February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

ऊ बुख्याँचा

टिलपिल टिलपिल
शीतकणहरूसँग
पैतालाको साक्षात्कार गराउँदै  ऊ
मिर्मिरे नहुँदै खेतका आलीमा उभिएको छ
मानौं ऊ बुख्याँचा हो
 
आलीले बारेका हरेक फोक्टासँग
धमिला आँखा जुधाउँदै
उसले कल्पनाका लहलह बालाले
भरेको छ -
मनभरिको भकारी
झुम्राका डोरीले
अड्याइएको चप्पलका लोतीमा
भविष्य डोर्याएर वसन्तको खोजीमा
थुप्रै ग्रीष्म र शिशिरसँग
सिंगौरी खेलेको उसले
आफ्ना टाउकामा फुलाएको छ-
हिउँका सेतै फूल
 
शीतल हावाको स्पर्श पाएका
खेतका फाँटहरूमा पनि
ऊ निसासिएको छ
 
लहलहाउन नसकेको उसको मन
धानका पहेंला गाभासगै पहेंलिएको छ
धमिलिएको सपना र
बाढीको पानीजस्तो बनेर
 
दशकौं अघि
टुसाएका उसका सपनाहरू
च्यातिएका छन्-
धुजाधुजा बनेर
पहिरोले फाटेको धर्तीसँगै आज फेरि  
 
आफ्ना हत्केलाका पसिना
सिँचेर अरूको पेट भरिरहने ऊ
आफू भने सुतेको छ कयौं रात र
जागेको छ रात रातभर
आफ्नो भोकलाई पटुकाले कसेर
 
जुनकिरीको उज्यालोसँगै
जिन्दावाद र मुर्दावादमा
कैयौं पटक हात उठाएको ऊ
स्वर्णिम र राता सपनामा
मस्त निदाएको छ

दुर्भाग्य! 
दुध नभरिएर
चामल बन्न नसकी
पोगटा मात्रै बनेको छ
ऊ सधैं सधैं
यसरी नै ।