछ व्यवसाय थाल्नुभएको । विदेशमा जस्तै खानपिनमै सीमित त होइन नि । बचत पनि गर्नुभएको छ ?
जीवन : हा हा हा, अब पनि बचत गरिएन भने जिन्दगी नै घुमफिरमा सक्किगो नि । अलेली बचत भएको छ । थोरथोरै कमाइलाई घडेरीमा लगानी गरेँ । अहिले त ६०–७० लाखको पर्पटी बन्यो ।
वासुदेव : ओहो ! कमाइ त राम्रै गर्नुभएछ । अब अन्त्यमा अन्य बेरोजगार युवाहरुलाई के सन्देश दिनुहुन्छ नि ?
जीवन : सानो–ठुलो जे हुन्छ, आफूले जानेकै कामलाई व्यवसायीकरण गर्नुपर्छ । अरुको देखासिकी गरेर सफल बन्न नसकिएला । व्यवसायमा सानातिना झैझन्झट आउनसक्छन् । तिनमा हरेस खानुहुँदैन । दत्तचित्त भएर व्यवसाय सञ्चालन गरे अवश्य सफल भइन्छ ।

प्रतिकृया दिनुहोस्