गृहणी
घडीको सेकेन्डको सुईझैँ भएको छ जिन्दगी, यो घरको आँगनमा घुमेकोघुमयै छ। बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम गरे पनि घरधन्दाको काम सकिएकै हुँदैन।
नाम न सोध्नुस्, मैले बिहेपछि गुमाइसकेँ मेरो पहिचान, मेरो नाम !
अचेल म आफ्नो माइती गाउँबाट चिनिन थालेकी छु। यदि मेरो माइती पोखरा भाको भए मलाई तपाईले पोखरेली भनी बोलाउन सक्नुहुन्थ्यो ।
के काम गर्छु ? यो कुरा मभन्दा बढी मेरा लोगनेलाई थाहा छ ।
“केही खासै त गर्दिनन् बुढीले ! घरको रेखदेख, छोराछोरी अलि ठुला भइसके छन्, बसीबसाइ नै हो।”
श्रीमान्को कुरो नै ठिक हो जस्तो लाग्न थाल्यो अब त, पानि नचल्ने जातकी कहलिने लालीसित मसँग भन्दा बढी पैसा होला ।
हिजो पल्ला घरे नेताजीको घरमा बोका ढालिएको थियो रे ! नेपालसम्म पहुँच भएका फर्सीटाउकेहरु आएका थिए रे। लालीले मासु पकाएर खुआएबापत रू १००० पाइन्। भोकोपेट कि लालीको योवन चिथोर्न तम्सिएको नेताजीको छोरालाई रातोमासु मन पर्छ रे, रातो भाले कोखुराको नभई पोथीको…। हिजो बोका ढालेको दरबारमा भोलि लालीलाई ढाल्नु ठुलो कुरा हो र ?
मलाई आफ्नै पेसा धेरैपछि थाहा भयो । छोरा स्कुले गृहकार्य गर्दै थियो र म घरको काममा सधैँझैँ व्यस्त थिएँ। चुलामा आगो कम, धुवाँ बढी थियो, रोटी सेक्ने तरखरमा थिएँ, बत्ती आउने जाने गर्दै थियो । टर्च लिन भान्साघरबाट निस्किँदा छोराको प्रश्न मतिर तेर्सियो- ‘आबेदन फारम भर्दै छु, हजुरको पेसा लेख्ने बाकसमा के लेखूँ, आमा ?’
म सँग एक शब्दमा अटाउने जवाफ थिएन । मेरा हातभरि लागेको गहुँको पिठोले कलिलो छोरालाई मेरो पेसा बुझाउन किन सकेन ? धेरै नपढेकाले होला मैले त शब्द नै भेटाइनँ, छोरालाई आफ्नो पेसा बुझाउन ।
सिकाउँदै गरेका छोराका बाबाले भन्दिनुभयो, ‘गृहणी (Housewife)’
स्कुल धाएर, अक्षर चिनेर, शब्द बनाई खेल्न जान्दैमा सबै कुरा बुझ्ने चेतना पलाउछ भन्ने मलाई लाग्दैन । मैले त, मेरो ‘आमा’ बाहेक आर्को कर्म नै छैन, ठानेकी थिएँ तर आमाको नि फेरि आर्को पेसा हुँदो रहेछ, मैले त्यो दिन चाल पाएँ।
तर छोराले लाउने सेतो स्कुले सर्ट सधैँ सफा नै रहँदा, किन सर्टले बताउन सकेन मेरो पेसा ?
त्यो पालिस गरिएको, मुहारै झल्किने, टलक्क लल्किने कालो जुताले किन बताउन सकेन मेरो पेसा ?
छोरो सानो छदाँ, घन्टैपिच्छे धुनु परेको कट्टु, दिनैपिच्छे सुकाउनु परेको भिजेको बिछ्यौना, सायद अहिले छोरालाई याद छैन ।
आफ्नो भोक प्याशको पर्वाह नगरी परिवारका सबैले खाइसक्दा पनि मैले दाँत माज्न नभ्याएको, कहिल्यै उसले नदेखेर होला, मेरो पेसा नबुझेको !
भोको पेट भए नि खाना नपाउनु र नखानु फरक हुँदोरहेछ !
एउटा दुर्भाग्य आर्को सौभाग्य तर दुबै नियतिको खेल !
यी कुरा मनमा खेलिरहँदा, छोराको आर्को प्रश्न तेर्सियो,”कति उमेर हो हजुरको ?”
मौनतालाई चिर्दै फेरि छोराका बाबाले ठट्यौलो पारामा भन्नुभयो,” केही याद हुन्न, भुल्कड हुन् तेरी आमा, मेरो उमेर ३५ हो, ३ घटाएर लेख्दा हुन्छ है !”
छोराका बाबाले गिज्याउँदै मतिर मुख फर्काई भन्नुभो, “सधैँ दिनभरि घरमै बस्दा दिक्क लाग्दैन, बुढी ?”
बाबाको कुरामा छोरो हाँसेको देख्दा मेरो जीवन नै जोक्स हो कि? भन्ने लाग्यो !
सुत्ने समय भइसक्दा पनि कुनै काम पो बाँकी छ कि भनेर मन शान्त हुँदैन ! झ्याल-ढोका राम्ररी लगाएको छ-छैन ? खानेकुराहरू छोपछाप गरिएको छ-छैन ? धोएर सुकाएका लुगाफाटा बाहिर नै पो छन् कि ? म चिन्तित भइराख्छु तर श्रीमान्को त्यो प्रश्नले मुटु च्यातियो !
भारि मुटु थियो, भावुक भीई कापेका ओठले भने, ” मैले भुलेकी छुइनँ ! सही उमेर भन्नु ठुलो कुरो हो र ?
बस्ताबमा, मैले त्यो उमेरको हिसाब गरेको छैन्, जुन मैले आफ्ना लागि बाँचेकी छु !
म आँसु थाम्न नसकेर त्यहाँबाट निस्केर रोटी सेक्नलाई भान्सा घरमा पसेँ।
सायद जाबो रू.५ को सिसाकलम किन्न छोराले ‘आमा ! पैशसा दिनुस् ?’ भनी आग्रह गर्दा
‘म तरकारी भुट्दै छु, डढ्छ उता आएँ भने, बाबाको खल्तीबाट लेऊ न है, बाबु !’
भनेको कुरा मनमा बसेछ, सायद छोराले मलाई लकिरको फकिर ठाने छ।
भात पकाउनु, जुठो भाँडावर्तन माझ्नु, कुचो लगाउनु, लुगाफाटा धुनु, सासु-ससुराको स्याहारसुसार गर्नु, पाहुनाको सत्कार गर्नु जस्ता अनगिन्ती कामहरू अनुत्पादक कर्मझैं लाग्न क्छ्न् । घरभित्रका स-साना काम देखिँदैनन् । तर त्यही काम कुशलतापूर्वक सम्पन्न गर्न त्यति सहज छैन। मैले पारिश्रमिकको रूपमा पैसा कहिल्यै चाहिनँ ,पैसाको भन्दा नि मायाको फकिर पो परेछु ! जगत्ले मायालाई मेरो सामर्थ्य ठानोस् या कमजोरी तर सत्य यही हो, परिवारका सबले खाँदा आफू अघाए झैँ हुन्छु !
म दुःखमा नि रमाउँछु !
जगले ठान्ने दुंख मेरा लागि सुख हुन्,
अफै मुस्कुराउँछु, सुख-दुःखमा भावशून्य भई
सन्तुष्ट म आनन्दित छु !
छोरो स्कुले गृहकार्य सकेर भान्साघर पस्यो, मैले आँसु लुकाउँदै चुलातिर फर्केर भनेँ, ‘एकछिन गेम खेली आराम गर न, बाबु! म खाना पस्किन्छु !’
‘आमा, म खानलाई हैन, तपाईंलाई सहयोग गर्न आएको हुँ !’
‘पर्दैन, बाबु !’
छोरो बसेर पर राखेको उसिनेको आलु छिल्नथाल्यो ।…. एकछिनको मौनतालाई तोड्दै छोराले सोध्यो, ‘बाबाले भनेको कुराले तपाईंलाई दुःख लाग्यो ? पिर नामान्नुस् अबदेखि म फुर्सदमा सधैँ तपाईंलाई सहयोग गर्छु, सँगै गरे घरको काम त एकछिनमै सकिन्छ नि !’
‘छोरा ! गृहणी पेसा ऊनको स्वेटर बुन्नुभन्दा नि जटिल छ। यो केही बिउँ लेऊ, यसलाई बारीमा रोपिदिनु, उम्रेपछि स्याहार-सुसार गर्नु, रूखमा फल लाग्ला, तिमीले फल खाई मैले दिएको पैंचो बिउ फिर्ता दिन नभुल्नु है, समय आएपाछि यो पेसा आफै बुझ्ने छौ। म यति भन्न्छु आफ्नी बुढीलाई घरमै सीमित नराख्नु, पढेर, सिप सिकेर आर्थिक पेसा अंगाल्न नरोक्नु !’
‘आमा पनि… ! लिनुस् मैले सब आलु तयार पारिसकेँ अब छिटो-छिटो मिठो तरकारी र रोटी खान दिनुस्, भोक लग्यो’ छोराले भन्यो ।
म एकछिनमै खाना पस्किन्छु, छोरा !
‘अपमान हैन, सम्मान !
हेपाइ हैन, साथ !
घृणा हैन माया !
मात्र मगेकी हो यो गृहणीले !
तिम्रा बाबाले बुझेर पनि न बुझेजस्तो गर्नुहुन्छ।’
यो घर चार पर्खाल र माथिको छानाले मात्र बन्ने भएको भए, आज राजदरबार सङ्ग्रहालयमा परिणत हुनुपर्दैनथ्यो !
‘आमा ! जसरी शासकले देश चालाउँछन् त्यसरी नै गृहणीले परिवारलाई पूर्णता दिन्छिन्।’ ‘हो छोरा ! कर्मले भन्दा नि अचेल पैसाले पेसा निर्धारण गरे पनि, माया बाँडेर, मायाकै फकिरको पेसा हो गृहणी !’
लेखकको सम्वन्धमा