January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

हाकोनेको हावा

बसको ढोकाबाट ओर्लिने बित्तिकै हावाको धक्काले लड्खडाएँ म ।

मेरा अरू तीन सहयात्रीहरू कविता, सरिता र नोजोमु आबेको हालत पनि उस्तै छ । आसिनोको तालको एकछत्त साम्राज्य चिरेर छाती फुलाउँदै आएको तेज हावाले हामी कसैलाई पनि बाँकी राखेन । सधैं दृढ भएर ठडिएका रूखहरूले हावाको तागतका अगाडि आत्मसमर्पण गरेका थिए।

२०२० जुलाई २८ तारिख बिहानैदेखि हाकोने क्षेत्रको मौसममा आएको उतारचढाबको चपेटामा लपेटिएका छौं हामी ।

जसोतसो केही अगाडि गयौं । आसिनोको तालको किनार आँखामा ठोक्कियो । तालको किनारमा डोरीले बाधेर राखिएका दर्जनौं डुङ्गाहरू छचल्किरहेको पान माथि एकआपसमा ठक्कर खाइरहेका थिए । तालको पानीमा उठेका छालहरू हुत्तिएर किनारसम्म आउँथे र पुन: फर्किएर उतै जान्थें ।

मौसमले आज धोका दिने भो – कविता लुइटेलका मुखबाट निस्किएको आवाज हावाको रौद्र रूपका अगाडि मधुरो सुनियो ।

 हाकोने जिन्ज्या हेरेर पानीजहाज चढ्नुपर्छ- नोजोमु आबेका काननेर पुगेर ठुलो स्वरमा म बोलें ।

 हुन्छ- आबेले जापानी भाषामा उत्तर फर्काए।

हावाको बेगसँग पौठेजोरी खेल्दै हामी तालको दाहिनेतिरको किनारामा रहेको हाकोने जिन्ज्या पुग्यौं । रातो रङको बाहुल्य थियो त्यसको वरिपरि । रातै रङका धजापताका, रातै रङका भित्ता र रातै रङका छाना । परम्परागत जापानी काष्ठकलाको सौन्दर्य छताछुल्ल थियो । रातैरातो रङको साम्राज्यमा आँखा तिर्मिराएका छन् बेस्सरी । हाकोने जिन्ज्या घेरिएको छ आकाश छुने रूखहरूले । रूखका पातबाट तप्प तप्प झरेका ठुल्ठुला पानीका थोपाहरूले हाम्रा टाउका र काँधमा हिर्काएको छ निरन्तर ।

लामो समय हाकोने जिन्ज्यामा नबसी तालको किनारामा फर्कियौं । हावाको गति झन् झन् उग्र थियो ।

लुइटेल दाइ खानेकुरा खाऊँ है – सरिता अमात्यको बोली ठोक्कियो कानमा ।

 मैले निकै अघिदेखि भोकलाई नियन्त्रण गरेर राखेको थिएँ । तत्काल सहमति जनाएँ अमात्यको प्रस्तावलाई । दुईवटा झोला खोलेर घरबाटै ल्याएका खानेकुरा बाढें मैले । आफ्नै शरीरले हावा छेकेर खायौं । काखीमुनिबाट छिरेको हावाको झोक्काले प्लेट उडाउन निकै कोसिस गर्यो ।

आबे निरन्तर हाकोनेका विभिन्न ठाउँहरूका बारेमा गुगलमा खोजिरहेछन् । मैले गोजीमा राखेको मोबाइल फोटो खिच्ने काममा मात्र निकालेको छु । ठुलो लेन्स भएको क्यामेरा किन्ने दिन आएको छैन मलाई अझै पनि । ‘सन्तोषं परम् सुखम्’ मैं दिनहरूमा बिताएको वर्षौ भयो ।

आज तालको पानीजहाज नचल्ने रहेछ – निकैबेरदेखि मोबाइलको स्क्रिनमा केन्द्रित आबे बोले ।

 किन नि ? – मेरो प्रश्न आबेलाई ।

हावाको बेग तीब्र भएकाले – उनको उत्तर ।

कविता र म एकआपसमा हेराहेर गरेर खिस्रिक्क पर्यौं । छ महिनादेखि बनाएको हाकोने जाने र पानीजहाज चढ्ने भन्ने सल्लाह र सपना प्रतिकूल मौसमले चकनाचुर भयो । प्रकृतिसँग कसको के लाग्छ र ?

आबे र सरिता पनि निराश छन् । मौसम प्रतिकूलको बेफाइदा महसुस गरिरहेछौं एकैसाथ । तल हाकोने युमोतो स्टेसनमा सफा थियो मौसम । यो डाँडो चढेर तालतिर लागेपछि अर्कै रूपमा प्रकट भयो प्रकृति । धरानमा घाम लाग्दा भेडेटार बादलभित्र हराएझैं ।

 नजिकैको कोम्बिनीमा कफी पिएपछि बस चढेर तालको उत्तरी चुच्चोतिर जाने सल्लाह भयो । आबेले बसको रूट खोज्न थाले । केही तल गएर पुन: अर्को बसमा आसिनोको तालको उत्तरी भागतिर जानुपर्ने उनको सल्लाह कानमा पस्यो ।

 पहिला जुन बाटो हुँदै तालसम्म गएका थियौं पुन: सोही बाटो हुँदै पहाडको आधा तल झरेपछि अर्को बस चढेर पुन: उकालो लाग्यौं ।

दुईवटी सेतै कपाल फुलेका महिलाहरू कोबाकी इन बस स्टपबाट हामी चढेकै बसमा उक्लिए । बस चालकले आफ्नो मुखनेर राखेको माइक्रोफोनबाट भन्यो – बस अब हिंड्छ । तपाईहरू सिटबाट नउठ्नुहोला । ती महिलाहरूले ‘हुन्छ’ भन्ने जवाफ दिएपछि बस हिंड्यो ।

यात्रु र चालकबीचको यो स्वच्छ सम्बन्ध देखेर मेरो मन हर्षित भयो । बसको झ्यालबाट बाहिर देखिएको छ हरियो पहाडको एकछत्त साम्राज्य । प्राकृतिक ठाउँमा पूर्वाधार पुर्याएपछि आर्थिक गतिविधि उल्लेख्य मात्रामा बढ्छ । हाकोने त्यसको बलियो प्रमाण हो ।

सरितालाई पहाडका घुमाउरा सडकहरू विष समान भएको छ ।

 बान्ता आउलाजस्तो छ – सरिताका मुखबाट निस्केको वाक्य ।

म धरान धनकुटा हुँदै तेह्रथुम आइजाइ गर्दा धेरै पटक पहाडका घुमाउरा सडकहरूमा यात्रा गरेको छु । मेची राजमार्गका घुमाउरा सडक हुन वा सिलिगुडीबाट खर्साङ हुँदै दार्जिलिङसम्मका अनगिन्ती घुमाउरा सडकहरूमा धेरै पटक हिंडेको छु । तर यो यात्रामा बान्ता भन्ने चिज कहिल्यै भोग्नु परेन ।

 कति यात्रुहरू बस चढ्ने बित्तिकै यो कर्ममा दत्तचित्त भएर खटिन्छन् ।

सरिताले शब्दमै टारिन् यो पटक । उनलाई हाकोनेका घुमाउरा पहाडी सडक घुम्तीहरूले जित्न पाएनन् । ती घुम्तीहरू पराजित भए यो पटक । हामी पनि खुसी भयौं । सँगै घुम्न गएको साथीको स्वास्थ्य खराब भयो भने सिंगो यात्रा नै खल्लो हुन्छ ।

 जापानीहरू पूर्वाधार निर्माणमा गुणस्तर र दिगो विकासलाई गम्भीरतापूर्वक ध्यान दिंदा रहेछन् – सडकका दाँया बाँया बनाएका भव्य पर्खालहरू देखेर कविताले भनिन् ।

समुद्र पुर्न पुग्ने पैसा छ यिनीहरूसँग – मेरो जवाफ कवितालाई ।

एक पटक लगानी गर्न कन्जुस्याईं नगर्नु जापानी संस्कृति नै भने पनि हुन्छ । मैले जापान टेकेदेखि अहिलेसम्म विकासले दुब्लाएको ठाउँ देखेकै छैन । टोकियो र दूरदराजका सडकको गुणस्तरमा अलिकति पनि तलमाथि देखेका छैनन् मेरा आँखाले ।

 पहाडी सडकका दर्जनौं घुम्तीहरू छिचोलेपछि बस आसिनोको तालको उत्तरी चुच्चोमा रोकियो ।

तल हेर्दा ताल विशाल देखियो । बादलले केहीबेर घुम्टो उघारेको मौका परेछ । आसिनोको तालको भव्य जलखण्डलाई हाम्रा आँखाले एकोहोरोसँग हेरिरहे । हावाको वेग झन् उन्मत्त थियो । तेज गतिको हावाका कारण तालको पानीमा निरन्तर तरङ्ग पैदा भइरहेको थियो । हाकोने मौसमको चपेटामा नराम्ररी बेरिएको थियो । त्योसँगै हामी ठगिएका थियौं मौसमको प्रतिकूलताले ।

 हामी त्यहाँबाट केबुलकार चढेर ओओवाकुदानी जाने निर्णय गर्यौं ।

 केबुलकार स्टेसनमा भनिरहेको थियो – हावाको बेग अरू बढ्यो भने केबुलकार बन्द हुनसक्छ । ख्याल गर्नुहोला ।

त्यो सुनेर हामीले एकआपसमा पुलुक्क हेराहेर गर्यौं । घुम्न आएपछि घुम्नै पर्यो । पैसा पनि तिरिसकेको छ । पानीजहाज पनि चढ्न पाइएन । केबुलकार पनि नचढे आँखा र मन त रित्ताको रित्तै हुने भए । जे त होला नि । हामी डराएको र द्विविधायुक्त मन बोकेर केबुलकारको डब्बामा चढ्यौं ।

 बादलको मुस्लो कताबाट हो कुन्नि हुत्तिदैं आयो र सबै अन्धकार बनाइदियो । हामी चढेको केबुलकार अगाडि बढ्यो । बादलको मुस्लोमा पसेको छ डब्बा । बाहिर केही देखिसक्नु छैन । मुनि बेलाबेला देखिने रूखहरू आधा निहुरिंदै उठ्थै गर्दै थिए । हामी चढेको डब्बामा सुइइय सुइइय आवाज सुनिन्थ्यो । हावाको वेग अनियन्त्रित छ । डब्बासँगै हावाले उडाएर तलको जंगलमा पछार्छ जस्तो । बीचमा पुगेर केबुलकार बन्द भयो भने यता न उता होइएला जस्तो ।

बादल र हावाको गठजोडभित्र वर्षाको शक्ति थपियो । वरिपरिका सिसाहरू पानीले निथ्रुक्क भिजेर मधुरा भए । हुनत: बाहिर हेर्नु नै पो के थियो र ? अगाडिको सिटमा बसिरहेका आबे मतिर फर्किए मात्र । अनुहारको तेज घटेको देखियो । उनको पनि सातो उडाएको थियो बेइमानी मौसमले ।

 हावा, बादल र पानीको चक्रव्यूहमा सङ्घर्ष गरिरहेको हाम्रो डब्बा ओओवाकुदानी स्टेसन पुग्यो । मनमा शान्तिको उत्सव थपियो । त्रासको भुँवरीमा तर्सिरहेको मुटु आफ्नै पुरानो लयमा फर्कियो ।

 स्टेसनबाहिर निस्कदा हावाको वेग पचहत्तर किलोको लुइटेल उडाउला जस्तो थियो । कति तेज गति हो हावाको पनि । तैपनि म अलि पर्तिरसम्म पुगें । हावाले पछार्न निकै कोसिस गर्यो तर सकेन । तल्लिर बादल फाटेको बेला धुँवा उडिरहेको देखियो । त्यो धुँवा सक्रिय ज्वालामुखीबाट निस्केको थियो । मैले ज्वालामुखीका बारेमा धेरै पढे पनि आफ्नै आँखाले हेर्ने मौका यो पटक पाएँ ।

ओओवाकुदानीको डाँडामा एउटा रोचक कुरा पनि छ । कुखुराको अण्डालाई ज्वालामुखीको पानीमा उसिनेपछि बाहिरी बोक्रोको रङ कालो हुन्छ । जसलाई जापानीहरू ‘कुरो तामागो’ भन्छन् । कुरो तामागो खान मरिहत्ते गर्नेहरू यो डाँडासम्म जसरी पनि पाइला हालेरै छोड्छन् । आबे र सरिताले एक प्याकेट कुरो तामागो पाँच सय एनमा किने ।

आबे र मैले सल्लाह गर्यौ । अब केबुलकार नचढ्ने । बसबाट गोरा स्टेसन हुँदै घर फर्किने । आबेले तुरुन्तै सहमति जनाए । केबुलकारको जोखिम उठाउन मनले मान्दै मानेन ।

थकान मिसिएको अनुहार र अतृप्त मन बोकेर हावाको रौद्र रूप अनि बादलको अल्छीपनलाई धारे हात लगाउँदै हामी चारैजना गोरा स्टेसनतिर ओर्लियौं ।