मैले दिन लागेको परीक्षाको प्रश्न-पत्र बेचियो
बुवाको उपचारमा खेत बेचियो
कयौँ पटक मेरा सपना बेचिए
मलाई बारबार गोबिन्द केसी बनाउन खोजियो
तर,
अहँ म बनिनँ
मलाई मेरो भोक प्यारो छ
म सय रूपैयाँको औषधीलाई हजार तिर्न सक्छु
म एउटा हस्ताक्षर पाउन लाखौं पेल्न सक्छु
तर गोबिन्द केसी
अहँ, बन्न सक्दिनँ
मैले खाएको चोटले धारिएर
ऊ हतियार बन्यो
तर म
आजसम्म भुत्ते रहें
ऊ प्वाल परेको एप्रोन लगाएर
उपचार गर्न सक्छ
हातमा औषधीमुलो बोकेर कर्णाली पुग्न सक्छ
म
चिया पिउँदै ‘थुक्क सरकार !’ भनिरहन्छु
ऊ मेरो चोटका लागि महिनौँ भोकै रहन्छ
म, टिभी हेर्दै बासमती चपाइरहन्छु
ऊ दिनेश अधिकारीको ‘हर्कबहादुर’ बन्यो
म आफैमा नार्मद
काश मभित्र गोविन्दको 'गो' भए हुन्थ्यो
काश म हस्ताक्षरका लागि पैसा माग्नेलाई
थप्पड लगाउन सक्थें
काश म पनि कर्णाली पुग्न सक्थे
बधाई छ सरकार
म, गोविन्द केसी बन्न सकिनँ !
लेखकको सम्वन्धमा